बुढाबुढीले चलाएको पार्टीमा रडाको, राजनीतिक अस्थिरताका कारक बन्दै रेशम र रञ्जिता

टीकापुर हत्या घटनामा तीन तहकै अदालतबाट दोषी ठहर भएपनि राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा आममाफी दिएका रेशम चौधरी कानुनी रुपमा त राजनीतिमा सक्रिय बन्न पाएका छैनन्। तर, जेलमै छँदा आफ्नै जेठी श्रीमति रञ्जिता श्रेष्ठको नेतृत्वमा दल खोलेका रेशम अहिले तिरिमिरी बनेका छन्।

जेलबाट छुटेपछि पहिलो महाधिवेशनबाट आफै अध्यक्ष बनेपनि निर्वाचन आयोगले अवैध घोषणा गरिदिएपछि रञ्जिता शक्तिमा छिन्। श्रीमति वैध अध्यक्ष भएपछि रेशमको कुरा सुन्ने कुरै भएन। यसअघि मन्त्री बनेकी रञ्जिता फेरि मन्त्री बन्ने लाइनमा थिइन्। त्यही भएर उनी प्रधानमन्त्री प्रचण्डको साथ छोड्न मानेकी छैनन्। अहिले पनि प्रचण्डलाई विश्वासको मत दिएकी छन्।

यही विषयबाट सुरु भएको पति रेशम चौधरी र पत्नी रञ्जिता श्रेष्ठबीचको झगडाले डेढ महिनादेखि नेपाली राजनीति तताएको छ। पार्टी राजनीति मात्र होइन अब राजनीतिक अस्थिरताका कारक नै रेशम र रञ्जिता बन्ने भएका छन्।

यो अवस्था सुदूरपश्चिमबाट देखिएको छ। रेशमले कांग्रेस, एकीकृत समाजवादी र राप्रपाको साथमा सांसद लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउन तल्लिन छन्। उनी कांग्रेसको गठबन्धनमा रहनुपर्ने अडानमा छन्। यसअघि कांग्रेस नेता कमलबहादुर शाह नेतृत्वको सरकार जोगाउन भरपूर प्रयास गरेका थिए। तर, नसकेपछि उनको सरकार ढल्यो। अहिले आफू नजिकका लक्ष्मणलाई अघि सारेका छन्।

तर, रञ्जिताले पनि एमाले, माओवादीको सहयोगमा कैलाश चौधरीलाई अगाडि सारेकी छन्। उनीहरु दुबैदे आइतबार प्रदेश प्रमुख नजिर मियासमक्ष मुख्यमन्त्रीमा दावी पेश गरे। लक्ष्मणकिशोरलाई नेपाली काँग्रेस, एकीकृत समाजवादी र राप्रपाले समर्थन गरेका छन् । त्यस्तै कैलाशलाई नेकपा माओवादी केन्द्र, नेकपा एमाले र एकजना स्वतन्त्र सांसदको समर्थन छ । 
दुई जनाको दावी परेपछि प्रदेश प्रमुख मियाले मुख्यमन्त्री कसलाई नियुक्त गर्ने भन्ने निर्णय गर्न सकेका छैनन्। अब सरकार कहिले बन्छ टुंगो छैन।

हाल ५२ सदस्य रहेको प्रदेश सभामा बहुमतका लागि २७ सदस्यको समर्थन आवश्यक पर्छ । 

सुदूरपश्चिमले डेढ वर्षमै दुई मुख्यमन्त्री फेरिसकेको छ । अब बन्ने मुख्यमन्त्री तेस्रो हुनेछन्। तर, सात सिटसहित निर्णायक रहेको नागरिक उन्मुक्तिभित्रकै विवादले प्रदेशको राजनीति संङ्लो हुन सकेको छैन।

नागरिक उन्मुक्ति सुदूरपश्चिममा संसदीय दलका नेता दुई जना छन्। घनश्याम चौधरी यसअघि नै संसदीय दलका नेता बनेका हुन्। तर, उनी रेशमतिर लागेपछि रञ्जिताले कारबाही गरेकी थिइन्। तर, उनीमाथि कारबाही सदर भएको छैन। रञ्जिताले कैलाशलाई संसदीय दलको नेता बनाएकी छन्।

आफूले भनेको नमानेको भन्दै रञ्जिताले यसअघि राज्यमन्त्रीसमेत रहेकी समानुपातिक सांसद इन्दिरा गिरीलाई पदमुक्त गरेकी थिइन्। तर सर्वाेच्च अदालतले निर्णय उल्ट्याइदिएको छ। गसांसद गिरीले सुदूरपश्चिम प्रदेश सभा सचिवालय समेतलाई विपक्षी बनाएर दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो ।