मन्त्रीका लागि मरिहत्ते गर्दा घट्यो रास्वपाको साख

प्रतिनिधि सभाअन्तर्गत इलाम–२ र प्रदेश सभाअन्तर्गत बझाङ १ (क) को उपनिर्वाचन सम्पन्न भएको छ । २०७९ मा भएको आम निर्वाचनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हल्लाएको ठूला पार्टीहरुको मुटु अझै ठाउँमा बस्न सकेको छैन । तर, चुनावपछिका १७ महिनामा रवि लामिछाने, उनको टिम र उनको पार्टीलाई जनताले राम्रैसँग मूल्यांकन गरिसकेका रहेछन् ।

हुन त रास्वपाले बझाङमा उम्मेदवार नै उठाएन । इलाममा उठाउनका लागि हत्पत्ति उम्मेदवार नै पाएन । जसलाई उम्मेदवार उठायो, तीसँग न व्यक्तित्व थियो न त विरासत नै । न जनतालाई आकर्षित गर्न सक्ने खुबी थियो, न त प्रतिभा नै । आफूलाई निख्खर गाउँलेका रुपमा चिनाउनुबाहेक अर्को कुनै परिचय थिएन उनीसँग । त्यसैले इलाम–२ मा रास्वपा र रविका लागि शर्मनाक स्थिति बन्न पुगेको छ ।

सुदूरपूर्व र सुदूरपश्चिमका अलगअलग दुई निर्वाचन क्षेत्रमा भएको जनमत परीक्षणले आमनागरिकमा फेरि पनि पुरानै दलको छाप यथावत् रहेको देखाएको छ । नयाँ र स्वतन्त्र भनिएकाहरु केवल खहरे हुन् भनेर जनताले फेरि प्रमाणित गरिदिएका छन् ।   

इलामको चुनावलाई रास्वपा र पहिचान पक्षधरको उपस्थितिको खास मापनका रुपमा लिइएको थियो । हुन त त्यहाँ एमाले र कांग्रेससँग व्यापक जनसंगठन थियो । इतिहासको विरासत थियो । तैपनि, जनतामा पुराना दलप्रति व्याप्त निराशा र वितृष्णाको लाभ उठाउने दाउ रास्वपा र स्वतन्त्रहरुको थियो । 

तर, एमाले र कांग्रेसबीच नै यस चुनावमा मुख्य प्रतिस्पर्धा देखिएको छ । यस परिणामले के प्रस्ट पार्छ भने जनतामा आशा पनि यिनै दलहरुप्रति छ भने आक्रोश पनि यिनीहरुप्रति नै । 
नयाँ दलका रुपमा २०७९ देखि उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा राम्रै उपस्थिति जनाएको थियो। स्थापना भएको ६ महिनामै चुनावमा होमिएको रास्वपाले त्यसबेला प्रत्यक्षतर्फ ७ र समानुपातिकमा १३ सिट जितेको थियो। अझ २०८० वैशाख १० मा तनहुँको उपचुनावमार्फत रास्वपाले कांग्रेसको गढ खोसेको थियो।

त्यसयता पुराना दलहरुप्रति जनतामा वितृष्णा झन् बढेको र अब जता चुनाव भए पनि नयाँले तिनलाई विस्थापित गर्ने हो कि भनेर पनि विश्लेषणहरु भएका थिए। यसपालिको चुनावमा रास्वपा र यस पार्टीका सभापति रवि लामिछानेले सबै शक्ति इलामकेन्द्रित गरेका थिए। उनी सरकारका चार–चारजना मन्त्रीसहित त्यहाँ पुगेका थिए । मतदाताको ध्यान खिच्न अनेकौँ प्रयोग त्यहाँ गरेका थिए । किनभने, पुराना दललाई अप्रत्याशित नतिजा दिन चाहन्थे ।
तर, त्यहाँ उनको दल चौथो स्थानका लागि संघर्षरत छ, त्यो पनि निकै फराकिलो अंकले । मिलन लिम्बुलाई पहिचान पक्षधरको नेतृत्व गरेर स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्रसिंह थेगिमले पछि पारेका छन् । 

एमालेका सुहाङ नेम्बाङले उल्लेख्य मतान्तरसहित अग्रता कायम राखेका छन् भने कांग्रेसका डम्बर खड्काले एमालेसँगको प्रतिस्पर्धामा छन्।
अघिल्लो चुनावमा माओवादीको साथ पाएका खड्काले यसपालि कांग्रेसको बलमा मात्र चुनाव लड्नुपरेको थियो भने विगतमा एक्लै लडेर तत्कालीन सत्ता गठबन्धनलाई पराजित गरेको एमालेलाई यसपालि माओवादी केन्द्रको काँध छ। 

रास्वपाले अप्रत्यासित संसदीय राजनीतिमा प्रवेश गरेको थियो । १७ महिनापछिको यस उपचुनावमा उसको लोकप्रियताको पारो एकै साथ शिरबाट तिरमा आइपुगेको देखाउँदै छ । पुराना दलको विरासत भत्काउन नसकिने रहेछ भन्ने फेरि प्रमाणित भएको छ । यसले रास्वपाको मिसन–०८४ को खुट्टी पनि देखाएको छ ।

रास्वपाको यो गति किन भयो त ? यसमा रविले नै गम्भीर आत्मसमीक्षा गर्नुपर्ने हुन्छ । यसको मुख्य एउटा कारण हो, उनमा देखिएको सत्तालिप्सा । त्यसमा पनि आफै मन्त्री बन्न मरिहत्ते गर्दा उनको र पार्टी साख एकसाथ गिर्न पुगेको छ । उनको कार्यशैली र मन्त्रीमोह हेर्दा पुरानाभन्दा कत्ति पनि नयाँ छैनन् भन्ने पुष्टि भएको छ ।  

मतदाताले परिवर्तन चाहे पनि त्यसको प्रतिनिधित्व रविले गर्न सक्दैनन् भन्ने जनमतबाट पुष्टि भएको छ । रवि सहकारी प्रकरणमा विवादित भएकाले पनि यसपालि उनको दलले मत पाउन सकेको देखिएन ।