प्रधानन्यायाधीशमा शर्मालाई रोक्न सम्भव छैन, बालेनलाई बदनाम गर्न सुवेदी सक्रिय
नेपालको सर्वोच्च अदालत यतिबेला आन्तरिक द्वन्द्वको चपेटामा देखिएको छ ।
न्यायाधीशहरू दुई धारमा बाँडिएका छन् । एकातिर, प्रधानन्यायाधीशको नियुक्तिमा विगतमा नेपाली कांग्रेस र नेकपा एमालेले कायम गरेको वरिष्ठताको सेटिङ भंग गरी नयाँ क्षमतावान्, साहसिक र तटस्थ न्यायिक नेतृत्वको आवश्यकता औंल्याइएको छ भने अर्कोतिर वरिष्ठताको परम्परा भत्काउन नहुने मत देखापरेको छ ।
जेनजी आन्दोलनपछि अपार जनमत प्राप्त गरी बनेको सरकारका प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद्को बहुमतको निर्णयबाट चौथो वरीयताका न्यायाधीश मनोजकुमार शर्मालाई आगामी प्रधानन्यायाधीशको पदका लागि सिफारिस गरेका छन् । यो निर्णयले नै पुराना शक्तिहरू कांग्रेस र एमालेले तय गरेको प्रधानन्यायाधीशको रोलक्रममा रहेका सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाँललाई पछि पारेको छ । परिणामस्वरूप, मुलुकको राजनीति र बौद्धिक वृत्त पनि बहसमा तातेको छ ।
यद्यपि, संवैधानिक परिषद्को सिफारिस अब संसदीय सुनुवाइबाट उल्टिने सम्भावना छैन । प्रधानमन्त्री बालेन्द्र शाहकै दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसद र संसदीय समितिहरूमा प्रचण्ड बहुमत छ । रास्वपा सभापति रवि लामिछानेले गर्धन थाप्न तयार रहेको भन्दै जुनकुनै मूल्यमा संवैधानिक परिषद्को निर्णय कार्यान्वयन गरी छाड्ने स्पष्ट अडान सार्वजनिक गरिसकेका छन् । यसर्थ अब संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले तुरुन्त नियुक्ति दिनुपर्नेछ र मनोजकुमार शर्माले न्याय प्रशासनको जिम्मेवारी सम्हाल्नुपर्नेछ ।
शर्माको नेतृत्वपछि न्यायालयको भविष्य भने के हुन्छ भनेर भन्न सकिने अवस्था छैन । यदि मल्ल, रेग्मी र फुयाँलले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गरे भने शर्माका लागि काम गर्न सहज हुनेछ । तर ती तीनैजना असन्तुष्ट न्यायाधीशले भित्रै बसेर असहयोग गरे अवस्था जटिल बन्न सक्छ । त्यसको सामना गर्न पनि तयार भएर अहिलेदेखि नै लाग्नुपर्नेछ ।
यसैबीच, शर्मापछिको वरीयताका न्यायाधीश नहकुल सुवेदीले छिर्के दाउ हेरिरहेका छन् र अर्को समस्या थपेका छन् । उनले पुराना दलहरूको विश्वास जित्न मल्ल नेतृत्वको पक्षलाई उचालेका छन् । साथै, बालेन सरकारको निर्णयविरुद्ध पूर्वप्रधानन्यायाधीश, कानुनविद् र पत्रकारहरूलाई दैनिकजसो फोन गरेर खुराक दिइरहेका छन् । अर्कोतिर, प्रस्तावित प्रधानन्यायाधीश शर्मा र प्रधानमन्त्री बालेनसँग आफू वर्तमान संस्थापनको भावनाभन्दा बाहिर नजाने सन्देश पठाएर दोहोरो भूमिका खेलिरहेका छन् । उनको यो दोहोरो चरित्रले न्यायालयभित्रको शक्ति संघर्ष झन् उग्र बनाएको छ ।
त्यति मात्र होइन, नहकुल सुवेदीले मनोजकुमार शर्मालाई नेपालको न्यायिक इतिहासकै विवादित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको निकट रहेको भनी प्रचार गरेका छन् । हालैका घटनाक्रममा राणाकै हात रहेको भन्नेसम्मको प्रचार गरी उनले परिस्थितिलाई भड्काइरहेका छन् । यो सरासर मनगढन्ते मात्र होइन, शर्मालाई बदनाम गरी सुवेदी आफू चोखो देखिने चलखेल हो ।
सुवेदीको यस खालको चलखेलले संवैधानिक परिषद् र यसका नेतृत्वकर्ता बालेनको स्वतन्त्र विवेकमाथि प्रहार गरेको छ । बालेन स्वतन्त्र विवेक र स्वच्छ भावनाबाट चलेका छैनन् र चोलेन्द्रजस्ता विवादित पात्रको प्रभावमा छन् भन्ने सन्देश सुवेदीले दिइरहेका छन् । यो भनेको बालेनजस्ता सुशासनप्रेमी एवं साहसिक युवा नेताको योग्यता, क्षमता, व्यक्तित्व र छविकै अवमूल्यन हो ।
अतः आगामी प्रधानन्यायाधीश शर्मा र बालेन्द्र शाह सरकारले नहकुल सुवेदीलाई छानबिनको घेरामा ल्याउन जरुरी छ । घोषित रूपमा विपक्षमा देखिनेभन्दा बाहिर सहयोगी देखिने तर भित्र षड्यन्त्र गर्नेहरूबाट सजग रहनुपर्छ । दाउ हेरेर बस्ने र समयअनुसार छेपाराले जस्तो रङ फेर्न सक्ने सुवेदीजस्ता चरित्रबाट समयमै जोगिनुपर्छ । सुवेदीको खेल उजागर गर्नु र उनलाई किनारा लगाउनु शर्माको हितमा मात्र नभई स्वस्थ न्यायपालिकाको पक्षमा पनि अनिवार्य देखिन्छ । नत्र, परम्परा र परिवर्तनको द्वन्द्वले न्यायालयलाई लामो समय थलिनबाट कसै गरी रोक्न सकिने छैन ।
केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह
महिलालाई आत्मनिर्भर बनाउन सिलाइकटाइ
चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले छापा
नेपालको प्राकृति विविधताबारे अन्तराष्ट्रिय मञ्चमा चर्चा गर्दै इन्दिरा राना
कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल
आफ्नो देशको खेल छोडेर प्रेमिकाको शोमा पुगे क्यानडाका पूर्वप्रधानमन्त्री ट्रुडो
काठमाडौँको माकलबारीबाट लागु औषध र प्रहरीको नक्कली परिचयपत्रसहित युवक पक्राउ
प्रतिक्रिया