संसद् भवन निर्माणमा ढिलाइ : दैनिक एक करोड जरिवाना तिराउने सभामुखको चेतावनी

 सभामुख डोल प्रसाद अर्यालले सिंहदरबारमा निर्माणको अन्तिम चरणमा रहेको नयाँ संसद् हलको स्थलगत निरीक्षण गर्दै निर्माण कार्यमा भएको ढिलाइप्रति असन्तुष्टि जनाएका छन् ।

संसद् सचिवालयका कर्मचारीहरुसहित निरीक्षणमा पुगेका सभामुख अर्यालले निर्माण पक्षसँग हल सञ्चालनयोग्य हुने निश्चित मिति तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन् । उनले तोकिएको समयभित्र काम सम्पन्न नभए दैनिक एक करोड रुपैयाँसम्म जरिवाना लगाउने चेतावनी समेत दिएका छन् ।

गत जेठ १५ गते यही हलबाट आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने तयारी गरिए पनि निर्माण कार्य समयमै सम्पन्न हुन नसकेपछि बजेट पुरानै संसद् भवनबाट प्रस्तुत गरिएको थियो । निर्माण सम्पन्न हुने भन्दै पटक–पटक प्रतिबद्धता जनाइए पनि हालसम्म संसद् हल पूर्ण रूपमा तयार हुन नसकेको भन्दै सभामुखले आपत्ति जनाएका हुन् ।

निरीक्षणका क्रममा उनले सहरी विकास मन्त्री र मन्त्रालयका सचिवलाई तत्काल बोलाएर निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएका थिए। निर्माण कम्पनी र सम्बन्धित निकायप्रति आक्रोश व्यक्त गर्दै सभामुख अर्यालले अब थप बहाना स्वीकार्य नहुने स्पष्ट पारे ।

उनले भने, “रातदिन काम गरेर भए पनि बोलेको कुरा पूरा गर्नुपर्छ। बारम्बार बहाना बनाइरहनुभएको छ । तपाईंहरूले हामीलाई नटेरेको होला, तर यो संसद् र राष्ट्रप्रतिको अपमान हो । अब मलाई स्पष्ट निष्कर्ष चाहिन्छ ।”

सभामुख अर्यालले संसद् भवन निर्माणमा भएको ढिलाइले राज्यको प्रतिष्ठामै असर पुगेको उल्लेख गर्दै तोकिएको समयभित्र काम सम्पन्न गर्न सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन् ।