दुई जना कोरोना संक्रमितको उपचारका लागि लैजाँदै एम्बुलेन्समै मृत्यु

विराटनगर - दुई जना कोरोना संक्रमितको एम्बुलेन्समै मृत्यु भएको छ ।
उनीहरुलाई मोरङस्थित विराट मेडिकल कलेजमा उपचारका लागि लैजाँदै गरेका दुई जना कोरोना संक्रमितको आज शुक्रबार एम्बुलेन्समै मृत्यु भएको छ ।उपचारका लागि विराट मेडिकल कलेज लगिएका सुनसरी खनारका एक वृद्ध सिराहाका एक पुरुषको एम्बुलेन्समै मृत्यु भएको हो ।

मेडिकल कलेजका आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार दुवै जनाको अस्पताल आउँदा आउँदै बाटोमा मृत्यु भएको हो ।एम्बुलेन्समा ल्याइएका बिरामीलाई उतार्न खोज्दा दुवै जना मृत्यु भइसकेको अवस्थामा पायौं ।’

उनका अनुसार मृतक मध्ये एकजना सुनसरीको इटहरी उपमहानगरपालिका–१३ खनारका ९२ वर्षीय वृद्ध र सिराहा सुकीपुर नगरपालिका–२ का ५५ वर्षीय पुरुष हुन् । इटहरीका वृद्धमा तीन दिनअघि कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि आफन्तले अस्पताल ल्याएका थिए ।मृतक वृद्धमा दम, उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या रहेको उनको भनाइ छ ।

त्यस्तै सिराहा सुकीपुर नगरपालिका–२ का ५५ वर्षीय संक्रमित पुरुषलाई विराटनगरको नोवेल मेडिकल कलेजबाट थप उपचारका लागि विराट मेडिकल कलेज लगिएको थियो ।

सोमबारयता नोवेल शिक्षण अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका ५५ वर्षीय पुरुषलाई बिहीबारसाँझ रिपोर्ट पोजेटिभ आएपछि नोवेलले थप उपचारका लागि विराटको आइसोलेसनमा रेफर गरेको थियो । थप उपचारका लागि एम्बुलेन्समा राखेर विराट पुर्‍याइएका उनको पनि एम्बुलेन्सभित्रै मृत्यु भएको पाइएको इञ्चार्ज देवले बताए ।