चलचित्रमा ‘डेब्यु’ गर्दै बिराज भट्टका छोरा समीर

 एक्सन स्टार बिराज भट्टका छोरा समीरले ‘१२ गाउँ’मार्फत नेपाली चलचित्रमा ‘डेब्यु’ गर्ने भएका छन् । आइतबार बिराज स्वयंले सामाजिक सञ्जालमार्फत समीरको डेब्युबारे जानकारी गराएका हुन् ।

बिराजले यसअघि ‘१२ गाउँ’ निर्माणको घोषणा गरेका थिए । चलचित्र एक्सन थ्रिलर जानरामा बनाइने उनले बताएका थिए । बिराज भट्ट फिल्म प्रोडक्सनमार्फत चलचित्र निर्माण गरिनेछ ।

चलचित्रको मुख्य भूमिकामा आफू स्वयं रहने बिराजले बताएका थिए । समीर भट्ट कुन भूमिकामा रहन्छन् भन्ने उनले खुलाएका छैनन् ।

“यो नेपाली चलचित्र उद्योगकै अहिलेसम्मकै ठूलो एक्सन मुभी हुनेछ,” बिराजले यसअघि भनेका थिए, “यसमा हामी तयारी गरिरहेका छौँ । ठूलो बजेटमा ठूलो एक्सन मुभी हुनेछ ।”