भ्रष्टाचारका दुई मुद्दामा विशेषबाट सफाइ

१० वैशाख, काठमाडौं विशेष अदालतले भ्रष्टाचारका दुई मुद्दामा सफाइ दिने फैसला गरेको छ । सोमबार विशेषले आर्थिक वर्ष ०८०÷८१ मा दायर दुई मुद्दामा फैसला गरेको हो । 

सुर्खेतको वीरेन्द्रनगर औद्योगिक क्षेत्रभित्र शीतभण्डार निर्माणमा भ्रष्टाचार भएको विषयमा विशेषले १६ प्रतिवादीहरुलाई सफाइ दिएको छ । विशेषका सदस्यहरु तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले यस्तो फैसला गरेको हो । 

यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ साउन २०८० मा मुद्दा दायर गरेको थियो । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गरेको भुक्तानीमा ९२ लाख ४३ हजार रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको दाबी थियो । 

ठेक्का रकम हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै मन्त्रालयमा कार्यरत सचिव राजेन्द्र प्रसाद भारीलाई विपक्षी बनाउँदै मुद्दा दायर भएको थियो । भारी उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका आयोजना प्रमुखसमेत थिए । 

मन्त्रालयका सब इञ्जिनियर गणेश भण्डारी, वरिष्ठ कृषि विज्ञहरु हरिप्रसाद पण्डित र हरिबहादुर थापासमेत यस मुद्दामा प्रतिवादी थिए । मन्त्रालयअन्तरगतको कृषि विकास निर्देशनालयका निमित्त निर्देशक भक्तिराम शर्मा, प्राविधिक सहायक गुरुप्रसाद अधिकारी र लेखा अधिकृत उत्तम कुमार बस्नेतलाई पनि विशेषले सफाइ दिएको हो । 

आयोजनाका तत्कालीन लेखा अधिकृत खिमलाल वली, कृषि अधिकृत सुरेशकुमार थापा र सहलेखापाल उषा ठाडा प्रतिवादी थिए । यसै मुद्दामा आयोजनाका सब इञ्जिनियर सुवर्णराज भारतीलाई पनि अख्तियारले प्रतिवादी बनाएको थियो । 

फैसलासँगै कर्णाली कोल्ड चेन लजिस्टिक प्रालिका सञ्चालक समिति अध्यक्ष प्रकाश अधिकारी, कलाधर उपाध्याय, सदस्य लक्ष्मण कँडेल र प्रबल शाहीले पनि सफाइ पाएका छन् । उक्त कम्पनीका इञ्जिनियर महेश शर्मालाई पनि विशेषले सफाइ दिएको हो । 

वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा शीत भण्डार निर्माण गर्दा विषय विज्ञद्वारा प्रमाणित नगरिएको शीत भण्डारको खेस्रा डिजाइन तथा नक्साको आधारमा लागत अनुमान तयार गरी, खेस्रा नक्सासमेतको विपरीत हुनेगरी निर्माण कार्य भएको अख्तियारको अनुसन्धानले देखाएको थियो । 

साथै, निर्माण कार्य गरी, गराइ र नभए, नगरेको निर्माण कार्य भएको भनी नापी किताबमा सहिछापसमेत गरिएको थियो । यसरी गुणस्तरहीन निर्माण कार्यलाई गुणस्तरको कार्य भनी प्रमाणित गरेको पाइएको थियो । 

सोमबार नै विशेषले उदयपुरको त्रियुगा नगरपालिकामा भएको भ्रष्टाचार मुद्दाका चार प्रतिवादीलाई सफाइ दिने फैसला गरेको छ । विशेषका सदस्यहरु मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले ६ महिना अघि दायर मुद्दामा फैसला गरेको हो । 

फैसलासँगै त्रियुगाका मेयर बलदेव चौधरी र निमित्त प्रमुख प्रशासकीय अधिकृत किरण कुमार कार्कीले सफाइ पाएका छन् । यसै मुद्दाका अन्य दुई प्रतिवादीमध्ये एक नगरपालिकाका राजस्व शाखा प्रमुख गुरुप्रसाद ढकाललाई पनि विशेषले सफाइ दिएको छ भने निश्चल ट्रेडर्सका सञ्चालक र ठेकेदार राजेश बछारले पनि सफाइ पाएका छन् ।

आर्थिक वर्ष ०७८–७९ मा नगरभित्रको बरुवा खोला, त्रियुगा ाखेला र सुनकोशी नदीको नदीजन्य पदार्थ विक्रि वितरणमा अनियमितता भएको उजुरी परेको थियो । नगरपालिका र ठेकेदारको मिलेमतोमा अनियमितता गरी राजस्व हानीनोक्सानी गरेको भन्दै अख्तियारले राजस्व चुहावटमा गत १० असोजमा मुद्दा दायर गरेको थियो । 

तीन वटै नदीको नदीजन्य पदार्थ माटोबाहेकको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गरिएको थियो भने नगरस्तरीय राजस्व परामर्श समितिको निर्णयअनुसार नदीजन्य पदार्थको प्रस्तावित आय प्रक्षेपण गरिएको थियो । 

तर मेयरकै अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले ढुंगा, बालुवा, ग्राभेलको संकलन तथा विक्रि कर उठाउने प्रयोजनका लागि न्यूनतम् अंक कायम गर्ने निर्णय गरिएको भेटिएको थियो । यसरी राजस्व परामर्श समितिको निर्णय तथा प्रक्षेपण रकमलाई बेवास्ता गरी मिलेमतोमा ठेक्काको न्यूनतम् रकम कायम गरेको कारण उठ्नुपर्ने राजस्व नउठेको अख्तियारको ठहर थियो । 

यस क्रममा स्थानीय सरकारलाई ६२ लाख ९१ हजार रुपैयाँभन्दा बढी नोक्सानी भएको दाबी अभियोगपत्रमा थियो । मेयर, कर्मचारी तथा ठेकेदारको मिलेमतोमा भ्रष्टाचार भएको भनिएको यस मुद्दाका चारै प्रतिवादीले सफाइ पाएका हुन् ।