दुर्गा प्रसाईंको हतियार ‘इजाजत दिन नमिल्ने’ प्रकृतिको रहेको समितिको निष्कर्ष

दुर्गा प्रसाईंका सुरक्षा गार्डबाट बरामद गरिएको हतियार इजाजत दिन नमिल्ने प्रकृतिको रहेको छानबिन समितिले निष्कर्ष निकालेको छ।गृह मन्त्रालयले गठन गरेको हतियारको इजाजत तथा नवीकरणसम्बन्धी छानबिन समितिले प्रतिवेदन बुझाउदैँ हतियार ‘इजाजत दिन नमिल्ने’ प्रकृतिको रहेको निष्कर्ष निकालेको हो।

सहसचिव राजेन्द्रदेव पाण्डे नेतृत्वको समितिले प्रतिवेदन बुझाउँदै सो हतियार ‘इजाजत दिन मिल्ने खालको नदेखिएको’ ठहर गर्दै उक्त प्रतिवेदन सोमबार गृहमन्त्री रवि लामिछानलेलाई बुझाएको छ। 

सर्वोच्च अदालत परिसरमा फेला परेको हतियार कानुनले तोकेअनुसार इजाजत दिन मिल्ने खालको नदेखिएको र इजाजत दिने निर्णयमा समेत देशभर लैजान पाउने गरी इजाजत नदिइएको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै प्रतिवेदनमा व्यक्तिगत रुपमा हतियारको इजाजत प्राप्त गर्ने मापदण्ड, कानुनमा गर्नुपर्ने सुधार, अभिलेख व्यवस्थापनका लागि गर्नुपर्ने कार्य, घटनामा संलग्न व्यक्तिलाई गर्नुपर्ने कारबाहीलगायत विषयमा सुझाव तथा सिफारिस गरिएको छ। 

छानबिन समितिमा कानुन महाशाखाका उपसचिव ऋषि पौडेल र प्रहरी उपरीक्षक सन्तोष भट्टराई सदस्य र उपसचिव एकदेव अधिकारी सदस्य–सचिव थिए।

२०८० चैत ५ गते सर्वोच्च अदालत परिसरमा व्यवसायी प्रसाईंको अंगरक्षकबाट जिल्ला प्रशासन कार्यालय, झापाबाट मिति २०७५ असार २१ मा जारी भएको इजाजतपत्र २२ बोर ए३५४७५२ हतियार फेला परेको थियो।