प्रधानन्यायाधीशमा डा शर्माको सिफारिस: न्यायपालिकामा नयाँ अध्यायको संकेत
संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेसँगै नेपालको न्यायपालिकामा नयाँ अध्यायको सुरु हुने संकेत गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको परिषद् बैठकले गरेको यो निर्णय केवल एउटा प्रशासनिक रिक्ततापूर्तिका लागि गरिएको परम्परा निर्वाह मात्र होइन, न्यायपालिकाको भावी दिशा तय गर्ने महत्त्वपूर्ण संकेतका रूपमा पनि हेरिएको छ ।
गत चैत १८ मा तत्कालीन प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण अवकाशमा गएपछि न्यायपालिका कायम मुकायम नेतृत्वमा चलिरहेको थियो । कायम मुकायम प्रधानन्यायाधीशका रूपमा सपना प्रधान मल्ल कार्यरत रहँदै आएकी थिइन् । लामो समयदेखि वरिष्ठताका आधारमा नेतृत्वमा पुग्ने अपेक्षा गरिएको अवस्थामा डा. शर्माको सिफारिसले स्थापित अभ्यासलाई नयाँ मोड दिएको छ ।
बालेन सरकारले यसपालि संवैधानिक नियुक्ति वरिष्ठताका आधारमा गरिने फाइल बढुवा होइन, कार्यक्षमता, योग्यता र दृष्टिकोणलाई पनि नेतृत्व चयनको आधार बनाउनुपर्छ भन्ने मान्यतालाई व्यावहारिक रुपमै कार्यान्वयन गरेर भविष्यलाई पनि दिशानिर्देश गरिदिएको छ ।
नेपालको संविधानले सर्वोच्च अदालतमा तीन वर्षभन्दा बढी अनुभव भएका न्यायाधीशमध्येबाट प्रधानन्यायाधीश नियुक्त गर्न सकिने व्यवस्था गरेको छ । प्रधानन्यायाधीश कुनै बढुवा हुने पद होइन । अर्थात् यस पदमा बढुवा होइन, नियुक्ति हुन्छ । यही संवैधानिक प्रावधानभित्र रहेर गरिएको यो निर्णयले विगतमा देखिएको राजनीतिक भागबण्डाको प्रवृत्तिलाई चुनौती दिएको छ ।
लामो समयसम्म सर्वोच्च अदालतमा न्याय परिषद्बाट न्यायाधीश नियुक्तिमै भावी प्रधानन्यायाधीश तय गर्ने उद्देश्यबाट प्रभावित हुने गरेको थियो। अब भने न्याय परिषद्ले न्यायाधीश नियुक्ति र संवैधानिक परिषद्ले प्रधानन्यायाधीश चयन गर्ने अभ्यासको थालनी गरिएको छ ।
नेपालको न्यायपालिकाले लामो समयदेखि परिवर्तन खोजिरहेको छ । अब त्यो परिवर्तनलाई व्यवहारमा उतार्ने समय आएको छ । जनताले अनुभूति गर्ने गरी न्यायपालिकालाई सुधार गर्न सकेमा डा. मनोजकुमार शर्माको नेतृत्व ऐतिहासिक बन्न सक्छ ।
सर्वोच्च अदालतमा वर्षौँदेखि थाती रहेका मुद्दाको बोझलाई कम गर्दै न्याय सम्पादनमा गतिशीलता प्रदान गर्न सक्ने नेतृत्वको खोजी भइरहेका बेला संवैधानिक परिषद्ले न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । न्यायपालिकाको इतिहासमै पहिलोपटक विद्यावारिधि गरेका र मुद्दा फर्स्योटमा सर्वाधिक उच्च रेकर्ड कायम गरेका व्यक्तिले अब न्यायालयको नेतृत्व गर्नेछन् । न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/२०८१) को अवधिमा भएको कार्यसम्पादनको वस्तुगत मूल्याङ्कन गर्दा डा. शर्मा अन्य समकालीन न्यायाधीशहरूको तुलनामा निकै अगाडि देखिका छन् ।
सर्वोच्च अदालतको तथ्याङ्क अनुसार, प्रधानन्यायाधीशका लागि प्रस्तावित न्यायाधीशहरूमध्ये डा. शर्माले ७ हजार ३ सय ८८ मुद्दा र निवेदनहरूको अन्तिम टुङ्गो लगाएका छन् । यो संख्या अन्य प्रस्तावित न्यायाधीशहरूको तुलनामा सबैभन्दा उच्च हो ।
पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा मात्रै उनले २,१८१ मुद्दा किनारा लगाएका छन् । प्रस्तावित न्यायाधीशहरूमध्ये ७ हजारको आँकडा पार गर्ने उनी एक्लो न्यायाधीश हुन्, जसले न्याय सम्पादनमा उनको सक्रियता र गतिलाई स्पष्ट रूपमा पुष्टि गर्दछ ।
डा. शर्मासामु अवसरसँगै गम्भीर चुनौतीहरू पनि छन् । नेपालको न्याय प्रणालीमाथि जनविश्वास कमजोर बन्दै गएको छ । अदालतमा ढिलो न्याय, अव्यवस्थित प्रशासन, मुद्दा व्यवस्थापनमा कमजोरी र सेवाग्राहीले भोग्ने सास्ती आम समस्या बनेका छन् । देशकै धेरै मुद्दा रहेको काठमाडौँ जिल्ला अदालत जेनजी आन्दोलनपछि लयमा आउन सकेको छैन । अदालतका फाँट, इजलास र कोठा खोज्दै सेवाग्राहीले बिताउने समय स्वयंमा न्याय प्रणालीको पीडादायी चित्र हो । यस्तो अवस्थाको अन्त्य गर्न न्यायिक नेतृत्वका रुपमा शर्माले व्यवस्थापकीय कौशल देखाउन सक्नुपर्नेछ ।
सर्वोच्च अदालतमा संविधानले तोकेको संख्यामा न्यायाधीश लामो समयसम्म नहुनु, तल्लो अदालतबाट मिसिल आउन अत्यधिक ढिलाइ हुनु तथा कैफियत प्रतिवेदन व्यवस्थापन कमजोर हुनुजस्ता समस्याले न्याय सम्पादनलाई प्रभावित गरेका छन् । दुर्भाग्यवश, यी विषयमा बार, बेन्च र न्याय प्रशासनका संरचनाबाट प्रभावकारी दबाब वा सुधारको पहल कमै देखिएको छ ।
यस्तो अवस्थामा डा. मनोजकुमार शर्माको नेतृत्वप्रति आशा बढ्नु स्वाभाविक हो । उनले न्यायपालिकालाई केवल संवैधानिक संस्थाका रूपमा होइन, जनतासामु उत्तरदायी सेवा संस्थाका रूपमा पुनर्स्थापित गर्नुपर्ने चुनौती बोकेका छन् । छिटो, सरल र प्रभावकारी न्याय सम्पादन नै उनको सफलताको मुख्य आधार बन्न सक्छ ।
यसका लागि प्रशासनिक सुधार अपरिहार्य छ । अदालतको व्यवस्थापन, प्रविधिको प्रयोग, सेवाग्राहीमैत्री वातावरण र न्यायिक अनुशासनमा सुधार नगरी जनविश्वास फर्काउन कठिन हुनेछ । साना देखिने तर सेवाग्राहीलाई प्रत्यक्ष असर गर्ने सुधारहरू, जस्तै व्यवस्थित इजलास, कानुन सामग्रीको सहज उपलब्धता र सम्मानजनक वातावरणले पनि ठूलो परिवर्तनको अनुभूति दिन सक्छ ।
न्यायालय सुधारका काममा सफलता मिलोस् । बधाई डा शर्मा ।
केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह
महिलालाई आत्मनिर्भर बनाउन सिलाइकटाइ
चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले छापा
नेपालको प्राकृति विविधताबारे अन्तराष्ट्रिय मञ्चमा चर्चा गर्दै इन्दिरा राना
कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल
आफ्नो देशको खेल छोडेर प्रेमिकाको शोमा पुगे क्यानडाका पूर्वप्रधानमन्त्री ट्रुडो
काठमाडौँको माकलबारीबाट लागु औषध र प्रहरीको नक्कली परिचयपत्रसहित युवक पक्राउ
प्रतिक्रिया