गठबन्धनमा लुम्बिनीको टकराब मधेशमा पोखियो, लुम्बिनीमा जसपाले निहुँ खोजेपछि मधेशमा माओवादीको धम्की

एमाले, माओवादीसहितको गठबन्धनमा अहिले रोचक भइरहेको छ। गठबन्धनमा आवद्ध दलहरुको ध्यान प्रदेश सरकारमा छ। आफूले नेतृत्व नपाएका प्रदेशमा एकले अर्काको खुट्टा तानिरहेका छन्।

लुम्बिनीमा माओवादी नेता जोखबहादुर महरा र मधेशमा जसपा नेता सरोज यादव मुख्यमन्त्री छन्। यी दुबै प्रदेशमा माओवादी र जसपाबीच टकराव छ। लुम्बिनी सरकार गठन भएको १५ दिनमै महराको कुर्सी धरापमा पार्नेगरी जसपाका मन्त्री भण्डारीलाल अहिरले सरकारबाट राजीनामा दिए। यहाँ जसपाका तीन सांसद मात्र छन् तर उसलाई दुई मन्त्रालय चाहिएको छ।

जसपाले मात्र सरकार छाड्दै तत्काल असर त देखिँदैन। तर, यसको असर गम्भीर हुने देखिन्छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिने सहमति भएको छ। यो अवस्थामा महरा नेतृत्वको सरकार संकटमा पर्नेछ। नाउपासँग चार सांसद छन्। नाउपा र जसपा सरकार बाहिर रहे भने महरा अल्पमतमा पर्नेछन्।

जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले सहमतिअनुसार दुई मन्त्रालय नदिएकाले बिहीबार बसेको जसपा लुम्बिनी प्रदेशको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको बताइरहेका छन्। तर, संघीय सरकारमा जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री छन्।

लुम्बिनीमा जसपाले निहुँ खोजेपछि माओवादीले मधेशमा प्रतिउत्तर दिएको छ।

मधेसमा जसपा नेता सरोकुमार यादव नेतृत्वको सरकार छ। माओवादी, एमालेसहितका दल सरकारमा छन्। यसअघि लोसपा पनि सरकारमा थियो। अहिले प्रतिपक्ष बनिसकेको छ। कांग्रेस, लोसपा र जनमत पार्टी मधेसमा वैकल्पिक गठबन्धनको कसरतमा रहेका बेला माओवादीले सरकार छाडेमा मुख्यमन्त्री यादव संकटमा पर्नेछन्। त्यही बुझेको माओवादीले मधेसमा मुख्यमन्त्रीलाई धक्का दिएको छ।

यादवले ११ औँ पटक मन्त्रिपरिषद् विस्तार गरी माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहलाई सरकारमा सामेल गराएका थिए। तर, बिनाविभागीय मन्त्रीको शपथ लिएका नेता साहलाई मुख्यमन्त्री यादवले आइतबार वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकेपछ उनी असन्तुष्ट छन्।  मधेशमा माओवादीले अर्थ मन्त्रालय पाउनुपर्ने अडान राखेको छ।  विश्वासको मत दिनुअघि शक्ति सन्तुलनको हिसाबले एमालेलाई भौतिक पूर्वाधार तथा विकास मन्त्रालय र माओवादीलाई अर्थ मन्त्रालय दिने सहमति भएको दाबी माओवादीको छ। तर, गठबन्धन दलबीच भएको सहमतिविरुद्ध मुख्यमन्त्री गएको माओवादीको दाबी छ।