कति खतरनाक हो कोभिड–१९ को नयाँ सबभेरिएन्ट ?

केरलमा कोभिड–१९को नयाँ सबभेरिएन्ट जेएन.१को सङ्क्रमण फेला, ७८ वर्षीया महिलामा पहिलोपटक पुष्टि केरलमा कोभिड–१९को

 छिमेकी मुलुक भारतमा कोभिड–१९ को नयाँ सबभेरिएन्ट जेएन.१ को सङ्क्रमण फेला परेको छ । केरलमा ७८ वर्षीया महिलामा पहिलोपटक यसको सङ्क्रमण पुष्टि भएको हो । 

केरलमा हाल १ हजार ३२४ जना सक्रिय सङ्क्रमित रहेका छन् । शनिबार कोभिड-१९ को सङ्क्रमणबाट चार जनाको मृत्यु भएको थियो । सङ्क्रमितमध्ये कति जनामा नयाँ सबभेरिएन्टको सङ्क्रमण रहेको छ भन्ने चाहिँ पत्ता लागेको छैन किनभने यसका लागि जिनोम सिक्वेन्सिङ नै गर्नुपर्ने हुन्छ । केरल प्रशासनले सङ्क्रमितको सङ्ख्या बढे पनि नअत्तालिन आग्रह गरेको छ ।

जेएन.१ ओमिक्रोनको सबभेरियन्ट बीए.२.८६ को उपप्रजाति हो । यसको स्पाइक प्रोटिनमा थप म्युटेसन भएकाका कारण स्वास्थ्य संस्थाहरू अलर्ट बनेका छन् । यो सब भेरिएन्ट सन् २०२३ को सेप्टेम्बरमा अमेरिकामा पुष्टि भएको थियो । त्यसपछि डिसेम्बर १५ मा चीनमा पनि ७ जनामा यस सबभेरिएन्टको सङ्क्रमण फेला परेको थियो ।


अन्तर्राष्ट्रिय मिडियाका अनुसार हालसम्म ३८ वटा देशमा यस सबभेरिएन्टबाट सङ्क्रमित फेला परेका छन् । जेएन.१ सबभेरिएन्टकै सङ्क्रमणका कारण ती देशहरूका अस्पतालमा स्वास्थ्य परीक्षणमा आउने बिरामीहरूको सङ्ख्या बढेको बताइएको छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार बीए.२.८६ मा स्पाइक प्रोटिनमा कूल २० वटा म्युटेसन रहेका छन् । स्वास्थ्य संस्थाहरूले बीए.२.८६ र जे.एन.ज्ञ बिचको स्पाइक प्रोटिनमा एउटामात्र म्युटेसन रहेको बताएका छन् । यस म्युटेसनलाई चिन्ताजनक मानिएको छ किनभने भाइरसले स्पाइक प्रोटिनको मद्दतले मानिसको कोषमा टाँसिने गर्दछ ।

यो पनि

कोरोनाको सबभेरिएन्टबारे सजग रहन विश्व स्वास्थ्य संगठनको आग्रह भारतमा कोभिडको नयाँ भेरिएन्ट फेला, चार जनाको मृत्यु
भारतको नेसनल इन्डियन मेडिकल एसोसिएसन कोभिड टास्क फोर्सका सह–अध्यक्ष राजीव जयदेवनले जेएन.१ भेरिएन्टको सङ्क्रमण चाँडो फैलिने र मानिसको प्रतिरोधात्मक क्षमतालाई पनि छल्न सक्ने बताए । यसअघिको एक्सबीबी र भाइरसका अन्य प्रकारभन्दा यो फरक रहेकाले सङ्क्रमित भइसकेका र कोभिड–१९ विरुद्धको खोप लगाइसकेकालाई समेत यसले सङ्क्रमित बनाउन सक्छ ।

यो भेरिएन्ट सङ्क्रामक भए पनि यसका लक्षणहरू मध्यम खालको रहेको अस्पताल नै भर्ना हुनुपर्ने अवस्था न्यून हुने डाक्टरहरूले बताएका छन् । यसका लक्षणहरूमा ज्वरो आउने, नाक बग्ने, घाँटी खस्रो हुने, टाउको दुख्ने, खोकी लाग्ने र ग्यास्ट्रोइन्टेस्टाइनाल समस्याहरू देखिने रहेका छन् ।