विश्वकप प्रिभ्यु : यी हुन् यसपटकको विश्वकपमा बाहिरिनुपरेका उत्कृष्ट प्लेइङ ११

विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ बिहीबार मध्यरातिबाट सुरु हुँदै छ।

१०४ खेल, ४८ टोली र १६ आयोजक सहर। जुन ११ मा मेक्सिकोबाट सुरु भएर जुलाई १९ मा न्यूयोर्कमा समापन हुने विश्वकपमा यसपाली केही स्टार खेलाडीहरुलाई फुटबल समर्थकले मिस गर्नेछन्।

लियोनल मेसीको ‘म्याजिकल फिट’, त्रिस्टियानो रोनाल्डोको ‘एक्रोब्याटिक फिनिसेज’, विंगर लामिन यामलको त्यो जादु र किलियन एम्बाप्पेको त्यो स्पीड। यसपालीको विश्वकपमा पनि स्टार खेलाडीको मनोरञ्जनमा कत्ति पनि कमि महसुस हुनेछैन।

तर, केही चर्चित खेलाडीहरुलाई भने फुटबल प्रेमीले देख्न पाउनेछैनन्। यी खेलाडीहरुमा बालोन डी’ओर प्रत्याशी पनि छन्। जस्तै कि पेरिस सेन्ट जर्मनका विंगर क्भिचा भारास्केलिया। उनको टोली जर्जिया स्पेन र टर्की रहेको समूहबाट छनोट हुन असफल भयो।

यसैगरी म्यानचेस्टर सिटीका गोलकिपर जियानलुइजी डोनोरुम्मा र उनका इटालियन सहकर्मी निको बरेला पनि विश्वकपमा देखिनेछैनन्।

यी हुन् विश्वकपमा नदेखिने उत्कृष्ट प्लेइङ ११

१) गोलकिपरः जियानलुइजी डोनोरुमा (म्यानचेस्टर सिटी/इटाली)
इङ्लिस क्लब म्यानचेस्टर सिटीका डोनोरुमा मोर्डन फुटबलका स्टार फुटबलर हुन्। युरोपियन च्याम्पियनसिप २०२१ मा इटालीले उपाधि चुम्दा डोनोरुमाले प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको पुरस्कार जितेका थिए। तर, २७ वर्षीय डोनोरुमाले अहिलेसम्म विश्वकपको अनुभव लिन पाएका छैनन्। उनले २०१६ मा पहिलोपटक इटालीको जर्सी लगाएका थिए।

इटालीले अन्तिमपटक सन् २०१४ को ब्राजिल विश्वकप खेलेको थियो। त्यसयता पछिल्लो तीन संस्करण इटाली विश्वकपमा छनोट हुन सकेको छैन। क्लब फुटबलमा भएजति सबै उपाधि जितेका डोनोरुमा विश्वकपको अर्को संस्करण ३१ वर्षका हुनेछन्। त्यो विश्वकपमा पनि इटाली छनोट हुन नसके उनको करिअरले पूर्णता पाउनेछैन।

२. राइट ब्याकः जेरेमी फ्रिमपोङ (लिभरपुल/नेदरल्यान्ड्स)
जतिबेला फ्रिमपोङ बायर लेभरक्युसनबाट लिभरपुल साढे २९ मिलियन पाउन्डमा अनुबन्ध भएका थिए। फ्रिमपोङमाथि सबैले ठूलो अपेक्षा राखेका थिए। राइटब्याक फ्रिमपोङ जाबी ओलन्सोको नेतृत्वमा लेभरक्युसनले २०२३/२४ मा बुन्डेसलिगा जित्दाका प्रमुख सदस्य थिए।

तर, फ्रिमपोङले प्रिमियर लिगमा इन्जुरी र लय दुबैमा संघर्ष गर्नुपर्यो। जसका कारण कूल १२ खेलमा मात्र फ्रिमपोङले पहिलो रोजाईबाट खेल्न पाए।

विश्वकपअघि फिफा विन्डोमा सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रिमपोङले इक्वेडरविरुद्धको खेलमा वैकल्पिक खेलाडीका रुपमा प्लेइङ मिनेट्स पाएका थिए। तर, उनले मुख्य प्रशिक्षक रोनाल्ड कोमानको मन जित्न सकेनन्।

फ्रिमपोङका लिभरपुल सहकर्मीहरु भर्जिल भान डाइक, रायन ग्राभनबर्च र कोडी ग्याक्पोले भने उत्तर अमेरिकामा नेदरल्यान्ड्सको जर्सी लगाउँदैछन्।

३. सेन्टरब्याकः डीन होइसन (रियाल मड्रिड/स्पेन)
यसपाली स्पेनिस टोलीमा रियाल मड्रिडका खेलाडीको संख्या शून्य छ। सेन्टरब्याक डीन होइसन यसै सिजन मात्र बोर्नमाउथबाट स्पेनिस जायन्ट रियालमा अनुबन्ध भएका थिए। तर, उनी अमेरिका जाने टोलीमा अटाउन सकेनन्।

अघिल्लो वर्ष मात्र अन्तर्राष्ट्रिय क्याप जितेका होइसनले अहिलेसम्म स्पेनका लागि ७ खेल खेलेका छन्। सिजनका सुरुआती चरणमा प्रशंसनीय प्रदर्शन गरेका २१ वर्षीय होइसनले पछि आफ्नो उत्कृष्ट लयलाई कायम राख्न सकेनन्। जसका कारण मुख्य प्रशिक्षक डी ला फुयन्टेले उनको ठाउँमा बार्सिलोनाका एरिक गार्सियालाई बढी विश्वास गरे।

४. सेन्टरब्याकः ह्यारी मग्वायर (म्यानचेस्टर युनाइटेड/इङ्ल्यान्ड)
म्यानचेस्टर युनाइटेडका सेन्टरब्याक ह्यारी मग्वायरले इङ्ल्यान्डको अन्तिम टोलीमा स्थान बनाउन सकेनन्। जब मुख्य प्रशिक्षक थोमस टुचेलले अन्तिम नामावली सार्वजनिक गरे, मग्वायरले सामाजिक सञ्जालमार्फत आफ्नो दुखेसो नै पोखे। ६६ अन्तर्राष्ट्रिय क्याप जितेका मग्वायर आफ्नो तेस्रो विश्वकप खेल्ने मुडमा थिए। उनका लागि अमेरिकाको यात्रा पाँचौं अन्तर्राष्ट्रिय इभेन्ट हुँदै थियो। तर, टुचेलको मनमा मग्वायर थिएन।

टुचलले मग्वायरको ठाउँमा ज्यारेल क्वान्साह र एज्री कोन्सालाई जिम्मेवार िथिए। विश्वकप २०२६ मा यदि कोही अनुभवी खेलाडी छुटेका छन् भने ती मग्वायर नै हुन्।

५. लेफ्टब्याकः आल्भारो क्यारेरास (रियाल मड्रिड/स्पेन)
होइसनसँगै क्यारेरासले पनि आफ्नो पहिलो विश्वकप अनुभवका लागि अझै कुर्नुपर्ने भएका छन्। यस सिजन क्यारेरासले लामिन यामाल र मोहम्मद सलाह जस्ता स्टार विंगरहरुलाई ‘इन्डिभिज्योल डुवल्स’मा पाखा लगाएका थिए। तर, २२ वर्षीय क्यारेरास अमेरिका जाने टोलीमा अटाएनन्।

डी ला फुयन्टेले बार्सिलोनाका एलेहान्ड्रो बाल्डेलाई पनि टोलीमा समावेश गरेका छैनन्। यी दुईको ठाउँमा चेल्सीका मार्क कुकुरेया र लेभरक्युसनका एलेहान्ड्रो ग्रिमाल्डोलाई मौका दिएका छन्।

६. सेन्ट्रल मिडफिल्डरः एड्वार्डो कामाभिंगा (रियाल मड्रिड/फ्रान्स)
फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेस्च्याम्पले यसपाली केही चर्चित अनुहारलाई टोलीमा राख्न सकेनन्। पिएसजीका गोलकिपर लुकास सेभालिय र लोनमा टोटनहम हटस्पर्शबाट खेलिरहेका फरवार्ड रन्डाल कोला मुवानी अन्तिम २६ सदस्यीय टोलीमा अटाउन सकेनन्।

यसबीच भर्सटाइल खेलाडीको छवि भएका मिडफिल्डर एड्वार्डो कामाभिंगाले पनि विश्वकप गुमाउँदैछन्। यस सिजन कामाभिंगालाई इन्जुरीले निकै सतायो। जसका कारण उनले हकलाग्दो प्लेइङ मिनेट्स पनि पाउन सकेनन्। एनगोलो कान्टे, औरिलियन चुवामेनी, एड्रिअन राबियोट र वारेन जायर–एमरी डेस्च्याम्पको सेन्ट्रल मिडफिल्ड विकल्प बने।

७. सेन्ट्रल मिडफिल्डरः म्याटियस फर्नान्डेज (वेस्ट ह्याम/पोर्चुगल)
फर्नान्डेजलाई आँखा लगाइरहेका क्लबहरु धेरै छन्। आगामी सिजनका लागि समर ट्रान्सफर विन्डोमा वेस्ट ह्यामका फर्नान्डेजलाई लिन दौडधूप हुनेछ नै। तर, उनले विश्वकपमा आफ्नो कला भने प्रस्तुत गर्न पाउनेछैनन्।

इङ्लिस प्रिमियर लिगमा आफ्नो प्रदर्शनका कारण सबैका ध्यान तानेका फर्नान्डेजले रोबोर्टो मार्टिनेजको अन्तिम टोलीमा स्थान बनाउन सकेनन्।

यद्यपि २१ वर्षीय फर्नान्डेज एकैपटक मात्र पोर्चुगलको जर्सीमा देखिएका छन्। उनले गत अप्रिलमा अमेरिकाविरुद्ध खेलेका थिए। जतिबेला उनले ब्रुनो फर्नान्डेजलाई प्रतिस्थापन गरेका थिए।

वेस्ट ह्यामअघि फर्नान्डेजले साउथह्याम्पटनबाट खेलेका थिए। लगातार दुई सिजन उनी रेलिगेसनमा पर्ने टोलीको सदस्य रहे। त्यसैले पनि उनको विश्वकप सपनामा बाधा उत्पन्न गरेको बुझ्न सकिन्छ।

८. राइट विंगरः कोल पाल्मर (चेल्सी/इङ्ल्यान्ड)
पछिल्लो साढे दुई वर्ष अट्याकिङ मिडफिल्डर÷विंगर कोल पाल्मरले विश्व फुटबलको ध्यान ताने। इङ्ल्यान्डले युरोपियन च्याम्पियनसिप २०२४ मा फाइनलसम्मको यात्रा गरेको थियो। पाल्मर प्रतियोगितामा खुबै छाए। त्यस सिजन पाल्मरले चेल्सीका लागि कूल २५ गोल पनि गरेका थिए।

सिजन २०२४/ २ ५ मा पनि पाल्मरको लयले निरन्तरता पायो। उनकै प्रेरणादायी प्रदर्शनमा चेल्सीले पिएसजीलाई हराउँदै फिफा क्लब विश्वकपको पनि उपाधि जितेको थियो। तर, सिजन २०२५/२६ सिजन पाल्मरका लागि खास रहन सकेन। उनको प्रर्दशनले टुचेललाई प्रभावित बनाउन सकेन। यद्यपि इङ्ल्यान्डका समर्थकले उनका बारेमा अझै पनि तर्क गर्न छाडेका छैनन्।

९. सेन्ट्रल अट्याकिङ मिडफिल्डरः जाओ पेड्रो (चेल्सी/ब्राजिल)
ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सिलोटीले जाओ पेड्रोको निर्णय एकदमै कठिन भएको स्विकारेका थिए। ब्राजिलियन समर्थकका लागि नेइमारको समावेशीकरण जति उत्साहपूर्ण थियो, पेड्रो टोलीमा नपर्नुको दुःख त्यो भन्दा बढी थियो।

२४ वर्षीय पेड्रोले एन्सिलोटीको नेतृत्वमा पछिल्ला चारमध्ये तीनमा राष्ट्रिय टोलीको जर्सी लगाएका थिए। यस सिजन चेल्सीका ३२ गोलमा पेड्रोको संलग्नता छ। ६ वर्षयता इङ्लिस फुटबलमा रमाइरहेका पेड्रोले सन् २०२४ को कोपा अमेरिका पनि गुमाएका थिए।

उनीसँगै आर्सनलका ग्राब्रियल जेसुस र टोटनहमका रिचार्लिसनले पनि अन्तिम टोलीमा स्थान बनाउन सकेनन्। यी खेलाडीहरुको ठाउँमा एन्सिलोटीले इगोर थियागो, रायन र एन्ड्रिकलाई मौका दिएका छन्।

१०. लेफ्ट विंगरः फिल फोडेन (म्यानचेस्टर सिटी/इङ्ल्यान्ड)
पाल्मर रियाल मड्रिडका राइटब्याक ट्रेन्ट एलेक्सेन्डर आर्नल्ड इङ्ल्यान्डको टोलीमा समावेश हुन नसकेका स्टार खेलाडी हुन्। यद्यपि यसपाली इङ्ल्यान्डले सबैभन्दा बढी कसैलाई मिस गर्नेछ त ती लेफ्ट विंगर फिल फोडेन हुन्।

सन् २०२० मा अन्तर्राष्ट्रिय डेब्यू गरेका फोडेनले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रभुत्व भने जमाउन सकेका छैनन्। व्यावसायिक फुटबलमा भने उनको लय सानदार रहँदै आएको छ। २०२३/२४ सिजनमा उनले सबै प्रतियोगितागरि कूल २७ गोल गरे। त्यो सिजन उनले ‘पिएफए प्लेयर अफ दि यर’को पुरस्कार पनि जिते। दुई वर्ष अगाडि फोडेनले आगामी विश्वकपमा स्थान बनाउँदैनन् भन्ने कुरा सायदै कसैले सोचेको हुनुपर्छ।

११. स्ट्राइकरः करिम अडेमी (बोरुसिया डर्टमन्ड/जर्मनी)
पछिल्ला वर्षहरुमा बोरुसिया डर्टमन्डका फरवार्ड करिम अडेमीले आफूलाई विश्वकै उत्कृष्ट स्ट्राइकरका रुपमा आफूलाई उभ्याएका छन्। दुई वर्षअघि डर्टमन्डको च्याम्पियन्स लिग दौडमा उनले सानदार प्रदर्शन गरेका थिए।

डर्टमन्ड २०२३/२४ को च्याम्पियन्स लिगमा उपविजेता बनेको थियो। दुई वर्षको अन्तरालमा अडेमीले आफ्नो लय र फिटनेसमा संघर्ष गर्नुपरेको छ। जसका कारण उनले यसपाली २३ खेलमा मात्र पहिलो रोजाईमा खेल्न पाए।

मुख्य प्रशिक्षक युलियन नागेल्सम्यानले उनको ठाउँमा डोर्टमन्डकै म्याक्सिमिलियन बेयरलाई समावेश गरेका छन्। अडेमीले सन् २०२५ मा सातपटक राष्ट्रिय टोलीको जर्सी लगाए। यस वर्ष उनले प्लेइङ मिनेट्स पाएका छैनन्।