ढिलो विवाहले गर्भ नरहने समस्या धेरै, ग्रीनसिटीकी डा. श्रेष्ठ भन्छिन्– 'नआत्तिनूस्, सजिलो उपाय छ'

काठमाडौं । सामान्यतः उमेर पुगेका पुरुष र महिलाबीच शारीरिक सम्पर्क भएपछि गर्भाधान हुन्छ । पुरुषको वीर्य महिलाको डिम्बबाहिनी नलीमा प्रवेश गरेर अण्डासँग मिसिन्छ । डिम्ब र शुक्रकीटको मिलनबाट तयार भएको भ्रुण पाठेघरमा पुगेर बच्चाका रुपमा विकसित हुन्छ ।

तर सबै अवस्थामा यो सम्भव हुँदैन । दम्पतीले चाहँदाचाहँदै पनि गर्भ नरहने समस्या देखिन्छ । किन त ? ग्रीनसिटी अस्पताल, काठमाडौंमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. चेतना श्रेष्ठ भनिन्छन्, 'यो समस्या मूलतः महिलाको अण्डा र पुरुषको वीर्यको गुणस्तरसँग सम्बन्धित छ । त्यस्तै पाठेघरमा मासु पलाउनेलगायत समस्याले पनि धेरै महिलाको आमा बन्ने रहर पूरा हुन सकिरहेको हुँदैन ।'

डा. श्रेष्ठकै भनाइमा, आधुनिक समाजमा महिला र पुरुष दुवै आफ्नो अध्ययन र करिअरमा केन्द्रित हुने, ढिलो विवाह गर्ने र अन्य कतिपय कारणहरूले गर्दा दम्पतीले चाहेका बखत गर्भ नरहने समस्या बढी देखिएको छ । उमेर बढ्दै गएपछि महिलाको अण्डा र पुरुषको वीर्यको गुणस्तर र मात्रा पनि कमजोर हुँदै जाने भएकाले पनि गर्भ नरहने समस्या देखिन्छ ।

यी समस्याको पहिचान कसरी गर्ने ? निराकरण कसरी हुन सक्छ ? र, करिअर प्रभावित नहुने गरी बच्चाको चाहना कसरी पूरा गर्ने ? के नौजवान अवस्थाकै गुणस्तरीय अण्डा र शुक्रकीट पछिसम्मै कायम राख्न सकिन्छ ? अथवा आजको अण्डा वा शुक्रकीटबाट धेरै वर्षपछि बच्चा जन्माउन सकिन्छ होला त ? कतिपयलाई यी प्रश्न आफैमा आश्चर्जनक लाग्न सक्छन् । तर आज विज्ञान र प्रविधिले यी सबै प्रश्नको उत्तर तयार गरिदिएको छ, जुन निकै रोचक पनि छन् ।

त्यो विधि हो आईभीएफ अर्थात् मान्छेको शरीरबाहिरै गर्भ तयार गर्ने प्रक्रिया ।

आईभीएफ विशेषज्ञ डा. श्रेष्ठका अनुसार, आईभीएफ प्रविधिमा पुरुषको शुक्रकीट र स्त्रीको डिम्ब संकलन गरी एकअर्कासँग मिलन गराई भ्रुण तयार गरिन्छ । गर्भ तयार भएपछि भ्रुणलाई स्त्रीको गर्भाशयमा राखिन्छ । त्यसपछि साधारण अवस्थामा जस्तै भ्रुण विकसित भई शिशुको रुप धारण गर्छ । कतिपय गर्भवतीले प्राकृतिक तरिकाले नै बच्चा जन्माउँछन् भने कतिपयको शल्यक्रिया गर्नुपर्छ ।

डा. श्रेष्ठ भन्छिन्, 'व्यस्त रहनुपर्ने, पढाइ चलिरहेका, महत्त्वपूर्ण काम गरिरहेका वा तत्काल बच्चा जन्माउने फुर्सद नभएका महिलाले भविष्यका लागि अण्डा भण्डारण गर्न सक्ने सुविधा पनि उपलब्ध भइसकेको छ । क्यान्सर वा अन्य प्रकारका रोगहरूका कारण तत्काल बच्चा जन्माउन असमर्थ महिलाले भविष्यका लागि अण्डा सुरक्षित राख्न सक्छन् । उनीहरूले उपचार गरी निको भएपछि पहिला नै झिकिएको अण्डाबाट बच्चा जन्माउन सक्छन् । भारतलगायत कतिपय देशका प्रतिष्ठित नायिकाहरूले पनि २५–३० वर्षको उमेरमा आफ्नो डिम्ब झिकेर सुरक्षित भण्डारणका लागि दिएर ४०–४५ वर्षको उमेरमा मात्र गर्भमा राखेका धेरै उदाहरण छन् । हामी पनि यो सेवा दिइरहेका छौं । कुनै महिलामा बच्चा जन्मिन सक्षम अण्डा उत्पादन भइरहेको छैन भने अर्काको अण्डा लिएर पनि गर्भाधान गराउन सकिन्छ । हामीले ५० वर्षीया महिलालाई समेत गर्भाधान गराउन सफल भएका छौँ ।'

ग्रीनसिटी अस्पताल काठमाडौंको वसुन्धारामा अवस्थित छ । यहाँ डा श्रेष्ठको नेतृत्वमा कृत्रिम गर्भाधान तथा प्रसूति सेवा प्रदान गरिन्छ । विभिन्न उमेर र अवस्थाका सयौं निःसन्तान दम्पतीलाई उनले बुवाआमा बन्न सम्भव तुल्याइसकी छन् ।