शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको भेट, सहयोगलाई निरन्तरता दिन आग्रह

१ असार, काठमाडौं।

माननीय शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्वीटजरल्याण्डका महामहिम राजदूत ड्यानिएल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरुबीच आपसी हित, द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन र स्विस सरकारले नेपालको शिक्षा क्षेत्रमा गर्दै आएको सहयोग तथा शिक्षा क्षेत्रमा फराकिलो साझेदारिता अभिवृद्धिलगायत विषयमा छलफल भएको छ ।

स्वीटजरल्याण्ड नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षामा लामो समयदेखि सहयोग गर्दै आइएको विकास साझेदार हो । विशेष गरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी) को क्षेत्रमासहयोग गर्दै आएको छ ।

नेपालमा स्विस सरकारको सपोट एजेन्सी ‘स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड को अपरेसन’ (एसडिसी) को सहयोगमा सिटीइभिटीमार्फत तीन परियोजना ‘नेशनल भोकेश्नल क्वालिफिकेस सिस्टम’, इन्ह्यान्सड स्किल फर सस्टेनेवल एन्ड रिवार्डिङ इम्प्लोइमेन्ट’ र क्वालिटी टेक्निकल एन्ड भोकेश्नल एजुकेशन एन्ड टे«निङ फर युथ’ सञ्चालनमा रहेका छन् ।

भेटमा शिक्षामन्त्री पोखरेलले नेपाल र स्वीटजरल्याण्डबीच सुखद र असल सम्बन्ध भएको उल्लेख गर्दै नेपालको विकास तथा शिक्षा क्षेत्रमा स्वीटजरल्याण्ड सरकारले गर्दै आएको सहयोगको लागि धन्यवाद दिए ।

उनले सिटीइभिटी सम्बन्धी ऐनको मस्यौदाको प्रक्रियामा रहेको र प्राविधिक शिक्षालाई समय सान्दर्भिक बनाउन विज्ञ समूहबाट राय परामर्श लिइरहेको यसलाई छिट्टै संसदमा पेश गर्ने तयारी रहेको जानकारी गराए ।