सरकारी स्वेच्छाचारिताविरुद्ध सर्वोच्चको अर्को साहसिक कदम
नेपालको इतिहासमा नागरिक स्वतन्त्रतामा जबजब राज्यले स्वेच्छाचारी ढंगले अतिक्रमण गर्छ, तबतब अपेक्षित रुपमा न्यायालयले आफ्नो सक्रियता देखाउँछ । हालै पूर्वमन्त्री दीपक खड्कासम्बन्धी प्रकरणमा सर्वोच्च अदालतले दिएको साहसिक आदेश न्यायिक सक्रियताको त्यस्तै एक महत्त्वपूर्ण नजिर बन्न पुगेको छ । यस घटनाक्रमले अनुसन्धान निकायहरूको कार्यशैली, कानुनी प्रक्रिया पालनाको अवस्था र अन्ततः सर्वोच्च अदालतको हस्तक्षेपमार्फत विधिको शासन कसरी स्थापित हुन्छ भन्ने कुरा स्पष्ट पारेको छ ।
विशेषतः कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल नेतृत्वको इजलासले देखाएको व्यावसायिकता, न्यायिक निष्ठा र निर्भीकताका कारण मुलुकमा न्यायालयको बोल्ड छवि उजागर भएको छ ।
कांग्रेस नेता एवं व्यवसायी खड्कामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धान अघि बढाइएको थियो । तर अनुसन्धानका क्रममा विभिन्न निकायहरू सम्पत्ति शुद्धीकरण विभाग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबीचको समन्वयहीनता, प्रक्रिया उल्लङ्घन तथा कानुनी आधारको अभाव स्पष्ट रूपमा देखियो । यही पृष्ठभूमिमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएपछि सर्वोच्च अदालतले हस्तक्षेप गर्यो ।
इजलासले आफ्नो आदेशमा सबैभन्दा पहिले “जरुरी पक्राउ पुर्जी” को प्रयोगप्रति गम्भीर प्रश्न उठाएको छ । कानुनी सिद्धान्तअनुसार यस्तो पुर्जी केवल अत्यन्त आवश्यक अवस्थामा मात्र प्रयोग गर्न पाइन्छ । जस्तो कि अभियुक्त भाग्न सक्ने, प्रमाण नष्ट गर्न सक्ने अवस्थाहरूमा मात्र प्रयोग गर्न मिल्छ । तर खड्काको हकमा यस्तो कुनै स्पष्ट आधार प्रस्तुत गरिएको थिएन । यसबाट न्यायिक प्रक्रियामा लापरबाही मात्र होइन, अधिकारको दुरुपयोग गरी नागरिक अधिकारमाथि अतिक्रमण गर्न यो सरकार उद्धत भएको स्पष्ट संकेत मिल्छ ।
यस्तै, अदालतले अर्को महत्त्वपूर्ण कमजोरी औँल्याएको छ-पक्राउपछि म्याद थप गर्दा आवश्यक प्रक्रियाहरू पूरा नगरिनु । खड्कालाई सम्बन्धित न्यायाधीशसमक्ष उपस्थित नगराई म्याद थप गरिएको, आदेशमा हिरासत आवश्यक हुनुको कारण उल्लेख नगरेको तथा अनुसन्धानका आधारहरू स्पष्ट नपारेको जस्ता त्रुटिहरूले सम्पूर्ण अनुसन्धान प्रक्रियालाई कमजोर बनाएको थियो । यी सबै पक्षलाई सूक्ष्म रूपमा विश्लेषण गर्दै इजलासले निष्कर्ष निकालेको छ कि हिरासतमा राख्ने कार्य कानुनसम्मत थिएन ।
यस सन्दर्भमा सपना प्रधान मल्लले प्रदर्शन गरेको उच्च व्यावसायिकता र निर्भीकता विशेष रूपमा उल्लेखनीय छ । उनले केवल प्राविधिक त्रुटि औँल्याउने काम मात्र गरेकी छैनन्, बरु विधिको शासनको मूल मर्मलाई स्थापित गरिदिएकी छन् । राज्यका निकायहरूले न्यायसंगत प्रक्रिया पालना नगरेमा नागरिकको स्वतन्त्रता कसरी जोखिममा पर्न सक्छ र न्यायालयले कसरी हस्तक्षेप गर्न सक्छ भन्ने कुरा यस आदेशमार्फत स्मरण गराइएको छ ।
मल्लको व्यावसायिकता यस अर्थमा पनि महत्त्वपूर्ण छ कि उनले कुनै पनि राजनीतिक दबाब वा सार्वजनिक धारणाभन्दा माथि उठेर निर्णय गर्न सक्छिन् । नेपालजस्तो राजनीतिक रूपमा संवेदनशील वातावरणमा, जहाँ शक्तिशाली व्यक्तिहरूविरुद्धका मुद्दाहरू प्रायः विवादित बन्ने गर्छन्, त्यहाँ निष्पक्ष र कानुनसम्मत निर्णय दिनु आफैंमा चुनौतीपूर्ण कार्य हो । तर यस प्रकरणमा उनले न्यायिक स्वतन्त्रताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेकी छन् ।
यसअघि पनि केपी शर्मा ओली नेतृत्वको शक्तिशाली सरकारको निर्णयमाथि प्रश्न उठाउने इजलासमा सहभागी भएर मल्लले आफ्नो निर्भीक छवि प्रस्तुत गरेकी थिइन् । ओलीको दुई तिहाइलाई उनले जसरी चेक गरेकी थिइन्, अहिले सुदन गुरुङको बेलगाम गतिमा पनि उनले कानुनको लगाम लगाइदिएकी छन् । यसले देखाउँछ कि न्यायालय, विशेषगरी सर्वोच्च अदालत, राज्यसत्ताको सन्तुलन कायम गर्ने अन्तिम संरक्षकका रूपमा प्रभावकारी रूपमा उभिन सक्छ ।
खड्का प्रकरणले अर्को महत्त्वपूर्ण सन्देश पनि दिएको छ-सम्पत्ति शुद्धीकरण अनुसन्धान हिरासतबाहिर बसेर पनि सम्भव हुन्छ । अदालतले स्पष्ट रूपमा उल्लेख गरेको छ कि यस्तो प्रकृतिको मुद्दामा अभियुक्तलाई अनिवार्य रूपमा थुनामा राख्नुपर्ने आवश्यकता छैन । यसले मानव अधिकार र व्यक्तिगत स्वतन्त्रताको संरक्षणलाई प्राथमिकता दिएको देखिन्छ ।
अन्ततः यो प्रकरण केवल एक व्यक्तिको मुद्दा मात्र होइन, यो नेपालको न्याय प्रणालीको परिपक्वता र विश्वसनीयताको परीक्षण पनि हो । सपना प्रधान मल्लको नेतृत्वमा आएको आदेशले हाम्रा न्यायाधीशहरू कानुनप्रति प्रतिबद्ध, तथ्यप्रति इमानदार र दबाबको पर्वाह नराखी निर्णय दिन सक्षम छन् र हाम्रो न्याय प्रणालीले नागरिकको अधिकार रक्षा गर्न सक्छ भन्ने पनि प्रमाणित गरिदिएको छ । हामीले खोजेको न्यायिक नेतृत्व पनि यस्दै हो । यस्तै निर्भीकताले नै न्यायालयप्रति जनास्था वृद्धि हुँदै छ । न्यायालयले जनताको रक्षा गरेमा जनताले पनि न्यायालयको रक्षा गर्दछन् । त्यसैले त न्यायालयको रक्षाकवच नै जनताको आस्था हो भनिन्छ ।
न्यायपालिकाप्रति विश्वास कायम राख्न प्रधानन्यायाधीशसहित सबै न्पायाधीशको सम्पत्ति …
कानून निर्माणमा नागरिक सहभागिता बढाउन मन्त्रालयद्वारा नयाँ डिजिटल प्लेटफर्म सा…
सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल केही दिनयता विक्षिप्तजस्तै द…
नेपाल बार एसोसिएसनले पदाधिकारीहरूको आकस्मिक बैठक राखे
न्यायाधीशले पदोन्नतिका लागि सरकार रिझाउँदा संविधान कमजोर हुन्छ: नेपाल बार
प्रधानन्यायाधीशमा डा शर्माको सिफारिस: न्यायपालिकामा नयाँ अध्यायको संकेत
एक वर्षमा छ वटा पाटेबाघ मरे
प्रतिक्रिया