अव्यवस्थित वधशालाले अस्वस्थकर मासु किनबेच

रामेछाप सदरमुकाम मन्थलीमा पशु वधशाला व्यवस्थित नहुँदा उपभोक्ता अस्वस्थकर मासु उपभोग गर्न बाध्य छन् । सदरमुकाममा २० वटा मासु पसल छन् । वधशाला व्यवस्थित नहुँदा सबै मासु पसलले स्वस्थकर मासु बिक्री गर्न सकेका छैनन् । केही पसलले वधशाला व्यवस्थित गर्न खोजे पनि पर्याप्त हुनसकेको छैन ।

मासु व्यापारीले तामाकोसी नदी किनारमा पशु वध गर्ने गरेका छन् । मासुमा बालुवा, माटो टाँसिएर खानयोग्य नहुने, वध गर्नासाथ चिसो ठाउँमा राख्न नपाइने समस्या छ ।  नदी किनारलाई वधशालाका रुपमा प्रयोग गर्दा मन्थली विमानस्थलमा उड्ने विमानमा काग र गिद्ध ठोक्किने जोखिम बढेको छ ।  

नदीको पानी समेत दूषित र दुर्गन्धित बनाएको छ । नगरपालिकाले व्यवस्थित वधशाला नबनाइदिएका कारण नदी किनारमै वध गर्न बाध्य भएको मासु व्यवसायी पशुपति शाहीले बताउनुभयो ।  उहाँले भन्नुभयो, “गत वर्ष नगरले तीन लाख छुट्याएको थियो, त्यो पैसा कामै नगरी ‘फ्रिज’ भयो । हामीलाई ठाउँ खोज भन्नुहुन्छ, हामीले कहाँ खोज्ने ।” 

तत्कालीन पशु सेवा केन्द्र र मन्थली नगरापालिकाले मन्थली–१ स्थित हाटेचउर नजिकै दश वर्षअघि वधशाला बनाएको थियो । त्यो वधशाला प्रभावकारी रुपमा सञ्चालन हुन सकेन । व्यवस्थित वधशाला नहुँदा सरसफाइ गरी फ्रिजमा मासु राखेर बिक्री गर्न नसकेको मासु व्यवसायी हजारसिं तामाङ बताउनुभयो ।  “पशु वध गर्ने ठाउँमा न त पानीको सुविधा छ, न त फोहोर विसर्जन गनै ठाँउ नै”, उहाँले भन्नुभयो, “त्यसैले हामीले भुइँमै पशु वध गरेर मासु बेच्ने गरेका छौँ ।”   

मन्थली नगरपालिकाका नगर प्रमुखले  पशु वधशाला यसअघि बनाइदिएको तर सदुपयोग नभएको बताउनुभयो । उहाँले मासु पसलेहरुसँग लागत साझेदारीमा उपयुक्त स्थान छनौट गर्न सके आगामी आर्थिक वर्षमा व्यवस्थित वधशाला निर्माण गरिने बताउनुभयो ।