एनआरएनए फुटाउने माओवादी रणनीतिमा कांग्रेस किन दुरुपयोग हुँदै छ ?

सुन्नुहोस्

                                                                                                                यो समाचार बर्णन मिडियाका प्रधान सम्पदक तथ संचालक नारायण प्रसाद दाहाल ज्युले लेख्नु भएको हो।

गैरआवासीय नेपाली संघ एउटा विशुद्ध सामाजिक संस्था हो । यसको प्रथम र संस्थापनाकालीन उद्देश्य भनेकै विदेशमा रहेका नेपालीलाई एकत्रित गरी एकअर्कालाई परेका बखत सहयोग जुटाउनु हो । त्यसपछि नेपालीहरू पराइको भूमिमा पनि  आपसमा मिलेर रमाउनु हो । नेपाली भाषा र संस्कृतिको आदानप्रदान गर्नु हो । पछि गएर केही अग्रज अभियन्ताहरूले विदेशमा अलिअलि पैसा कमाए । स्वदेशमा लगानीका अवसर खोजे । त्यसका लागि नीतिगत पैरवी गरे । नेपालमा पनि विदेशबाट आउने लगानी नगन्य रहेका बेला केही सांकेतिक सन्देश जाने अपेक्षाका साथ गैरआवासीय नेपालीलाई उच्च मानसम्मानसहित स्वागत गरियो । भारत र अरु केही मुलुकमा गैरआवासीय नागरिकले स्वदेशको समृद्धि र वैदेशिक मुद्रा सञ्चितिमा ठूलो भरथेग गरेका कारण पनि नेपालमा उनीहरूले उच्च सम्मान पाएका हुन्। भूकम्प, नाकाबन्दी र कोरोनाकालमा त गैरआवासीय नेपाली संघले नेपाल र नेपालीलाई ठूलै गुन लगाएका पनि हुन् । यसका लागि उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले र कुमार पन्तहरूको पहलकदमी विशेष स्मरणीय छ ।

तर नेपाल राज्यले दिएको सम्मान र राजनीतिक दलको नेतृत्वसम्म पाएको पहुँच अनि अवसरबाट एनआरनएभित्रैका केही व्यक्तिहरूले राजनीतिक दाउ हेरे । खासगरी बेलायतमा शरणार्थीका रूपमा बसेका, नेपालविरूद्ध बयान दिएर बेलायती नागरिकता प्राप्त गरेका कुल आचार्य जसरी पनि यस संस्थाको नेतृत्वमा पुग्न अनेक हत्कण्डा गरे । कुमार पन्तजस्ता निकै नम्र र भलाद्मी अभियन्तालाई नेतृत्वमा पुग्न नदिन र जसरी पनि त्यो संस्था कब्जा गर्न कांग्रेसका केही नेताहरुलाई हातमा लिएर ह्यात होटलमा अड्डा जमाउन लगाए । पार्टीका नेताहरुको त्यो नांगो हस्तक्षेपविरुद्ध विश्वभरका गैरआवासीय नेपालीले मतदान गरे । कुल आचार्य पराजित भए ।

आफ्नोविरुद्ध जनमत देखेर आचार्य चुनाव नलडिकनै संस्था कब्जा गर्नतिर लागे । परराष्ट्र मन्त्रालयको छाप र लेटरहेड दुरुपयोग गरेर उनले चुनाव हुन दिएनन् । मन्त्रालयबाटै आफूलाई अध्यक्ष नियुक्ति गराउनतिर लागे । मन्त्रालयले पनि उक्त गैरराजनीतिक सामाजिक संस्थाको स्वायत्तताको सम्मान गर्नुपर्ने आवश्यकता ठानेन । अन्ततः कुल आचार्यलाई जसरी पनि अध्यक्ष बनाउने नाममा तीनतीनवटा अध्यक्ष बनाइयो । शेष घलेले त विनोद कुँवरको नेतृत्वमा छुट्टै गैरआवासीय नेपाली संघ बनाइसकेका थिए । 

यतिखेर तिनै कुल आचार्य शेष घलेको आड लिएर गैरआवासीय नेपाली संघलाई फुटाउन सफल भए, आरके शर्माको नेतृत्वमा पराजितहरुको एउटा समानान्तर समिति बनाएर । 

यसपटक अनलाइन प्रणालीबाट निर्वाचन गरिएको थियो। अनलाइन निर्वाचन गराउने कम्पनी छान्नको लागि एक पाँच सदस्यीय समिति गठन गरिएको थियो। यस समितिमा महेश श्रेष्ठ, आरके शर्मा, गौरी जोशी, डा केशव पौडेल र सुनील शाह रहनुभएको थियो। यस समितिको सिफारिसमा अस्ट्रेलियास्थित भेरो भोटिङ कम्पनीलाई छनोट गरिएको थियो। यस कम्पनीले एनआरएनए अस्ट्रेलियाको ४ वटा निर्वाचन गरिसकेको छ भने गत जुलाईमा अमेरिका, क्यानाडा, अस्ट्रेलिया, युके, जापान, कतारलगायतका ९ राष्ट्रिय समन्वय परिषद (एनसीसी) को निर्वाचन सम्पन्न गरेको थियो।  

अन्तर्राष्ट्रिय समन्वय परिषद (एनसीसी) ४२२५ प्रतिनिधिहरूमध्ये नेपालमा आएका प्रतिनिधिहरूलाई सोल्टी होटलस्थित मतदान केन्द्रमा उपस्थित भएर अनलाइनबाट मतदान गर्ने व्यवस्था गरिएको थियो भने नेपालबाहिर हुनेले आफ्नै डिभाइसबाट मतदान गर्ने व्यवस्था गरिएको थियो। नेपाल र नेपालबाहिरबाट प्राप्त मतको प्रारम्भिक मत परिणाम अक्टोबर १९ तारिख मध्यरातमा प्रकाशन गरिएको थियो ।

प्रारम्भिक मत परिणाम प्रकाशन हुने क्रममा उपाध्यक्षका उम्मेदवार डा केशव पौडेलको नेपालबाट खसेको मत नसमेटिएको विषयलाई लिएर केही विवाद उत्पन्न भएको थियो। तर यस विषयका सम्बन्धमा भेरो भोटिङ कम्पनीले प्रस्ट गरी अन्तिम प्रतिवेदन निर्वाचन समितिलाई पेस गरेको थियो, जसअनुसार डा केशव पौडेलले नेपालबाट प्राप्त गरेको ३५६ मत थप गरी विजयको घोषणा गरेको छ।
 

भेरो कम्पनीका अनुसार, निर्वाचनको अन्तिम समयमा  डा केशव पौडेलको नामको सुरू नामको हिज्जेमा भीको ठाउँमा बी परिवर्तन गर्न अनुरोध गरिएका कारणले नेपालबाट खसेको मत तालिकामा नदेखिए पनि खसेको मत रेकर्डमा नै थियो। नसमेटिएको मतका सम्बन्धमा भेरो भोटिङ कम्पनीले सबै प्रतिनिधिहरुलाई जुममार्फत् प्रष्ट गरेको थियो भने यसबारे लिखितरुपमा स्पष्टीकरण पनि पेस गरेको छ।

नसमेटिएको मतबारे भेरो कम्पनीसँगको संवाद महाधिवेशन हलमा प्रत्यक्ष प्रसारण गर्ने प्रयत्नलाई केही उम्मेदवारहरूले असफल बनाएका थिए। कम्पनीसँगको संवादको जुम रेकर्डिङ सार्वजनिक गर्न प्रतिनिधिहरूले माग गरेका थिए ।
 

भेरो कम्पनीले पेस गरेको अन्तिम प्रतिवेदनका आधारमा अक्टोबर २१ तारिख शनिबार सोल्टी होटलमा निर्वाचन समितिले नवनिर्वाचित समितिलाई सपथग्रहण गराइएको छ। ११औँ महाधिवेशनमा बाँकी रहेका प्रकृया आर्थिक र वार्षिक प्रतिवेदनमाथि छलफल अक्टोबर २२ तारिख आइतबार जुममार्फत् गरी ११औँ महाधिवेशन समापन गरिएको छ। 
 

भेरो कम्पनीले गरेको निर्वाचन परिणामका सम्बन्धमा अध्ययन गर्न विदेशी आईटी विशेषज्ञहरु रहेको एक समिति गठन गरिनेछ । अध्ययन रिपोर्टअनुसार उचित निर्णय गरिने नवनिर्वाचित समितिले जनाएको छ।
 

भेरो कम्पनीमार्फत् प्राप्त भएको मत परिणामलाई रुजु गरेर प्रकाशन गरेको भए विवाद उत्पन्न हुने थिएन । गत जुलाई महिनामा सम्पन्न भएको एनसीसी अमेरिकाको नतिजा प्रकाशन गर्दा देखिएका केही असमझदारीबाट पाठ सिक्दै निर्वाचनको नतिजा भेरोबाट निर्वाचन समितिलाई प्राप्त हुँदासाथ जस्ताको जस्तै प्रकाशन गर्नुपर्ने निर्णय कार्यकारी सचिवालयले गरेको थियो (कतै डेटा म्यानिपुलेसन नहोस् भनेर)। निर्वाचन परिणाम निर्वाचन समितिले रुजु गर्न पाएको भए सम्भवतः नसमेटिएको डा केशव पौडेलको मतबारे प्रकाशन हुनुभन्दा पहिले नै पत्ता लाग्ने थियो। अथवा उनको नेपालको मत ‘शून्य’बारे तुरुन्तै भेरो कम्पनीको प्रतिनिधिलाई सोधेको भए त्यतिखेर नै समाधान आउने थियो। तर त्यसतर्फ नलागी संस्थाको अध्यक्षले नै पूरै निर्वाचन बदर हुनुपर्छ भनेर मासलाई उत्तेजित पारेपछि हलमा केही अस्वाभाविक व्यवहार देखिएको थियो । 

नसमेटिएको मतबारे अध्यन गरी समस्या समाधान गर्न लाग्नुको सट्टा २० तारिख बिहानै कुल आचार्यज्यूको नेतृत्वमा प्रधानमन्त्रीलाई भेटेर निर्वाचन बदर गर्न माग गरेको र प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीको परामर्शमा निर्णय लिने जवाफ दिएको जानकारी प्राप्त भयो। २० तारिखका पूर्वनिर्धारित कार्यक्रमहरु (एनसीसी रिपोर्ट, आर्थिक प्रतिवेदन, वार्षिक प्रतिवेदन)लाई निरन्तरता दिएर अधिवेशन समापन गर्नतिर लाग्नुको सट्टा अध्यक्ष कुल आचार्यले कार्यकारी अध्यक्ष डा बद्री केसीलाई जानकारी नदिई प्रधानमन्त्रीलाई समापन समारोहमा अनुपस्थित नहुन आग्रह गर्नुभएको थियो । 

यसपटक एनसीसीहरू निर्वाचन, प्रतिनिधि छनोट र १९ तारिखमाभएको निर्वाचन विगतमा भन्दा निकै कम विवादित थियो। निर्वाचनमा निकै उत्साह थियो। निर्वाचनको अवधिभर कुनै विवाद देखिएको थिएन। नामको स्पेलिङमाभएको सानो त्रुटिलाई लिएर पूरै निर्वाचन बदर गरी पुनः र्वाचन गराउनुपर्ने वा २०२१ मा झैँ सहमतिको समिति बनाउनुपर्नेबारे छलफल भएको थियो। यस्ता विकल्पबारेको छलफलको नेतृत्व निवर्तमान र एक पूर्वअध्यक्षले गरेका थिए। तर संस्थापक र अभियन्ताहरु (भीम उदास, राम थापा, जीवा लामिछाने, रतन झालगायत)ले भेरो भोटिङको ब्रिफिङ सुनेपछि सच्याउन सकिने समान्य त्रुटिको कारणले यस्ता विकल्पतर्फ जान नहुने, बरु सबै पक्षको प्रतिनिधित्व हुने गरी स्वतन्त्र आईटी विज्ञहरूले भोटिङ लग अध्ययन गर्न सकिने सुझाव दिएका थिए। त्यसैअनुसार हामीले आईटी विज्ञहरूको टिममा रहन सक्ने व्यक्तिको नाम दिन आरके शर्मालगायतको टिमलाई पत्राचार गरिसकिएको छ ।

जे होस्, उपाध्यक्ष हेमराज शर्माको टिप्पणी यहाँनिर स्मरणीय छ, यसपटकको निर्वाचनले रूपान्तरणको एजेण्डा अनुमोदन गरेको छ र एनआरएनएमा पैसा, पावर र पोलिटिक्सबिना पनि निर्वाचन जित्न सकिने रहेछ भन्ने मान्यता स्थापित गरेको छ। एनआरएनएभित्र दलीय राजनीति गर्नेहरूभन्दा स्वतन्त्र र प्राज्ञिक उम्मेदवारलाई मतदाताले मन पराएका छन् । 
 

यसपालि देशभित्र पुष्पकमल दाहाल कांग्रेसको आड लिएर प्रचण्ड प्रधानमन्त्री भएकै शैलीमा विदेशमा पनि कांग्रेसको आड लिएर एनआरएनए कब्जा गर्ने माओवादी रणनीति थियो । मतदानमा भएको प्राविधिक त्रुटि त बहानामा मात्र थियो । सके कब्जा गर्ने, नभए फुटाउने माओवादीयोजना सफल भएको छ । कांग्रेसको समेत साथ लिएर माओ‌वादीले एनआरएनएको समानान्तर समिति बनाइएको छ । सत्ता माओवादीकै हातमा भएकाले प्रधानमन्त्रीदेखि परराष्ट्र मन्त्रीसम्मले सोही पराजितहरुको झुन्डलाई धाप मारेका छन्।

यति हुँदा पनि एनआरएनए कब्जा गर्न खोज्ने राजनीतिक दलका नेताहरूले भने एउटा भ्रम त्याग्नुपर्ने देखियो । शर्माकै भनाइमा,  ५०-६० लाख गैरआवासीय नेपालीहरू बाहिर बस्छन्। तीमध्ये एनआरएनएको चुनावको लागि भनेर मुस्किलले १ लाख सदस्य बन्छन्। १ लाख सदस्यबाट छानिएका करिब ४ हजार प्रतिनिधिले चुनावमा भाग लिन्छन्। एनआरएनको निर्वाचन पूर्णरूपमा पार्टीगत आधारमा हुँदैन, एनआरएनएभित्रको समीकरण आफ्नै खालको हुन्छ । त्यसैले एनआरएनएको निर्वाचनमा कसैको जित र हारलाई पार्टीहरूले आफ्नो प्रतिष्ठासँग जोड्नु महामूर्खता हो । निर्वाचन परिणामलाई अस्वीकार गरेर कलंकको टीका लगाउन नेपाली कांग्रेसजस्तो लोकतन्त्रमा विश्वास गर्ने दल नै तयार भएको छ, त्यो पनि बदनाम कार्यकर्ताको पछि लागेर ।