नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
अत्यधिक गर्मी हुने सहर नेपालगन्जमा भूमिगत पानीको स्रोत जोगाउन तालतलैयाको संरक्षण गर्नुपर्ने बेला यहाँका पुराना ऐतिहासिक तलाउहरू मासिने क्रम बढेको छ ।
नेपालगन्ज उपमहानगरपालिका–८ रङ्गशाला नजिकै रहेको ऐतिहासिक धोबीताल संरक्षणको अभावमा यतिबेला सङ्कटमा परेको छ । कुनै समय नेपालगन्जका धोबी समुदायले कपडा धुने र स्थानीयले सिङ्गडाखेती गर्ने यो ताल पछिल्लो समय संरक्षण नहुँदा पुरिँदै गएको छ ।
करिब छ कट्ठा क्षेत्रफलमा फैलिएको यो तालमा पछिल्लो समय माटो पटान गर्ने र वडाभित्रको फोहर जम्मा गरेर थुपार्ने काम भइरहेको छ । तालमा फोहर थुपारिएपछि निस्किएको दुर्गन्धका कारण आसपासका बासिन्दाको स्वास्थ्यमा गम्भीर असर परेको स्थानीय उषाकुमारी खड्काले बताउनुभयो ।
“केही वर्षअघिसम्म तालभरि पानी भरिन्थ्यो, लुगा धुने, सिङ्गडाखेती गर्ने काम हुन्थ्यो”, खड्काले विगतलाई सम्झिँदै भन्नुभयो, “अहिले तालको बिजोग भएको छ, घरै अगाडि रहेको तालमा फोहर फालेर दुर्गन्धले बस्नै कठिन भइरहेको छ ।”
उपमहानगर र वडा कार्यालयले पटकपटक आग्रह गर्दा पनि फोहर फाल्ने काम नरोकिएको र घरभित्रै बस्न नसक्ने अवस्था आएको उहाँको गुनासो छ । तलाउलाई माटोले पुरेर अहिले तरकारी व्यापारीले मालवाहक साधन पार्किङस्थल बनाएका छन् ।
नेपालगन्जका अन्य वडामा पनि प्राकृतिक तालहरू मासेर भौतिक संरचना बनाउने कार्य भइरहेको छ । गगनगन्जको भगवान तलाउ मासेर स्वास्थ्यचौकी बनाइएको छ भने हनुमानगढी छेउको तलाउमा १०८ फिटे हनुमानको मूर्ति निर्माण भइरहेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले प्राकृतिक तालतलैया संरक्षणमा आफूले ध्यान दिँदै आएको बताउनुभयो । उहाँले धोबीताल नपुर्न र त्यहाँ फोहर नफाल्न वडा कार्यालयलाई निर्देशन दिएको बताउनुभयो । उहाँले स्थानीयको मागलाई कदर गर्दै आगामी आर्थिक वर्षको बजेटमा धोबीताल संरक्षणका लागि रकम व्यवस्था गर्ने आश्वासनसमेत दिनुभएको छ ।
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
विश्लेषक अर्जुन प्रसाईको विवादास्पद टिप्पणी, ओलीमाथि बालेन शाहलाई धम्क्याउने शै…
बालेन सरकारको नियुक्तिमा सर्वोच्चको ठूलो हस्तक्षेप, वायु सेवा निगमको सञ्चालक स…
एमालेभित्र नेतृत्व विवाद चर्कियो, ८० प्रतिशत नेताको निष्कर्ष– ‘यही नेतृत्वमा पा…
अमेरिका–इरान ‘शान्ति सम्झौता’ घोषणा, होर्मुज जलमार्ग पुनः खुल्ने ट्रम्पको दाबी
इतिहासकै ठूलो वित्तीय अपराधको मुद्दा, १ खर्ब ५ अर्ब रुपैयाँ बिगो दाबी
केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
प्रतिक्रिया