‘प्रधानमन्त्री त तपाईं बन्नुपर्ने’ भन्दा जब मुस्कुराए रवि
यही जेठ तेस्रो साता भारत भ्रमण गरेर फर्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सोमबार सर्वदलीय बैठक राखे। सोमबार बिहान सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा लामिछानेले आफ्नो भारत भ्रमण र संसदको गतिरोध अन्त्यको प्रयासलाई प्रमुख एजेन्डा बनाएका थिए।
बैठकमा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी, सहामहामन्त्री विपिन आचार्य, सांसद दीपक बोहोरा, कानुनमन्त्री सोविता गौतम, कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सांसद शहजान खातुन, एमालेका प्रमुख सचेत ऐनबहादुर महर, नेकपाका सहसंयोजक माधव नेपाल, सांसद वर्षमान पुन, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रमुख सचेत खुश्बु ओली, जसपा नेपालका राष्ट्रिय सभा सदस्य मोहम्मद खलिल, नेता सुरेन्द्र झालगायत सहभागी थिए।
करिब २ घण्टा बसेको बैठकमा लामिछानेले आफ्नो भारत भ्रमणको विषयमा जानकारी गराए पनि संसदको गतिरोध अन्त्य गराउन सहमति जुटाउन सकेनन्। बैठक बिनानिष्कर्ष टुंगियो।
यद्यपि, विपक्षी दलका नेताहरूसँग लामिछाने पनि ‘लन्च’मा सहभागी भए। सर्वदलीय बैठक सकिएपछि नेताहरू संघीय संसद् सचिवालयको क्यान्टिनमा खाना खान पुगे। सबैले सँगै खाना खाएपछि सर्वदलीय बैठकमा सहभागी नेताहरूबीच अनौपचारिक गफगाफ सुरु भयो।
त्यसै क्रममा एमालेका प्रमुख सचेतक ऐन महरले लामिछाने प्रधानमन्त्री बन्नुपर्ने प्रसंग निकाले।
‘तपाईं प्रधानमन्त्री भएको भए कति मजाले बोल्नुहुन्थ्यो। बोलिदिनुपर्यो भनेर यति भन्नु पनि पर्दैन थियो होला। शोभनीय पनि हुन्थ्यो होला। धेरै मान्छेले प्रश्न पनि गर्दैनथे होला,’ महरले भनेका थिए।
नेताहरूका अनुसार पार्टी सभापति नै प्रधानमन्त्री हुने विगतको अभ्यासलाई रास्वपाले भत्काउँदा अहिले सकस देखिएको उनको आशय थियो।
‘सभापति नै प्रधानमन्त्री बन्ने कुरा सुल्टो पनि हुन्थ्यो होला। नेपालमा पार्टी सभापति संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने अभ्यास थियो,’ रास्वपाका एक नेताले महरको भनाइ उद्धृत गर्दै भने, ‘सरकार निर्माण नै फरक तरिकाले भएकाले विभिन्न प्रकरण सतहमा आउँदा तपाईंलाई बढी दुःख भयो। सबैभन्दा बढी चेपुवामा तपाईं हुनुहुन्छ। तपाईं प्रधानमन्त्री हुनुभएको भए हामीलाई पनि यति दुःख नै हुँदैन थियो।’
महरले ‘तपाईं प्रधानमन्त्री हुनुपर्ने’ भन्दा रवि मुस्कुराएका थिए भने क्यान्टिनको टेबुलमा हाँसो छाएको थियो। त्यसपछि नेकपाका नेता वर्षमान पुनले पनि रवि प्रधानमन्त्री नहुँदाको सकस सुनाए।
‘उहाँ प्रधानमन्त्री बन्नु भएको भए संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम नै हटाउनुपथ्र्यो नि। उल्टो रविजीले सांसदलाई र्याखर्याख्ती पार्नुहुन्थ्यो,’ गफगाफमा सहभागी रास्वपाका नेताले पुनको भनाइ उद्धृत गरे, ‘संसदमा आइदिनुपर्यो। बोलिदिनुपर्यो भन्नु पर्दैन थियो। यत्रो लफडा पनि आउँदैन थियो।’
पुनको कुरामा पनि लामिछाने मुस्कुराए मात्र।
‘प्रधानमन्त्री बनेको भए, बनिदिए हुन्थ्यो भन्ने विपक्षी साथीहरू कुरामा रवि दाइ मुस्कुराउनु मात्र भयो। केही भन्नु भएन,’ उनले भने।
सर्वदलीय बैठकमा रास्वपा नेताहरूले प्रधानमन्त्री बालेन्द्र शाहको जिम्मा लिन नसक्दा संसदको गतिरोध अन्त्यका लागि सहमति हुन नसकेको महरले बताए।
‘प्रधानमन्त्रीको विषयमा धेरै कुरा गर्ने रास्वपा नेताहरूमा उहाँको कार्यशैलीले उकुसमुकुस देखिन्थ्यो,’ महरले भने, ‘रास्वपा नेताहरू प्रस्तुति ‘यस्तै छ के गर्ने, केही कसरी हुन्छ, मिलाएर जाऔँ’ भन्ने शैलीको थियो।’
रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठकमा सभापति लामिछानेले संसद्मा जारी गतिरोध अन्त्यका लागि विपक्षीसमक्ष प्रस्ताव राखेका थिए।
‘सदन अवरुद्ध हुने अवस्थालाई निराकरण गरेर जानुपर्छ भन्ने कुरा सभापतिज्यूबाट अनुरोध भयो। सरकारका तर्फबाट परराष्ट्र मन्त्रालय, परराष्ट्रमन्त्रीले प्रस्ट्याउने केही कुरा राख्नुभएको छ, आवश्यक पर्छ भने त्यो कुरा सदनमा पनि राख्न सकिन्छ भन्ने कुरा सभापतिले राख्नुभएको थियो,’ बुर्लाकोटीले भने, ‘मैले पनि कुरा राख्छु भन्नुभएको थियो।’
बैठकमा प्रधानमन्त्री शाह रास्वपाले भनेको मान्नुहुन्न भनेर विपक्षीबाट प्रश्न उठ्यो।
‘रास्वपाको निर्देशन मान्नुहुन्न उहाँ? रास्वपाले उहाँलाई निर्देशन पालना गराउन नसक्ने हो?’ विपक्षीको प्रश्न थियो, ‘कि उहाँ रास्वपाको होइन? हामीलाई त उहाँ रास्वपाकै प्रधानमन्त्री हो भन्ने लागिरहेको छ।’
सदनमा परराष्ट्रमन्त्री र रास्वपाका सभापति पनि आउन सक्दा प्रधानमन्त्री आउन नसक्ने भन्न नमिल्ने विपक्षीको तर्क थियो।
‘कि संसदमा प्रधानमन्त्री नआए पनि हुन्छ भन्ने रास्वपाको नीति हो? कि प्रधानमन्त्रीलाई ल्याउन नसक्ने हो?’ विपक्षीको प्रश्न थियो।
जसमा रास्वपा नेताहरू केही समय अक्मकिएका थिए। ‘त्यस्तो होइन। अहिले परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ’ भनेर उनीहरूले भनेका थिए।
जसपाका नेता सुरेन्द्र झाका अनुसार लामिछानेले व्यक्तिको स्वभाव र शैलीलाई स्वीकार्दै जानुपर्ने बताएका थिए।
‘व्यक्तिका आ–आफ्नै स्वभाव हुन्छन्। त्यसमा हामी अभ्यस्त हुँदै जानुपर्छ। मैले गर्नुपर्ने संवाद र समन्वय गर्छु। संसदको गतिरोध अन्त्य गरौँ भनेर रविजी प्रस्तुत हुनुहुभएको थियो,’ झा भन्छन्।
कांग्रेस, एमाले र नेकपाका नेताहरू भने रास्वपा सभापति भारत भ्रमणबाट उत्साहित भएर आएको भन्दै संवाद बाक्लिने विश्वासमा देखिन्छन्। नेकपाका नेता पुनले लामिछानेले थालेको संवाद सकारात्मक भएको बताएका थिए। विपक्षी दलहरूले सर्वदलीय बैठकमा लामिछानेले बारम्बार सरकारबारे ‘सय दिन त पर्खनुस्’ भनेको कुरालाई चासोमा लिएका छन्।
‘सय दिन त हेर्नुस्। अहिले हामी केही भन्ने पक्षमा छैनौँ। सबै मन्त्रीलाई डेलिभरीमा लाग्नुस् भनेका छौँ। कार्यक्रम, मिडिया कतैतिर पनि नलाग्नुस् भनेका छौँ। सय दिन त पर्खिनुस् भनेर धेरै पटक भन्नुभयो,’ महर भन्छन्।
सरकारका काम–कारबाही चित्त नबुझे विरोध गर्ने विपक्षीको धर्म भए पनि संसद् अवरोध नगरिदिन लामिछानेको आग्रह थियो।
राजदरबार हत्याकाण्ड मात्रै नभइ मदन भण्डारीको मृत्यु प्रकरणको पनि छानविन गर्नुपर्…
नयाँ प्रतिनिधिसभा नियमावलीअनुसार १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
इयु प्रतिबन्धबारे चीनले किन दियो चेतावनी ?
सञ्चारमन्त्रीद्वारा पेस गरिएकाे चलचित्र विधेयक सर्वसम्मतिले स्वीकृत
गोदावरीका प्रमुख प्रशासकीय अधिकृतको गाडी चोरेको आरोपमा एक जना पक्राउ
कक्षा १२ को नतिजा असार १० भित्रै सार्वजनिक गर्ने तयारी
दुई हप्तामा इरान, पाकिस्तानबाट ८५ हजार भन्दा बढी अफगानी स्वदेश फिर्ता
प्रतिक्रिया