महिन्द्र रायसँग बाबुरामको विवाद चर्कियो, नेसपा फुट्दै

नेपाल सामाजवादी पार्टी (नेसपा) फुटने निश्चित भएको छ। अध्यक्षद्वय डा.बाबुराम भट्टराई र महिन्द्र राय यादव समूहबीच विवाद चर्किदा पार्टी फुटतिर लागेको हो।

अध्यक्ष भट्टराईले चैत ४ र ५ मा केन्द्रीय समिति बैठक बोलाएका थिए। तर, अर्काे अध्यक्ष यादवले भने आधिकारिक नभएको भन्दै आपत्ति जनाएका छन्।

भट्टराई पक्षले फागुन २३ मा भएको कार्यकारीणी बैठकले केन्द्रीय समिति बोलाउने निर्णय गरेको जनाए पनि यादव समूहले मानेको छैन।

रायको सहमतिबिनै एक पक्षीय रुपमा बैठक बोलाएको भन्दै महासचिव रमेशप्रसाद यादवले वक्तव्य जारी गरेका छन्। ‘नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक मिति २०८० चैत्र ४ र केन्द्रीय समितिको चैत्र ५ गते बोलाइएको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ। अध्यक्षद्वयको सहमतिमा बोलाउनुपर्ने बैठक अध्यक्ष महिन्द्र राय यादवको सहमतिबिनै एकपक्षीय रूपमा अध्यक्ष डा। बाबुराम भट्टराईको निर्देशनमा बोलाइएकोले ४ र ५ गते बोलाइएको उक्त बैठक नेपाल समाजवादी पार्टीको बैठक नभएको जानकारी गराउँदछु,’ विज्ञप्तिमा भनिएको छ।

नयाँ सत्ता गठबन्धन बनेपछि यादव र भट्टराई पक्षबीचको विवाद बढेको छ । यादव पक्ष माओवादीसँग पार्टी एकता गर्ने पक्षमा रहे पनि भट्टराई विपक्षमा छन् । केही दिनअगाडि भट्टराईले एकल चुनाव चिह्नमा चुनाव लडेर जितेका आफ्ना पार्टीका सांसद र माओवादी केन्द्रका सांसदलाई अलग गरिदिन भन्दै भट्टराईले निर्वाचन आयोगमा निवेदन नै दिएका थिए। नेसपाका अध्यक्ष महिन्द्र राय यादव माओवादीको चुनाव चिह्नमा जितेका सांसद हुन् । 
माओवादीको चुनाव चिह्न लिएर संघमा दुई र प्रदेशमा दुई सांसद निर्वाचित भएका छन् । संघमा सर्लाही २ बाट यादव, बागमति प्रदेशमा सिन्धुली २ (२) बाट गंगानारायण श्रेष्ठ र गोरखा २ (२) बाट फणिन्द्र देवकोटा निर्वाचित भएका थिए । संघको समानुपातिकमा उमरावती देवी निर्वाचित भएकी थिइन् ।

सांसद रायले आफू माओवादीमै रहने पत्र संसद् सचिवालयलाई पठाइसकेका छन् ।बागमती सरकारमा आन्तरिक मामिलामन्त्री गंगानारायाण श्रेष्ठले पनि आफू माओवादीमै रहने बताउँदै आएका छन् । बागमतीमा गठबन्धनको सरकार रहने भएकाले उनी बाहिरिन चाहेका छैनन्। 

३० भदौमा एकताका लागि भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देवप्रसाद गुरुङको हस्ताक्षर रहेको पत्र अध्यक्ष यादवलाई पठाएका थिए। यहाँबाट नेसपामा विवाद सुरु भएको हो । माओवादीले पत्र पठाउँदा अध्यक्ष भट्टराई प्रगतिशील नेपाली समाज भारतले आयोजना गरेको कार्यक्रममा भाग लिन गएका थिए।  माओवादीले यादवका नाममा पत्र पठाएपछि भट्टराई पक्षका नेताहरूले प्रचण्डको ‘षड्यन्त्र’ भनेका थिए । 
भट्टराई नेपाली राजनीतिमा असफलमध्येका नेता मानिन्छन् । कुनै बेला माओवादीका शक्तिशाी नेता रहेका भट्टराईले संविधान जारी भएपछि माओवादी छाडेका थिए। 
त्यतिखेर उनी नयाँ शक्ति पार्टी खोेलेर लागे। तर, यो पार्टी धेरै चलेन। पछि उनले मधेसवादी दलसँग एकता गरे। पछिल्लो पटक जसपासँग फुटेर नेसपा खोलेका थिए। तर, यो पार्टी पनि फुट्ने निश्चित छ।