ट्रम्पले इरानविरुद्ध गर्ने भनिएको आक्रमण अचानक रोक्दा नेतन्याहु ‘छक्क’

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अचानक इरानविरुद्ध आक्रमण रोक्ने निर्णय गर्दा आफू छक्क परेको बताएका छन्। 

ट्रम्पले बिहीबार राति इरानविरुद्ध ठुलो आक्रमण गर्ने भनेको केही घण्टापछि वार्ता सहमतिनजिक पुगेको भन्दै एकाएक हमला स्थगन गरिएको बताएका थिए। 

एक्सियोसको रिपोर्टअनुसार ‘नेतन्याहुले ट्रम्पले आफूलाई कुनै जानकारी दिई इरानविरुद्ध आक्रमण रोक्दा आफू छक्क परेको बताएका हुन्।’

एक्सियोसले दाबी गरेको छ, ‘नेतन्याहु र इजरायलका अधिकारीहरूले अमेरिकालाई इरानमा सैन्य दबाब कायम राख्न निरन्तर आग्रह गरिरहेका थिए। उनीहरूलाई विश्वास थियो- इरानले समय किन्न वार्ताको प्रयोग गरिरहेको छ।’

यसैबिच अमेरिकाका राष्ट्रपति ट्रम्पले ३९औँपटक अमेरिका-इरान शान्ति सम्झौता नजिकै पुगेको दाबी गरेका छन्।

यद्यपि इरानले अहिलेसम्म अन्तिम निर्णय भइनसकेको भन्दै ट्रम्पको भनाइ अस्वीकार गरेको छ।

सीएनएनको रिपोर्टअनुसार ट्रम्पले यसअघि सार्वजनिक भाषण, सामाजिक सञ्जाल वा सञ्चारमाध्यमसँग कुराकानीमा कम्तीमा ३८ पटक सम्झौताको नजिक पुगिएको वा इरान सहमतिका लागि तयार रहेको दाबी गरिसकेका छन्।

अहिलेको अभिव्यक्तिसँगै उनले त्यस्तो दाबी गरेको ३९औँपटक भएको छ।