काठमाडौंमा आज प्रहरीको नि:शुल्क बस सेवा

सर्वसाधारणको सुविधा तथा सहज आवागमनका लागि आज काठमाडौं उपत्यकाका २ वटा रुटमा नेपाल प्रहरीले नि:शुल्क बस सेवा सञ्चालन गरेको छ। काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधनको सङ्ख्या न्यून हुने भएकाले भाइटीकाको अवसरमा आज बिहान तथा अपरान्ह गरी दुई चरणमा नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको हो। 

बस नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, नयाँबसपार्क, बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी, जय नेपाल हुँदै पुन: नक्सालसम्म आउने छ।

त्यस्तै अर्को रुट अन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यबिनायक चोकबाट सोही रुट हुँदै पुनः नक्सालसम्म बस  सञ्चालन गरिएको नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले जनाएको छ।