माओवादीलाई फकाउन गगनको प्रतिवेदन देउवाले सच्याउने ?

राष्ट्रिय सभा अध्यक्ष कांग्रेसले नपाउने लगभग पक्का भएको छ। माओवादी केन्द्रले स्थायी समितिको बैठकबाटै आफै उम्मेदवारी दिने निर्णय गरिसकेको छ । राष्ट्रिय सभाको चुनावअघि कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने सहमति गठबन्धनमा भएको चर्चा कांग्रेसले गरेको थियो । केही माओवादी नेताले त्यसबेलै पनि त्यस्तो सहमति नभएको भनी सार्वजनिकरुपमा प्रतिवाद नगरेका होइनन् । तर कांग्रेसीहरु राष्टिय सभा अध्यक्ष पाइने भो भनेर उत्साहित थिए ।

तर अहिले अध्यक्षमा माओवादीले दाबी गरेपछि कांग्रेस जिल्लिन पुगेको छ । माओवादीलाई एमालेले साथ दिने भएको छ । जसरी माओवादीको मुखैमा आएको मुख्यमन्त्री पद कोसीमा कांग्रेसले एमालेसँग मिलेर हात पारेको थियो, ठीक त्यही शैलीमा माओवादीले एमालेसँग सहकार्य गर्न खोजेको छ । 

एमालेसँग मिलेर अध्यक्ष पद माओवादीले हात पारेपछि कांग्रेसका लागि त्यो स्वीकार्नुको विकल्प हुने छैन । जसरी कोसीमा केदार कार्कीलाई विश्वासको मत दिनुको विकल्प माओवादीसँग रहेन।

राष्ट्रिय सभाको अध्यक्षमै चित्त दुखाएर कांग्रेसले माओवादीको साथ छाडेमा देउवाको मुखैमा आउन लागेको प्रधानमन्त्रीको पद पनि गुम्नेछ । देउवालाई प्रधानमन्त्री पद सहजै सुम्पिने मुडमा यसपालि प्रचण्ड देखिएका छैनन् । यसपछि अब प्रधानमन्त्री पद पाउने सम्भावना लगभग सकिएका कारण पनि यसपालि उनी कांग्रेस र एमाले दुवैलाई उत्तिकै दबाबमा राखेर आफ्नो राजपाठ लम्ब्याउने दाउमा प्रचण्ड लागेका छन् । यसैले राष्ट्रिय सभा अध्यक्षदेखि नै कांग्रेस अब जिल्लिन थाल्नेछ । 

यति हुँदाहुँदै पनि कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादीलाई फकाउने प्रयास गर्न छाडेका छैनन् । कोसी प्रदेशको मुख्यमन्त्री र कोसीको राष्ट्रिय सभा सदस्यको चुनावमा कांग्रेसबाट धोका खाएको माओवादीले महासमिति बैठकमा पारित भएका दस्तावेजलाई लिएर निहुँ खोजिरहेको छ । 

कांग्रेसको ७ देखि १० फागुनमा भएको महासमिति बैठकबाट पारित गगन थापाको प्रतिवेदनमा माओवादीसँगको गठबन्धनको अवमूल्यन गरिएको छ । विगतमा गल्ती भएको र भविष्यमा त्यो गल्ती नदोहोर्‍याउने संकल्प गरिएको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्तावमा हिन्दु राष्ट्रको विषय र माओवादी 'जनयुद्ध'लाई 'हिंसात्मक द्वन्द्व' भनिएको विषयलाई लिएर पनि माओवादीको आपत्ति छ । हिन्दु राष्ट्रको एजेन्डा पार्टीले अस्वीकार गरे पनि हजारभन्दा बढी महासमिति सदस्यले हस्ताक्षर गरेर नेतृत्वलाई प्रतिवेदन बुझाएर दबाब दिए ।

यसबारे प्रचण्डले आफ्नो पार्टीको स्थायी कमिटी बैठकमा प्रश्न उठाएका छन् । ‘संविधानमा उल्लेख धर्मनिरपेक्षताको विषयमा पनि कांग्रेस बैठकमा जसरी चर्चा र परिचर्चा भए, जनयुद्धको बारेमा पनि अहिले बेमौसमको बाजा बजाएर किन बोलेको भनेर प्रश्न त उठेको छ तर, त्यसले तत्काल तात्विक रूपले ठूलो अन्तर र असर परिहाल्छ भन्ने ठाउँमा हामी पुगेको स्थिति छैन,’ प्रचण्डले स्थायी कमिटी बैठकमा भनेका छन् । 

यस्ता असन्तुष्टिको विषयमा माओवादीले राष्ट्रियसभा अध्यक्ष दाबी गरेर कांग्रेसलाई नियन्त्रणमा राख्ने प्रयास गरेको छ । यता कांग्रेस सभापति देउवा भने प्रचण्डलाई फकाउन आफ्ना पार्टीबाट पारित भइसकेका प्रतिवेदन नै सच्याउनतिर लागेका छन् । प्रचण्डलाई फकाउन उनी वयोवृद्ध उमेरमा भरतपुर पुगेर रेनु दाहाल नेतृत्वको महानगरमा भाषण गरे ।

गठबन्धन टुट्दैन र टुट्न दिनुहुँदैन भनेर सबैलाई आश्वस्त पार्न खोजे । तर अर्को पार्टीलाई फकाउने क्रममा आफ्नै पार्टीका सबैजसो पदाधिकारी चिढिने अवस्थामा देउवा थप संकटमा फस्न पनि सक्नेछन् । जसरी पूर्वबाट एमाले र कांग्रेसबीच समझदारी र सहयात्रा विकास हुँदै आएको छ, त्यसले राष्ट्रिय रूप लिन नसक्ला र ? यसको सही उत्तर भने अब शेखर कोइरालाभन्दा बालकृष्ण खाणले नै दिन सक्छन् । किनभने खाणले अब खुमबहादुरको अवतार देखाउनुपर्ने बाध्यता छ ।

यो पनि पढ्नुहोस्:

माओवादीसामु किन लत्रिरहेको छ कांग्रेस ?