न्यायाधीशले पदोन्नतिका लागि सरकार रिझाउँदा संविधान कमजोर हुन्छ: नेपाल बार

नेपाल बार एसोसिएसनले पदोन्नतिका लागि न्यायाधीशले सरकार रिझाउँदा संधिवान कमजोर हुने निष्कर्ष निकालेको छ। 

संवैधानिक परिषदले बिहीबार चौथा वरीयताका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेपछि शुक्रबार बारको बैठक बसेको हो। संवैधानिक परिषद्को निर्णयबारे बारको बैठकमा छलफल भएको जनाइएको छ।

बारको बैठकले संवैधानिक परिषद्को निर्णय र सरकारका क्रियाकलाप्रति ध्यानाकर्षण भएको जनाएको छ। ‘अध्यादेशमार्फत शासन चलाउने र त्यही आधारमा संविधान नै संशोधन गर्ने गरी गरिएको सिफारिसतर्फ नेपाल बार एसोसिएसनको गम्भीर ध्यानाकर्षण भएको छ,’ बारले भनेको छ। 

सरकारले कुनै पनि बहनामा अदालतभित्र प्रवेश गर्न नहुने बारको ठहर छ। ‘सरकार संवैधानिक परिषद् वा अन्य कुनै पनि रुपमा अदालत प्रवेश गर्नु हुँदैन, अदालत स्वतन्त्र हुनुपर्छ,’ बारले भनेको छ। 

सरकार अदालतमा प्रवेश गर्दा न्यायालय झन बिग्रिने बारले जनाएको छ। ‘न्यायालय स्वतन्त्र भएन भने यहि सरकारलाई आवश्यक पर्दा पनि अदालत काम नलाग्ने हुन सक्छ,’ बारले भनेको छ। 

यससँगै न्यायाधीशहरू पदोन्नतिका लागि सरकार रिझाउन लाग्दा संविधान कमजोर हुने पनि बारको निष्कर्ष छ। ‘न्यायाधीशहरू पदोन्नतिका लागि सरकार रिझाउन लाग्दा वा सरकारलाई रिझाएर न्यायाधीशले पदोन्नति पावस भनेर सरकारले अपेक्षा गर्दा संविधान कमजोर हुन्छ,’ बारले भनेको छ। 

यसैबीच नेपाल बार एसोसिएसनले प्रेस विज्ञप्ति जारी गरी न्यायाधीशलाई धम्क्याउने कार्य नगर्न सरकारलाई आग्रह गरेको छ। बारका महासचिव केदारप्रसाद कोइारालाले जारी गरेको विज्ञप्तिमा न्यायाधीशलाई उच्च मनोवलका साथ काम गर्न आग्रह गरेको छ। 

‘संविधान र संविधानवाद प्रतिकूल यस्ता कार्यहरू तत्काल रोकी मुलुकलाई मुठभेडतर्फ नधकेल्न आग्रह गर्दै स्वतन्त्र न्यायपालिकाको रक्षार्थ नेबाए अडिग रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अविचलित रुपमा उच्च मनोवलकासाथ न्याय सम्पादनको कार्यमा दत्तचित्त भई लाग्न सर्वोच्च अदालत लगायतका सबै अदालतका सम्पूर्ण माननीय न्यायाधीशहरूमा नेपाल बार एशोसिएशन हार्दिक आग्रह गर्दछ।’

नेपाल बार एसोसिएसनको प्रेस विज्ञप्ति:

संवैधानिक सर्वोच्चता, विधिको शासन, शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्त, मानवअधिकार, लोकतन्त्र, स्वतन्त्र सक्षम एवम् निष्पक्ष न्यायपालिकाको निमित्त यस एशोसिएशनले सदैव पहरेदारी गर्दै आईरहेको तथ्य सर्वबिदितै छ। नेबाए अध्यादेशबाट शासन प्रशासन चलाउने कार्यलाई कानूनको शासनको उल्लंघन मान्दछ। 

नेपालको संविधानको धारा २८४ को मर्म विपरित संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी० ऐनलाई कलुषित मनसायकासाथ संघीय संसदलाई छली ल्याइएको अध्यादेशको आडमा नेपालको संविधानलाई संशोधन गर्न सकिँदैन। विश्वव्यापी प्रचलित शक्ति पृथकीकरणको सर्वमान्य सिद्धान्तलाई समेत ख्याल नगरी सरकारले संवैधानिक परिषद्मार्फत समग्र न्यायपालिकामा लामो समयसम्म असर पार्ने गरी न्यायपालिकालाई कार्यपालिकाको छायामा पार्ने मनसायकासाथ परम्परालाई लत्याई गरिएको सिफारीश अनपेक्षित रहेको छ। 

संसद अधिवेशन छलेर ल्याएको अध्यादेशले संविधानको धारा २ ले प्रदत्त गरेको जनताको सार्वभौम अधिकार, संसदको सर्वाभौम अधिकारको गम्भीर उल्लंघन गरेको नेपाल बार एशोसिएशनको स्पष्ट ठम्याई रहेकोछ। यसरी संविधानको मर्मलाई प्रतिस्थापन गर्ने गरी ल्याइएको संविधान प्रतिकूलको अध्यादेश जारी गर्ने एवम् सोको आधारमा शासन गर्ने अप्राकृतिक चाहना र गैर संवैधानिक कार्यले नियन्त्रित र निर्देशित न्यायपालिका सञ्चालित हुने हुँदा संवैधानिक मूल्य–मान्यता र परम्परा विरुद्धका यस्ता कार्य न्यायपालिकाको हकमा शोभनीय देखिदैन, यो विषय राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय चासोको विषयसमेत रहेको कुरामा नेबाए स्पष्ट छ।  

‘‘अपवादको रुपमा अस्थायी तवरबाट प्रयोग हुने अध्यादेशको दूर्लभ अभ्यासलाई नियमित संसद अधिवेशन आव्हान भईसकेपछि पुनः स्थगित गरी जनप्रतिनिधिमूलक संस्था संघीय संसदलाई छली अध्यादेश जारी गरी संविधानको मर्ममाथि प्रहार गरी स्वेच्छाचारीतालाई बढावा दिने हुन्छ’’ भन्ने नेपाल बार एशोसिएनको मान्यतालाई सरकारले छद्म विधायनबाट प्रमाणित गरेको छ। यस्ता कार्यले नेपालको संविधान, न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकामा शक्ति पृथकीकरणको सिद्धान्त विपरित क्षेत्राधिकार समेतको अतिक्रमण गरी विधिको शासन, स्वतन्त्र, सक्षम, उत्तरदायीत्वपूर्ण न्यायपालिकालाई नियोजित, निर्देशित र नियन्त्रित गर्ने कार्यको नेपाल बार एशोसिएशन सदैव विरोध गर्दछ। जारी अध्यादेश र सो मार्फत गरिएको विभक्त रायसहितको सिफारीशले सम्पूर्ण न्यायकर्मीलाई भयभीत बनाउने सरकारको चाहना कतैबाट छिपेको छैन।

स्वतन्त्र रुपले कार्य सम्पादन गर्नुपर्ने अदालतहरु प्रशासकीय अदालत, श्रम अदालत, वैदेशिक रोजगार न्यायाधीकरण लगायतमा कार्यरत सदस्यहरुलाई राजीनामा दिनुहोस भन्ने सरकारको दबाब स्वतन्त्र न्यायपालिकाको हुर्मत लिने कार्य हो। संविधान र संविधानबाद प्रतिकूल यस्ता कार्यहरु तत्काल रोकी मुलुकलाई मुठभेडतर्फ नधकेल्न आग्रह गर्दै स्वतन्त्र न्यायपालिकाको रक्षार्थ नेबाए अडिग रहेको छ। अविचलित रुपमा उच्च मनोवलकासाथ न्याय सम्पादनको कार्यमा दत्तचित्त भई लाग्न सर्वोच्च अदालत लगायतका सबै अदालतका सम्पूर्ण माननीय न्यायाधीशहरुमा नेपाल बार एशोसिएशन हार्दिक आग्रह गर्दछ।