पोखराबाट दुबई उडानको टिकट बुकिङ खुल्यो

फ्लाइ दुबईले पोखरा–दुबई उडानको अनुमति पाएसँगै टिकट बुकिङ खुला गरेको छ। आगामी २३ सेप्टेम्बर २०२६ देखि सञ्चालन हुने उक्त उडानका लागि बुकिङ खुला गरिएको हो ।

३ वर्षअघि सन् २०२३ जनवरी १ मा उद्घाटन भए पनि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान प्रभावकारी बनाउन सकेको थिएन । हिमालय एयरलाइन्सले पोखरा–ल्हासा १ वर्ष उडाएपछि घाटा लागेको भन्दै बन्द गरेको छ । २०२५ को मार्चदेखि २०२६ को मार्चसम्म उडाएर उक्त रुटमा उडान बन्द भएको हो।

तर, दुबईमा भने उडानले निरन्तरता पाउने विश्वास व्यवसायीहरूको छ । इच्छुक उडान हुने निश्चित भएसँगै यात्रुहरूले सम्बन्धित वायुसेवा कम्पनीको आधिकारिक वेबसाइट तथा नजिकको ट्राभल एजेन्सीमार्फत टिकट बुक गर्न सक्ने छन्। 

पोखराबाट दुबईको नियमित हवाई सेवा सञ्चालनसँगै पर्यटन प्रवर्द्धन, व्यापार विस्तार, वैदेशिक रोजगारी तथा अन्तर्राष्ट्रिय आवागमनमा नयाँ अवसर सिर्जना हुने पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारयण श्रेष्ठ बताउँछन्।

पहिलो चरणमा वायुसेवा कम्पनीले पोखरा दुबईको टिकट दर ५७ हजार ४ सय ४४ रुपैयाँ तोकेको छ । तर प्रवर्द्धनात्मक दर भने केही दिनमा सार्वजनिक हुने श्रेष्ठले जानकारी दिए ।

‘यो गन्तव्य दुबई मात्रै होइन, दुबई हुँदै विश्वका विभिन्न मुलुकमा सहज हवाई पहुँच विस्तार हुने माध्यम पनि हो,’ उनले भने, ‘अरू देशहरूमा भन्दा दुबई उडान बढी व्यावसायिक हुने हाम्रो विश्वास छ ।’ 

उनले दुबई उडानका लागि पोखरेली व्यवसायीहरूले समेत ग्राहकको खोजी गर्ने बताएका छन् । यो पोखराबाट हवाई सेवा विस्तार मात्र नभई पोखराको अन्तर्राष्ट्रिय पहिचानलाई थप सुदृढ बनाउने कदम पनि भएको उनले सुनाए।

२०३२ सालमै पोखरा विमानस्थल निर्माणको जग्गा अधिग्रहण भएको थियो । तर, राजनीतिक खिचातानीले लामो समयपछि मात्रै निर्माण सुरु भयो । 

निर्माण भएर पनि भूराजनीतिको चपेटामा फसेको पोखरा विमानस्थलबाट अपेक्षा गरेअनुसार अन्तर्राष्ट्रिय उडान भर्न पाएको छैन । यसअघि चीन, भारत र भुटानका गन्तव्यमा चार्टर उडान भएका छन्। 

दुबईका लागि नियमित उडान सुरु हुनु पोखरा, गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन, व्यापार तथा आर्थिक विकासका लागि ऐतिहासिक उपलब्धि हुने व्यवसायीहरूको तर्क छ।