६५ लाखभन्दा बढी सम्पत्ति शुद्धिकरण गरेको भन्दै तस्कर कुन्जोकलाई डेढ वर्ष कैद

२७ वैशाख, काठमाडौं सम्पत्ति शुद्धिकरण गरेको अभियोगमा वन्यजन्तु तस्कर कुन्जेक छिरिङ तामाङलाई विशेष अदालतले सजाय सुनाएको छ । उनी १६ वैशाखमै दोषी ठहर भएका थिए भने बिहीबार सजाय निर्धारण भएको हो । 

उनलाई विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सजाय निर्धारण गरेको हो । विशेषका अधिकृत यज्ञराज रेग्मीका अनुसार उनलाई एक वर्ष ६ महिना कैद सजाय भएको छ । 

यसैगरी ६७ लाख ६५ हजार रुपैयाँभन्दा बढी बिगो कायम भएकोमा उनको सम्पत्तिबाट उक्त रकमबराबरको जफत हुने फैसला भएको छ । ‘प्रतिवादीले आफूले गरेको कसूर स्वीकार गरी न्याय सम्पादन प्रक्रियालाई सघाउ पु¥याएको अवस्था छैन । ५ जना भन्दा बढी व्यक्तिले समूहमा कसूर गरेको र वन्यजन्तुको अखेटोपहार ओसारपसारको सम्बद्ध कसूर गरेको हुँदा कसूरको गम्भीरता बढेको देखिन्छ,’ विशेषले राय किताबमा उल्लेख गरेको छ । 

कुन्जोकमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले १६ जेठ २०८० मा मुद्दा दायर गरेको थियो । कुञ्जोकलाई जिल्ला अदालत रसुवाले पनि वन्यजन्तुसम्बन्धी अपराधमा दोषी ठहर गरेको थियो । उनलाई तीन वर्षअघि जिल्ला अदालत रसुवाले सात वर्ष कैद सजायका साथै एक लाख रुपैयाँ जरिवानाको सजाय तोकेको थियो । 

उनीसमेतको समूहले लामो समयदेखि निकुञ्जहरुबाट वन्यजन्तुको चोरीसिकारी र तस्करी गर्दै आएको खुलेको थियो । लाङटाङ राष्ट्रिय निकुञ्जमा उनले वन्यजन्तु मार्ने तथा तस्करी गर्ने गरेको र उनको समूहले ६ सयभन्दा बढी बाघको चोरीसिकारी गरेको अनुसन्धानबाट खुलेको थियो ।