धरान मेयर हर्क साम्पाङ खजुरे ब्रो चलचित्र मार्फत अभिनयमा पदार्पण गर्दै

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अब चलचित्रमा अभिनेताका रूपमा देखा पर्ने भएका छन्।

धरानमा छायांकन भइरहेको चलचित्र खजुरे ब्रोमा शनिबार साँझ साम्पाङको एक मिनेटको दृश्य खिचिएको थियो। साम्पाङले यसै दृश्य मार्फत अभिनयमा पदार्पण गरेका छन्।

चलचित्रका अभिनेता महेश त्रिपाठीले साम्पाङको एक मिनेट जतिको ‘केमियो रोल’ (अतिथि भूमिका) शूट भएको जानकारी दिए। “फिल्ममा उहाँलाई मेयरकै भूमिकामा देख्न सकिन्छ। कथाले मागे अनुसार नै खिचिएको हो। झन्डै एक मिनेट जतिको दृश्य छ,” त्रिपाठीले भने, “अभिनयसँगै उहाँले फिल्मलाई आवश्यक सहयोग गरिने आश्वासन पनि दिनुभयो।”

शूटिङपछि मेयर साम्पाङ उत्साहित देखिएको पनि त्रिपाठीले बताए। हास्य विधाको यस चलचित्रका निर्देशक सुरज सुनुवार हुन्। ‘खजुरे ब्रो’ नामले चर्चित धरानका एक व्यक्तिको वास्तविक पात्रको कथावस्तुमा चलचित्र निर्माण गरिएको हो।

यसै चलचित्रबाट पूर्व मिस नेपाल इन्टरनेशनल नीति शाहले पनि ‘डेब्यू’ गर्दै छिन्।