कोशीमा फेरि रडाको, माओवादीलाई सरकारमा समेट्न खोज्दा एमाले तर्कियो

सुन्नुहोस्

यो समाचार बर्णन मिडियाका प्रधान सम्पदक तथ संचालक नारायण प्रसाद दाहाल ज्युले लेख्नु भएको हो।
 

गएको एक वर्षदेखि कोशी प्रदेशको सरकार तदर्थ शैलीमा चलिरहेको छ । यसबीचमा ५ पटक सरकार हेरफेर भए । तीनवटा मुख्यमन्त्री फेरिए । केन्द्रीय सत्ता गठबन्धनसमेत सरकार चलाउन असफल भएपछि कांग्रेसको एक विद्रोही खेमाले एमालेको साथ दिएर सरकार बनाएको छ । 

यतिसम्म त ठिकै थियो । एमालेको समर्थनमा बनेको सरकारलाई फेरि गठबन्धनले कब्जा गर्न खोज्दै छ ।यतिखेर कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की केन्द्रीय गठबन्धनमा आबद्ध अन्य दललाई पनि मिलाएर मन्त्रिमण्डल विस्तारको तयारीमा लागेका छन् । कात्तिक १ गते विश्वासको मत दिने सबै दललाई सरकारमा समेट्नुपर्ने पक्षमा मुख्यमन्त्री कार्की उभिएका छन् । कोशी प्रदेश सभामा रहेका राप्रपाबाहेकका दलले कार्कीको पक्षमा मत दिएका थिए । 

तर, नेकपा एमालेले भने कांग्रेसबाहेकका कुनै पनि दललाई सरकारमा सहभागी गराए स्वीकार्य नहुने र त्यसो गरिए आफू सरकार छाडेर प्रतिपक्षमा बस्ने चेतावनी दिएको छ ।बुधबार मुख्यमन्त्री कार्कीलाई भेटेरै एमालेका नेताहरूले तत्काल सरकार विस्तार गर्न र पूर्वसहमति पालना गर्न ध्यानाकर्षण गराएका छन् । उनीहरुले मुख्यमन्त्री बनाउँदा जे सहमति भएको छ, त्यसैअनुसार कार्यान्वयन होस् भनेर चेतावनीको भाषा प्रयोग थिए । ‘गठबन्धनलाई सरकारमा ल्याए हामी तत्काल सरकार छाड्छौँ र प्रतिपक्षमा बस्छौं,’ उनीहरुको भनाइ थियो ।

मुख्यमन्त्री कार्की भने सहमतीय सरकारको नारा दिएर माओवादीलगायतका दललाई समेटेर मन्त्रिमण्डल विस्तारको प्रयासमा छन् । उनले सरकारमा सहभागी हुन गठबन्धनलगायत सबै दललाई आह्वान गरिसकेका छन् । उनले ती सबै दल सरकारमा सहभागी हुनेमा विश्वस्त रहेको बताएका छन् ।एमालेका ३९ सांसदको सहयोगमा नेपाली कांग्रेसबाट ८ सांसद लिएर असोज २७ मा कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् । उनले असोज २८ गते एमाले संसदीय दलका उपनेता रामबहादुर मगर र कांग्रेसमा विद्रोह गर्ने ८ मध्ये सांसद शमशेर राईलाई बिनाविभागीय मन्त्री नियुक्त गरी तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।

बाँकी मन्त्रिमण्डल विस्तारको लागि एमालेले मुख्यमन्त्री कार्कीलाई दबाब दिइरहेको छ । त्यसका लागि उसले नामसमेत टुंग्याएर दिइसकेको छ । यसअघिकै सरकारमा रहेका मन्त्रीलाई पुनः सरकारमा सामेल गराउन भनिसकेको नेताहरुले बताएका छन् । यसअघिका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका पालामा पाँचकर्ण राई, तिलकुमार मेन्याङ्बो, बुद्धिकुमार राजभण्डारी, एकराज कार्की, लीलाबल्लभ अधिकारी मन्त्री थिए । 

नेताहरूका अनुसार कोशी प्रदेशको मुख्यमन्त्री बन्दा एमालेले ५ र कांग्रेसले ४ मन्त्रालय लिने सहमति बनेको छ ।  सरकारको नेतृत्व २–२ वर्षमा आलोपालो गर्ने समझदारी छ । विश्वासको मत लिनुभन्दा अघिल्लो दिन  असोज ३० मा मन्त्रिमण्डलका विषयमा यस्तो समझदारी बनेको एमाले नेताहरुको दाबी छ ।
 

यसकारण पनि एमालेले गठबन्धनलाई कोशी सरकारमा सहभागी गराउन चाहेको छैन । र, आइतबारसम्म मन्त्रिपरिषद विस्तार हुने विश्वास लिएको छ ।तर, मुख्यमन्त्री कार्की भने प्रधानमन्त्री पुष्पकमल दाहालकै शैलीमा सहमतिको रटान लगाइरहेका छन् । दाहालले एमालेको साथ लिएर प्रधानमन्त्रीको कुर्सी हात पारिसकेपछि कांग्रेस नेतृत्वको गठबन्धनतिर लागेका थिए । प्रचण्डपथको त्यही अनुशरण कोशीमा केदार कार्कीले गर्दै छन् र एमाले पुनः जिल्लिँदै छ । माओवादीले पनि गठबन्धनलाई साथ नलिए मुख्यमन्त्रीले सरकार चलाउनै नसक्ने भन्दै अप्रत्यक्ष चेतावनी दिइरहेको छ । 

यति हुँदाहुँदै पनि एमाले सरकारबाहिर बसे मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार टिक्न सक्ने अवस्था भने छैन । यसअघि उद्धव कार्कीले झैँ विश्वासको मत प्राप्त गर्न नसकी ढल्ने सम्भावना भएकाले एमालेलाई सहजै किनारामा धकेल्न सम्भव भने देखिँदैन ।