युद्धकाे समयमा रुसी रक्षामन्त्रीलाई अर्काे धक्का,रुसका उपरक्षामन्त्री परे पक्राउ

यसैसाता रुसका उपरक्षामन्त्री तिमुर इभानोव सैन्य कमान्डरहरुको उच्चस्तरीय बैठकमा सहभागी भए। उनी रक्षामन्त्री तथा आफ्ना बोस सेर्गेइ सोइगुको छेवैमा बसेका थिए। मुलुकका उच्चपदस्थ  बर्दीधारीमध्ये एक हुन् उनी।

त्यसको केही घण्टापछि नै इभानोवलाई अदालत पु¥याइयो। यतिबेला पनि उनी बर्दीमै थिए। तर, उनी गिरफ्तार भइसकेका थिए। भ्रष्टाचारको आरोप उनीमाथि लागेको छ।

उनको विलासी जीवनशैलीको रुसमा चर्चा चल्ने गरेको थियो। तर, रुसको सत्ताले उनलाई सहँदै आएको थियो। उनको पतनले रक्षामन्त्री सोइगुलाई ठूलो धक्का पुगेको छ। खासगरी रुसको सत्तामा हेरफेर हुने सँघारमा।

राष्ट्रपति भ्लादिमिर पुटिनले अर्को महिना नयाँ कार्यकाल सुरु गर्दैछन्। उनले नयाँ मन्त्री नियुक्त गर्ने अनुमान गरिएको छ। पछिल्लो समय युक्रेनविरुद्ध युद्धमैदानमा सफलता प्राप्त गर्दै गएकाले सोइगु थप शक्तिशाली हुने अपेक्षा गरिएको थियो। उनका सबैभन्दा कट्टर आलोचक यव्गेनी प्रिगोजिनको पनि मृत्यु भइसकेको थियो।

तर, उनका सहयोगी इभानोवको गिरफ्तारीले सोइगुको शक्ति ह्रास हुँदै गएको संकेत गर्ने रक्षा मन्त्रालयनिकट एक व्यक्तिले बताए। 

‘सोइगुलाई कमजोर मात्र गर्न खोजेको भए उनीहरुले इभानोवलाई पहिले बर्खास्त गर्न सक्थे। उनीहरुले भ्रष्टाचार समाप्त पारेको देखिने थियो,’ ती व्यक्तिले भने, ‘तर, उनीहरुले उनलाई अफिसमै, बर्दीमै पक्रिए, त्यो पनि रक्षामन्त्रीसँगै बैठकमा सहभागी भएलगत्तै। सोइगुलाई कमजोर देखाउनेबाहेक यसको अरु के प्रयोजन हुनसक्छ?’

पुटिनले अरु सबै कुराभन्दा वफादारीलाई सबैभन्दा ठूलो प्राथमिकता दिन्छन् भन्ने मानिन्छ। त्यसै हुनाले युक्रेन युद्धको सुरुमा देखिएको असफलताका बाबजुद सोइगु पदमा कायम रहे। तीन दिनमा समाप्त हुने ठानिएको सो युद्धको तेस्रो वर्ष चलिरहेको छ।

पुटिनले क्रेमलिनभित्र दुई वटा शक्तिकेन्द्र कायम गरेर एकअर्कालाई सन्तुलनमा राख्दै आएका छन्। तर, प्रिगोजिनको मृत्युपछि रक्षा मन्त्रालय शक्तिशाली भएको र त्यसलाई सन्तुलित पार्न उनले नयाँ शक्तिकेन्द्र बनाउन खोजेको कतिपयको बुझाइ छ।

यस्तो बेलामा आफ्नो कमाइले नभ्याउने अति विलासी जीवनशैलीका कारण इभानोव सहज निसाना बनेको उनीहरु बताउँछन्।

अदालतले उनको सम्पत्ति रोक्का गरेको छ। दोषी ठहर भए उनलाई १५ वर्षसम्मको जेल सजाय हुन सक्छ। 

इभानोवसँग निकट सम्बन्ध रहेको र ठुल्ठूला सैन्य ठेक्का पाएको ओलम्पसिटिस्ट्रोइका संस्थापक अलेक्सान्द्र फोमिनलाई पनि पक्राउ गरिएको छ