वैवाहिक बलात्कार र डिभोर्स मुद्दा मेलमिलापमा गएपछि बाटो ढुकेर पत्नीको हत्या
काठमाडौँ । सैनिक सुबेदार ईश्वरी भुजेलले पतिसँग डिभोर्सका लागि अदालतमा मुद्दा दायर गरेकी थिइन् । २०८२ मङ्सिर १४ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएर अदालती प्रक्रिया अघि बढ्दै थियो ।
गोरखा माइती भएर काठमाडौँको तारकेश्वर नगरपालिका–६, पैयुँटारमा दुई छोरासँग बस्ने ईश्वरीले आफ्ना श्रीमान् ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापाविरुद्ध वैवाहिक बलात्कारको जाहेरी पनि दिएकी थिइन् ।
बलात्कारको जाहेरीमाथि प्रहरीले अनुसन्धान गरेर २०८२ भदौ १० मा सरकारी वकिलमार्फत अभियोग दायर गरेको थियो । उनीहरू दुवै जना ४२ वर्षका थिए । पतिसँग छुट्टिन ईश्वरी दुवै मुद्दाको छिटो फैसला चाहन्थिन् ।
‘नेपाली ब्रो’ भन्थे : मेरो हातबाट कसैको ज्यान नजाओस्, तर आफ्नै श्रीमतीको हत्या गरे
२०८३ जेठ २० मा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको इजलासमा दुईवटै मुद्दाको पेसी थियो । न्यायाधीश भट्टले दुवै मुद्दा मेलमिलापमा पठाउने आदेश गरे । तर, मेलमिलाप केन्द्रमा बसेर छलफल गर्नुअघि नै कुमार थापाले पत्नी ईश्वरीको हत्या गरे । प्रेमविवाह गरेका कुमारले जेठ २२ मा राति बाटो ढुकेर पत्नीको हत्या गरेका हुन् ।
कार्यालयबाट स्कुटरमा घर पुग्न लागेकी थिइन्, बाटो ढुकेर बसेका कुमारले उनलाई झम्टिए । राति १० बजेर १० मिनेटमा इँटा, ढुङ्गा र धारिलो हतियार प्रहार गरेर कुमारले ईश्वरीको हत्या गरेका हुन् । घरायसी विवादमा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।
दम्पतीको विवादमा जोडिएर हत्यामा मतियारको भूमिकामा देखिएका थप ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको तारकेश्वर गाउँपालिका घर भएर पैयुँटार बस्ने ३६ वर्षीय विक्रम थापामगर, बालाजु घर भएका ४० वर्षीय पुजन थापा क्षेत्री र जुम्लाको हिमा गाउँपालिका–१ घर भएर गोकर्णेश्वर बस्ने २५ वर्षीया प्रतीक्षा आचार्य छिन् ।
मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको एसपी भट्टराईले जानकारी दिए । पक्राउ परेकी प्रतीक्षा आचार्य पछिल्लो समय ‘नेपाली ब्रो’ सँग प्रेममा थिइन् । अनुसन्धानमा संलग्न प्रहरी वृत्त बालाजुका एक जना अधिकृत भन्छन्, ‘उहाँहरूको बिचमा प्रेम सम्बन्ध रहेछ ।’
ईश्वरीको हत्या गर्न ‘नेपाली ब्रो’ लाई प्रतीक्षाले पनि प्रोत्साहित गरेको आरोप छ । प्रतीक्षासहित ३ जनाको भूमिकाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
ईश्वरी र ‘नेपाली ब्रो’ को मुद्दा अदालतले मेलमिलापमा पठाए पनि अब त्यो च्याप्टर सकिएको छ । हरेक अदालतमा मेलमिलाप केन्द्र हुन्छ । न्यायाधीशले त्यहाँ पठाएका मुद्दा दुई पक्षको बिचमा छलफल र सहमति भएपछि मेलमिलाप हुन सक्छ । न्यायाधीशले मेलमिलाप हुन सक्ने प्रकृतिका मुद्दाहरूलाई मेलमिलाप केन्द्रमा पठाउन सक्छन् ।
पत्नीको हत्यापछि कुमार थापा विक्षिप्त छन् । विक्षिप्तताका कारण उनको बयान लिन पनि नसकिएको एसपी भट्टराईले बताए । उनले भने, ‘हाम्रा अधिकृतहरूले काम गरिरहेका छन्, बयान भएको छैन ।’
ईश्वरीको जाहेरीका आधारमा कुमार यसअघि पनि पक्राउ परेका थिए । २०८२ साउन २० मा प्रहरी वृत्त बालाजुले उनलाई वैवाहिक बलात्कार मुद्दामा पक्राउ गरेर अनुसन्धान गरेको थियो । त्यस बेला २१ दिन हिरासतमा बसेर उनी छुटेका थिए । त्यसपछि उनीहरूको बिचमा झनै कटुता बढेको थियो । घरझगडा रोकिएको थिएन ।
प्रहरी वृत्त बालाजुमा घरेलु हिंसाको निवेदन आउने र छलफल हुने प्रक्रिया जारी थियो । २०८२ भदौ २३ मा ‘जेन–जी’ आन्दोलन हुनुअघि पनि प्रहरीले दुवै जनालाई राखेर ‘शान्तिसुरक्षा’ सम्बन्धी कसुरमा छलफल गराएको थियो । प्रहरी वृत्त बालाजुका एक जना अधिकृतका अनुसार शान्तिसुरक्षाको निवेदनमा छलफल भएर मिलापत्र भएको थियो । हत्या अनुसन्धान गरिरहेका एक जना अधिकृत भन्छन्, ‘जेन–जी आन्दोलनअघि उहाँहरूको बिचमा हाम्रो कार्यालयमा बसेर छलफल र मिलापत्र भएको देखिन्छ ।’
एसपी पवन भट्टराई पनि घरेलु हिंसामा पटकपटक निवेदन आउने र कुराकानी भइरहेको बताउँछन् । उनी भन्छन्, ‘सो शृङ्खला बढ्दै जाँदा सम्बन्ध निकै कटुतापूर्ण अवस्थामा पुगेको देखिन्छ ।’
सेनामा झाँगिएको प्रेम
हत्या आरोपी कुमार थापा पनि पूर्वसैनिक हुन् । सेनाको जागिर छाडेर उनी खेलकुदमा लागेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । अहिले उनी कुस्तीबाज ‘नेपाली ब्रो’ का रूपमा परिचित छन् ।
उनीहरूको चिनजान कुमार सेनामा हुँदा झन्डै २० वर्षअघि भएको थियो । १८ वर्षअघि उनीहरूले प्रेमविवाह गरेका हुन् । प्रेमविवाह विवादमा परिणत हुँदै हत्यामा टुङ्गिएको छ ।
ईश्वरीको हत्या गर्दा उनले प्रयोग गरेको धारिलो हतियार ‘चक्कु’ प्रहरीले बरामद गरेको छ । पोस्टमार्टम रिपोर्टअनुसार चक्कु प्रहारबाट ईश्वरीको घाँटी र ढुङ्गा प्रहारबाट टाउकोमा चोट लागेको भेटिएको छ । घटनास्थलमा कुमार मात्रै देखिएका छन् ।
शिक्षाले पार्ने प्रभावको कथामा ‘गौँथली’
अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन
महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन
अर्थमन्त्री वाग्लेमाथि हाललाई छानबिन गर्न आवश्यक नदेखिएको सरकारको ठहर
घरदैलोमा राहदानी पाउँदा नागरिकलाई सहज
सरकारी अस्पतालमा बिरामीका भार
सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेको घटनामा सरकारको प्रतिक्रिया
प्रतिक्रिया