मुख्यमन्त्रीको पिए हुँ’ भनेर ठग्ने युवक काठमाडौँबाट पक्राउ

काठमाडौँ । कास्कीको पोखरा क्षेत्रमा ‘मुख्यमन्त्रीको पिए हुँ’ भनेर ठग्ने युवकलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर–३१ घर भएका सुवास सुवेदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाले रातोपाटीलाई बताए । २८ वर्षीय सुवेदीलाई आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

वैशाख २० मा सुवेदीले पोखरास्थित एउटा टुर्स एण्ड ट्राभल्स प्रालीमा फोन गरेर ‘म मुख्यमन्त्रीको पिए हुँ, तुरुन्तै मलाई पोखराबाट काठमाडौँ र काठमाडौँबाट नेपालगञ्जको हवाई टिकट पठाइदिनु भनेर फोन गरेका थिए ।’

टिकट काट्न लगाएर यात्रा गरेपनि उनले ट्राभल्सलाई पैसा नदिएर ठगेका हुन् । वडा प्रहरी कार्यालय बैदामका डीएसपीलाई पनि उनले फोन गरेर ‘बालुवाटारबाट बोलेको हुँ’ भन्दै अभद्र व्यवहारको मुद्दा बुझाउन निर्देशन गरेको खुलेको छ । 

पोखरा क्षेत्रमा कास्कीको प्रमुख जिल्ला अधिकारीलाई मैले सरुवा गरेर ल्याएको हुँ भन्दै हिँड्ने र ठुला मान्छे चिनेको धाक लगाएर ठग्ने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । आरोपीविरुद्ध २ वटा ठगी मुद्दाको जोहरी परेको छ । आरोपीविरुद्ध वडा प्रहरी कार्यालय बैदामले अनुसन्धान गरिरहेको एसपी थापाले जानकारी दिए ।