वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

बहुमत नभएका प्रदेशमा पनि चार दलले गरे मुख्यमन्त्री पद बाँडफाँट, कोशी, गण्डकी र सुदूरपश्चिममा छैन सजिलो

सत्ता गठबन्धनका चार दलले सात प्रदेश सरकारमा मुख्यमन्त्री पद बाँडफाट गरेका छन्।  प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, स्वास्थ्यमन्त्रीसमेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबारको बैठकले  बागमती र लुम्बिनीमा माओवादीले मुख्यमन्त्री लिने सहमति भएको छ।

त्यस्तै, कोशी, गण्डकी र कर्णालीमा नेतृत्व एमालेलाई दिने सहमति भएको छ। सुदूरपश्चिम प्रदेशको नेतृत्व नागरिक उन्मुक्ति र एकीकृत समाजवादीलाई आलोपालो गर्ने सहमति भएको छ। मधेस प्रदेशको मुख्यमन्त्री जसपालाई दिने सहमति भइसकेको छ ।

https://barnanmedia.com/news/detail/173866/

इलाम र बझाङमा आज मतदान, आजै गणना हुने

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि शनिबार मतदान हुँदैछ ।

इलाम–२ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ (१) मा प्रदेश सभा सदस्य पदका लागि मतदान हुने छ। मतदान बिहान ७ बजेबाट सुरु भई बेलुकी ५ बजेसम्म हुने छ ।मतदानको पूर्वसन्ध्यामा निर्वाचन आयोगले मतको महत्वलाई बुझेर आफूले छानेको उम्मेदवारको चिह्नमा निर्धक्क भई मतदान गर्न सम्पूर्ण मतदातामा आह्वान गरेको छ।

नेपाल प्रहरीका ७० जना हवल्दार वरिष्ठ हवल्दारमा बढुवा

 नेपाल प्रहरीका ७० जना हवल्दार वरिष्ठ हवल्दारमा बढुवा भएका छन्।

प्रहरी उपरीक्षकको शुक्रबारको निर्णय अनुसार प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह, संचार तर्फका हवल्दारहरुलाई बढुवा गरिएको हो।

https://barnanmedia.com/news/detail/173870/

इलाम -२ र बझाङ मा मतदान सुरु

इलाम -२ प्रतिनिधिसभा सदस्य र बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (१) मा मतदान सुरु भएको छ। निर्वाचन आयोगका अनुसार आज बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ। 

आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

अमेरिकाले चीनलाई के चेतावनी दियाे ?

युक्रेनमाथिको आक्रमणमा रुसलाई सहयोग गरेको आरोप लगाउँदै अमेरिकाले चीनलाई कारबाही गर्न चेतावनी दिएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यदि चीनले युक्रेनमाथि आक्रमण गर्न प्रयोग भइरहेको सामान रुसलाई उपलब्ध गराउन नरोकेमा वाशिङ्टनले कडा कारबाही गर्ने बताएका छन् ।

किन दिए सर्वाेच्चका रजिष्ट्रार पन्थीले राजीनामा ?

इमान्दार तर सेवाग्राहीप्रति पूर्वाग्रही र सन्की व्यक्तिको रुपमा परिचित सर्वाेच्च अदालतका रजिष्ट्रार नारायण प्रसाद पन्थीले दिएको राजीनामा नेपाल सरकारले स्वीकृत गरिसकेको छ ।

उच्च अदालतको न्यायाधीश अफर गर्दा समेत अस्वीकार गरेका पन्थीले आफू चाकडी चाप्लुसीको पदमा बसेर काम गर्दिन भन्दै राजीनामा दिएको न्यायवृत्तमा चर्चाको विषय बनेको छ ।इमान्दार हो भने किन पन्थीलाई थप सेवा गर्ने अवसर दिइएन र किन ५५ बर्षकै उमेरमा राजीनामा गर्ने वातावरण तयार गरियो ? के न्यायालयमा इमान्दारहरुको भविष्य सकिएको हो भन्ने चर्चा चलिरहेको छ । न्यायालय बद्नाम भइरहेको सन्दर्भमा इमान्दार व्यक्तिलाई पाखा लगाइएको चर्चा पनि उत्तिकै छ ।

https://barnanmedia.com/news/detail/173880/

इलाम र बझाङमा उपनिर्वाचनको मतदान ५ बजेसम्म जारी रहने

निर्वाचन आयोगले बिहान ७ बजेदेखि मतदान शुरु भएको र साँझ ५ बजेसम्म मतदान हुने जानकारी दिएको छ । इलाम–२ मा एमालेबाट सुहाङ नेम्बाङ, कांग्रेसबाट डम्बरबहादुर खड्का, रास्वपाबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिम उम्मेदवार रहनुभएको छ ।

त्यस्तै एकीकृत समाजवादीका जितबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली चुनावी मैदानमा हुनुहुन्छ ।

लगानी सम्मेलनको पूर्वसन्ध्यामा अघि बढ्यो नेपालको सार्वभौम साख मूल्याङ्कन प्रक्रिया

सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) को प्रक्रिया अघि बढाएको छ ।  

मुलुकको वित्तिय अवस्था तथा साख क्षमताको चित्र देखिने विभिन्न आधारमध्ये सोभरेन क्रेडिट रेटिङ मुख्य आधार हो । यस्तै मुलुकको लगानी जोखिमको अवस्थाबारे यथार्थ जानकारी लिन सोभरेयन क्रेडिट रेटिङ गर्ने गरिन्छ । वैदेशिक लगानीकर्ताले लगानीको पूर्वसर्तका रुपमा सोभरेन क्रेडिट रेटिङलाई लिने गरेका छन् । क्रेडिङ रेटिङ नहुँदा अन्तर्राष्ट्रिय विकास साझेदारबाट नेपालले हालसम्म ठूला पूर्वाधारका लागि व्यापारिक ऋण लिन सकेको छैन । 

https://barnanmedia.com/news/detail/173902/

वेस्टइन्डिज ए विरुद्ध नेपाललाई दोस्रो सफलता

दोस्रो सफलता नेपालले रनआउटको मार्फत गरेको हो । वेस्टइन्डिजका आन्द्रे फ्लेचर ५ बलमा १३ रन बनाएका बेला रनआउट भएका हुन् । उनलाई कप्तान रोहित पौडेल र विकेटकिपर अनिल साहले रनआउट गरेका थिए ।  त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले पहिलो ओभरको अन्तिम बलमा विकेट गुमाएको हो । लामोसमयपछि कमब्याक गरेका कमलसिंह ऐरीले पहिलो ओभर लिएर आएका थिए ।

सुरुमै नो बल गरेपछि लगातार दुई पटक वाइड बल गरेका थिए । दोस्रो बलमा चौका खाएका थिए भने त्यसपछिको बलमा एलिक एथनाजेबाट छक्काको सामना गरेका थिए । त्यसपछि २ रन जोडेका एथानाजे पहिलो ओभरको अन्तिम बलमा कमलसिंह ऐरीबाट बोल्ड आउट भएका थिए ।

रुसी सेनामा भर्ति भएका यहाँका नौ युवा अझै सम्पर्कविहीन

 रुसी सेनामा भर्ति भएका यहाँका नौ युवा अझै परिवारको सम्पर्कमा नआएपछि परिवारजन शोक र चिन्तामा परेका छन्। स्वदेशमा केही गर्ने विकल्प नभएपछि रुसी सेनामा भर्ती भएका आफ्ना सन्तान सम्पर्कविहीन भएपछि अभिभावक लगायतका परिवार चिन्तामा परेका हुन्।

धन कमाएर सुखले पाल्छु भन्ने सपना देखाएर रुसी सेनामा भर्ती भएको छोरा विगत चार महिनादेखि सम्पर्कविहीन भएपछि दिनरातै रोएर बित्ने गरेको व्यास नगरपालिका–९ मा रहेकीआमाले बताइन्। ‘रुसी सेनामा भर्ती भएको छोराले सुरुमा चिन्ता नगर्न भनेको थियो”, नाम गोप्य राखिदिन आग्रह गर्दै आमाले भन्नुभयो, “छोरा सम्पर्कविहीन भएपछि शोकले सुत्न पनि सकिएको छैन।’

धनुषाका एक सय ७३ साना उद्योग तथा व्यवसाय बन्द

 आर्थिक मन्दीका कारण धनुषामा चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा एक सय ७३ उद्योग तथा व्यवसाय बन्द भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार उक्त उद्योग तथा व्यवसाय बन्द भएका हुन् । ती उद्योगमा कार्यरत करिब दुई हजार मजदुर बेरोजगार भएका छन् ।  उद्योग बन्द हुँदा करोडौँ घाटा भएको छ ।

बन्दीपुरमा मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम

 बन्दीपुर गाउँपालिकामा  ‘मुख्यमन्त्री नवप्रवर्तन’ कार्यक्रम सुरु गरिएको छ । उक्त कार्यक्रम अन्तर्गत पर्यटन प्रवर्द्धनको काम गर्न गण्डकी प्रदेश सरकारले गाउँपालिकालाई परिपत्र गरेको छ ।

‘पहाडकी रानी’ उपनाउँले परिचित यस क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भौतिक संरचना निर्माण गर्न लागेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो । गत माघ २६ गते गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालय पोखरा र गाउँपालिकाबीच सम्झौता भएको थियो । उहाँले भन्नुभयो, “प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा यस क्षेत्रका पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने गरी काम गर्न लागेका हौँ ।” 

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक

‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे टु प्रोस्पेरिटी’ विषयक प्राविधिक सत्रका वक्ताहरुले सरकारले राखेको विद्युत् उत्पादनको लक्ष्य प्राप्ति गर्न १२ वर्षमा रु ६१ खर्ब लगानी आवश्यक रहेको बताउनुभएको छ ।  

हिमालयन हाइड्रो एक्स्पो २०२४ को अन्तिम प्राविधिक सत्रमा विद्युत् उत्पादनको लक्ष्य र लगानीको उपलब्धताबारे छलफल भएको थियो । उक्त सत्रका वक्ताहरुले १२ वर्षमा देशभित्रबाट अधिकतम रु २० खर्ब मात्रै ऊर्जा क्षेत्रमा लगानी हुन सक्ने बताउनुभयो । बाँकी लगानी कसरी जुटाउने भन्ने विषयमा छलफल भएको हो ।

बझाङमा ४३ प्रतिशत मतदान

 

 बझाङ क्षेत्र नं १ प्रदेशसभा (क) को उपनिर्वाचनमा आज दिउँसो ३ः२० बजेसम्ममा ४३ प्रतिशत मतदान भएको छ ।  

    मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार हालसम्ममा २६ हजार पाँच सय मत खसेको छ । मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् । प्रदेशसभा (क) का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृत लामिछानेले राससलाई जानकारी दिनुभयो ।

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित

कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई चार विकेटले पराजित गरेको हो । 

जितका लागि दुई सय पाँच रनको लक्ष्य पच्छाएको नेपाल दुई बल बाँकी छँदै ६ विकेट गुमाएर विजयी भएको हो । नेपालका लागि कप्तान पौडेलले सर्वाधिक एक सय १२ रनको योगदान दिए । उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरे । यसैगरी दिपेन्द्रसिंह ऐरीले २४, कुशल भुर्तेलले १६, कुशल मल्लले १६, गुल्सनकुमार झाले अविजित नौ तथा विवेक यादवले सात रन जोडे ।