राजदरबार हत्याकाण्ड मात्रै नभइ मदन भण्डारीको मृत्यु प्रकरणको पनि छानविन गर्नुपर्ने : अध्यक्ष कुलमान

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजदरबार हत्याकाण्ड मात्रै नभइ मदन भण्डारीको मृत्यु प्रकरणको पनि छानविन गर्नुपर्ने बताएका छन्।

बुधबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन्। नवनियुक्त गृहमन्त्री सुधन गुरुङले राजदरबार हत्याकाण्डको छानबिन गर्ने प्रतिवद्धता जनाएको उल्लेख गर्दै उनले उक्त घटनाको छानबिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा हुनुपर्ने स्पष्ट पारे। 

अध्यक्ष घिसिङले मदन भण्डारीको मृत्यु प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न र पूर्वप्रधानमन्त्री सुशील कोइरालाको मृत्युबारे उठेका शङ्काको समेत अनुसन्धान गर्नुपर्ने उल्लेख गरे। उनले राजनीतिक व्यक्तित्वसँग सम्बन्धित घटनाहरूका साथै अन्य घटनाहरुको पनि निष्पक्ष छानबिन आवश्यक रहेको बताए।

निर्मला पन्त हत्या प्रकरणको दोषी अझै पहिचान हुन नसकेको भन्दै उनले सरकारले वास्तविकता सार्वजनिक गर्नुपर्ने बताए। साथै उनले टीकापुर घटनापछि गठन भएको लाल आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक नगरिएको भन्दै उक्त प्रतिवेदन सार्वजनिक गर्न पनि सरकारसंग आग्रह गरे।

उनले भने, ‘किन यो दरबार हत्याकाण्ड मात्रै? मदन भण्डारी हत्याको पनि छानबिन होस्। किन नगर्ने? पटक पटक राष्ट्रपति भएको छ, पटक पटक प्रधानमन्त्री भएको छ। त्यही पार्टीको, किन अहिलेसम्म छानबिन हुँदैन? त्यो हत्या भनेर पटक पटक भनेको छ, त्यसको सही उत्तर किन आउँदैन? त्यो पनि छानबिन होस्। त्यस्तै गरेर सुशील कोइरालाको मृत्यु पनि शङ्कास्पद हो भनेर आएको हो, उहाँको पनि छानबिन होस्।’

उनले थपे, ‘निर्मला हत्याकाण्ड अहिलेसम्म छानबिन भएर त्यसको बाहिर ल्याउन सकिएको छैन, अब उहाँहरूले ल्याउनुपर्‍यो, निर्मला हत्याकाण्डको। टीकापुर विद्रोह जुन भएको थियो, टीकापुर विद्रोहको एउटा छानबिन आयोग बन्यो, लाल आयोग। त्यसको रिपोर्ट अहिलेसम्म सार्वजनिक भएन, सार्वजनिक गरियोस्।’

अध्यक्ष घिसिङले सहकारी ठगी प्रकरणको पनि निष्पक्ष छानबिन गर्नुपर्ने बताए। सहकारीसम्बन्धी विभिन्न तहका छानबिन भएपनि पीडितहरूले अहिलेसम्म बचत रकम फिर्ता नपाएको उनको भनाई छ।

उनले पीडितहरूलाई सरकारी कोषबाट नभई ठगीमा संलग्न व्यक्तिहरूबाट रकम असुल गरी फिर्ता गरिनुपर्ने बताए। उनले सहकारी ठगी प्रकरणमा जोडिएका भनिएका जीबी राईलाई नेपाल ल्याई सार्वजनिक रूपमा आफ्नो धारणा राख्ने वातावरण बनाउनुपर्ने पनि बताए। जीबी राईको उपस्थितिले सहकारी क्षेत्रमा भएको अनियमितताको वास्तविकता बाहिर आउनसक्ने उनको भनाई छ।

उनले प्रधानमन्त्री बालेन्द्र साहले दिएको सीमासम्बन्धी अभिव्यक्ति पनि आपत्तिजनक भएको बताए। संवेदनशील विषयमा जथाभावी बोल्न नहुने उनको भनाई छ।