सञ्चारमन्त्रीद्वारा पेस गरिएकाे चलचित्र विधेयक सर्वसम्मतिले स्वीकृत
प्रतिनिधिसभाको बुधबारकाे बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले `राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक, २०८२ दफावार छलफलका लागि सम्बन्धित समितिको बैठकमा पठाइयोस´ भन्दै पेस गरेकाे प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएकाे छ ।
सरकारले २०२६ सालदेखि कार्यान्वयनमा रहेको पुरानो चलचित्र ऐनलाई समयसापेक्ष परिमार्जन गर्दै संघीय संरचना, समावेशिता र नयाँ प्रविधिअनुकूल नयाँ कानुनी व्यवस्था आवश्यक रहेको भन्दै नयाँ विधेयक अघि बढाएको हो ।
चलचित्र क्षेत्रलाई केवल मनोरञ्जनको माध्यम नभई सामाजिक, सांस्कृतिक तथा सिर्जनशील उद्योगका रूपमा विकास गर्न नयाँ ऐन आवश्यक रहेको भन्दै सञ्चार मन्त्रालयले यो विधेयक अघि बढाएको हो।
चलचित्रमार्फत नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने, स्वदेशी तथा विदेशी चलचित्र प्रदर्शनअघि अनिवार्य जाँचको व्यवस्था गर्ने तथा नेपाली चलचित्रको विकास, विस्तार, प्रवर्द्धन र नियमनलाई प्रभावकारी बनाउने उद्देश्यले विधेयक ल्याईएको हो ।
त्यसैगरी विधेयक तयार पार्दा नेपालको संविधान, राष्ट्रिय आमसञ्चार नीति २०७३ तथा राष्ट्रिय चलचित्र नीति २०७१ लाई आधार बनाइएको जनाइएको छ । संविधानको व्यवस्थाअनुसार सामाजिक तथा सांस्कृतिक रूपान्तरण सम्बन्धी नीतिमा भाषा, लिपि, संस्कृति, साहित्य, कला, चलचित्र र सम्पदाको संरक्षण तथा विकास गर्ने नयाँ कानून आवश्यक रहेको जनाइएको छ ।
विधेयकमा चलचित्र विकास बोर्डलाई थप अधिकार सम्पन्न र स्वायत्त निकायका रूपमा विकास गर्ने प्रस्ताव गरिएको छ। हाल बोर्डले सीमित अधिकारका आधारमा काम गरिरहेको अवस्थामा चलचित्र निर्माण, वितरण र प्रदर्शनलाई व्यवस्थित गर्न तथा नियमनकारी भूमिकालाई बलियो बनाउन कानुनी आधार विस्तार गर्न खोजिएको हो।
सरकारले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई फिल्म निर्माणको आकर्षक गन्तव्य बनाउने लक्ष्य पनि अघि सारेको छ। चलचित्र विकास बोर्ड एशियन फिल्म कमिशन नेटवर्कको सदस्य भइसकेको र विभिन्न अन्तर्राष्ट्रिय फिल्म संस्थासँग सम्बन्ध विस्तार भइरहेको सन्दर्भमा बोर्डलाई थप सक्षम बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।
विधेयकमा चलचित्र क्षेत्रमा बक्स अफिस प्रणालीलाई प्रभावकारी बनाउने विषयलाई पनि विशेष प्राथमिकता दिइएको छ। टिकट बिक्री, आम्दानी, कर, प्रदर्शन अवधि तथा लोकप्रियतासम्बन्धी विवरणलाई पारदर्शी बनाउन बक्स अफिस प्रणाली अनिवार्य र व्यवस्थित गरिने विधेयकमा उल्लेख छ । यसले चलचित्र क्षेत्रभित्रको आर्थिक कारोबारलाई पारदर्शी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विधेयकले नेपाली चलचित्र उद्योगलाई औपचारिक उद्योगको रूपमा विकास गर्ने लक्ष्य लिएको छ। चलचित्रकर्मीहरूको श्रम अधिकार संरक्षण, मातृभाषाका चलचित्रको प्रवर्द्धन, आदिवासी जनजाति समुदायका कलात्मक तथा बौद्धिक चलचित्रको संरक्षण र अन्तर्राष्ट्रियकरणमा समेत विशेष जोड दिइएको छ। स्वदेशी चलचित्रको बजार विस्तार, विदेशी लगानी आकर्षण र नयाँ प्रविधिको प्रयोगलाई कानुनी रूपमा व्यवस्थित गर्ने प्रावधानसमेत विधेयकमा प्रस्ताव गरिएको छ।
राजदरबार हत्याकाण्ड मात्रै नभइ मदन भण्डारीको मृत्यु प्रकरणको पनि छानविन गर्नुपर्…
नयाँ प्रतिनिधिसभा नियमावलीअनुसार १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
इयु प्रतिबन्धबारे चीनले किन दियो चेतावनी ?
गोदावरीका प्रमुख प्रशासकीय अधिकृतको गाडी चोरेको आरोपमा एक जना पक्राउ
कक्षा १२ को नतिजा असार १० भित्रै सार्वजनिक गर्ने तयारी
दुई हप्तामा इरान, पाकिस्तानबाट ८५ हजार भन्दा बढी अफगानी स्वदेश फिर्ता
मेटलाइफ नेपाल र मेटलाइफ फाउन्डेसनद्वारा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न
प्रतिक्रिया