विश्वकपमा जर्मनीको शानदार सुरुवात, कुराकाओ ७–१ ले पराजित

फिफा विश्वकप २०२६ मा चारपटकको च्याम्पियन जर्मनीले शानदार सुरुवात गरेको छ। 

ग्रुप ‘ई’को पहिलो खेलमा जर्मनीले पहिलोपटक विश्वकपमा सहभागी कुराकाओलाई ७–१ गोल अन्तरले पराजित गरेको हो। 

योसँगै जर्मनीले फराकिलो गोल अन्तरसहित ३ अंक जोडेको  छ। जर्मनीका लागि छैठौँ मिनेटमै फेलिक्स मेचाले गोल गरेका थिए। तर २१औँ मिनेटमा कुराकाओका लिवाो कमेनेन्सियाले गोल फर्काउँदै बराबरीमा ल्याए पनि त्यसपछि कुराकाओ खेलमा फर्किनै सकेन। 

३८औँ मिनेटमा निको स्कलट्टरबेकले २–१ को अग्रता बनाए। पहिलो हाफको अतिरिक्त समयमा पाएको पेनाल्टीलाई काई हावर्ट्जले गोलमा परिणत गरे। पहिलो हाफमै ३–१ को अग्रता लिएको जर्मनी त्यसपछि खेलमा हावी भयो। 

जमल मुसियलाले ४७औँ मिनेटमा गोल थप्दा नाथानियल ब्राउनले ६८ र डेनिज अनडले ७८औँ मिनेटमा गोल गरे। काई हावर्ट्जले ८८औँ मिनेटमा दोस्रो गोल गर्दा जर्मनी ७–१ ले विजयी भयो। 

यो खेलमा जर्मनीले २६ शट्स हान्दा ११ वटा निशानामा प्रहार ग¥यो। ६५ प्रतिशत पोसेसन लिएको जर्मनीले ५९९ पास खेलेको थियो। जसमध्ये ८९ प्रतिशत पास सफल थियो। यता कुराकाओले ६ शट्स हान्दा दुईवटा निशानामा परेको थियो। जसमा १ गोल गर्न सफल भयो। ३५ प्रतिशत मात्र पोसेसन लिएको उसले २८९ पास खेलेको थियो। जसमा ८४ प्रतिशत सफल रह्यो। 

जर्मनीले १६ र कुराकाओले १० वटा फल खेलेका थिए। कुनै पनि कार्ड प्रयोग नभएको खेलमा जर्मनीले ८ वटा र कुराकाओले एउटा कर्नर पाए। खेलमा एउटा मात्र अफसाइड भएको थियो।