अक्षय तृर्तीया मेलाको तयारी पूरा, डोलेश्वरमा चारवटै ढोका खोलिने

भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा शुक्रबार अक्षय तृर्तीयामा लाग्ने मेलाको तयारी पूरा भएको छ । 

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले मेलाको सम्पूर्ण तयारी पूरा भएको र दर्शनार्थीका लागि बिहान ४ बजेदेखि चारवटै ढोका खुल्ला गरिने जनाएको छ । मन्दिरका चारै ढोकाबाट प्रवेशगरी भक्तजन आफँैले पूजा एवम् दर्शन गर्नेगरी व्यवस्थापन गरिएको छ ।
    
समितिका अध्यक्ष धर्मराज बस्नेतले मन्दिरमा अन्य दिन बाहिरबाट मात्र दर्शन गर्न मिल्ने भए पनि केदारनाथको शिर डोलेश्वर महादेव घोषणा भएको दिन भदौ ६ गते, शिवरात्रि र अक्षय तृर्तीयागरी वर्षमा तीन दिन भने भित्रै प्रवेशगरी पूजा गर्न पाउने व्यवस्था गरिँदैआएको जानकारी दिनुभयो । 

मेलामा भीड व्यवस्थापनका लागि हरिशचन्द्र थापाको नेतृत्वमा स्वयम्सेवक समिति गठनगरी ४० जनालाई खटाउने र दर्शनार्थीलाई लाइनमा लागेको २० देखि ३० मिनेटभित्रै दर्शन एवम् पूजा गर्नेगरी व्यवस्थापन गरिएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।