बहुमत नभएका प्रदेशमा पनि चार दलले गरे मुख्यमन्त्री पद बाँडफाँट, कोशी, गण्डकी र सुदूरपश्चिममा छैन सजिलो

सत्ता गठबन्धनका चार दलले सात प्रदेश सरकारमा मुख्यमन्त्री पद बाँडफाट गरेका छन्।  प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, स्वास्थ्यमन्त्रीसमेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबारको बैठकले  बागमती र लुम्बिनीमा माओवादीले मुख्यमन्त्री लिने सहमति भएको छ।

त्यस्तै, कोशी, गण्डकी र कर्णालीमा नेतृत्व एमालेलाई दिने सहमति भएको छ। सुदूरपश्चिम प्रदेशको नेतृत्व नागरिक उन्मुक्ति र एकीकृत समाजवादीलाई आलोपालो गर्ने सहमति भएको छ। मधेस प्रदेशको मुख्यमन्त्री जसपालाई दिने सहमति भइसकेको छ ।

गठबन्धनले सातै प्रदेशमा मुख्यमन्त्री पद बाँडफाँट गरे पनि कोशी, गण्डकी र सुदूरपश्चिममा नयाँ सरकार बनाउन सहज छैन । यी तीनै प्रदेशमा कांग्रेसको सरकार छ। कोशीमा कांग्रेस नेता केदार कार्की मुख्यमन्त्री छन्। उनी सरकार गठनका लागि विकल्पका अन्तिम विकल्पबाट मुख्यमन्त्री बनेका हुन्। यदी गठबन्धनले नयाँ सरकार गठनको कोशिस गरेर समर्थन फिर्ता लिइ विश्वासको मत लिनुपर्ने स्थिति आएमा उनले संसद भंग गर्न सक्नेछन्। यद्यपि, कोशीमा संसद भंग नहुने भएमा गठबन्धनको स्पष्ट बहुमत छ ।

गण्डकीमा पनि गठबन्धनलाई सरकार बनाउन सहज छैन। पहिलो त गण्डकीमा राप्रपा निर्णायक छ, उसले जसलाई समर्थन गर्यो, त्यसैको नेतृत्वमा सरकार बन्छ । राप्रपाले गठबन्धनलाई नसघाउने निर्णय गरिसकेको छ, यो अवस्था बुझेका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिने छन्। उनले राजीनामा दिएपछि प्रदेश प्रमुखबाट नयाँ सरकार गठनका लागि आह्वान हुनेछ। तर, नयाँ सरकार बनाउन कुनै पनि दल वा एकभन्दा बढी दल सहभागी भएर पनि बहुमत पुग्दैन। यो स्थितिमा पहिलो दल रहेको कांग्रेसले नेतृत्व पाउनेछ। र, पाण्डेले एक महिनासम्म अल्पमतको सरकार चलाउन पाउनेछन्। त्यसपनि समर्थन जुटाउन नसके संसद विघटन विकल्प हुनेछ।   

अहिले जटिल बनेको प्रदेश सुदूरपश्चिम हो। त्यहाँ कांग्रेस नेता कमलबहादुर शाह नेतृत्वको सरकार छ। तर, निर्णायक रहेको नागरिक उन्मुक्तिभित्र विवाद छ। नागरिक उन्मुक्ति ५ मन्त्रीसहित सरकारमा छ। यदी उन्मुक्तिले समर्थन फिर्ता लिएमा सरकार ढल्नेछ। तर, उन्मुक्तिभित्रको विवादका कारण पार्टीमा कुनै निर्णय भएको छैन।

यद्यपि, अध्यक्ष रञ्जिता श्रेष्ठले गठबन्धनलाई नै सघाउने बाचा प्रधानमन्त्री प्रचण्डलाई दिएकी छन्। त्यहाँ एकीकृत समाजवादी र उन्मुक्तिले आलोपालो सरकार चलाउने स्थिति हुनसक्छ।