‘दक्षिण कोरियामा गुणस्तरीय शिक्षा र रोजगारीको अवसर’

काठमाडाँै, २६ वैशाख : दक्षिण कोरियामा जन्मदर घटेसँगै दक्ष युवा कामदारको माग बढेकाले त्यहाँ नेपालजस्ता विकासोन्मुख मुलुकका विद्यार्थी र कामदारका लागि राम्रो सम्भावना हुनसक्ने नेपाल भ्रमणमा रहेका कोरियाली प्राध्यापक र अधिकारीले बताएका छन् ।
      
शैक्षिक परामर्श सङ्घ, नेपाल (केइक्यान) ले कोरियाको शिक्षा प्रणालीका विषयमा आज आयोजना गरेको कार्यक्रममा कोरियाको फारइस्ट विश्वविद्यालयका प्रा डा लिउ की आइएलले आफ्नो विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय र उत्पादनमूलक शिक्षा दिइरहेको बताउनुभयो ।
      
कोरियाको चुङ्चोइनबुक प्रदेशका शिक्षा सचिव प्रदेश प्रा ली योङ इउनले सो प्रदेशका १७ विश्वविद्यालयले व्यावहारिक र प्रयोगात्मक शिक्षा दिँदै आएको जानकारी दिनुभयो । सो प्रदेशमा उद्योग कलकारखानाको विकासका कारण अध्ययनपश्चात् रोजागारीको सम्भावना पनि बढी भएको उहाँले बताउनुभयो ।
      
केइक्यानका अध्यक्ष गणेश शर्माले कोरियाका विश्वविद्यालका प्रतिनिधि नै नेपाल आएर कोरियाको शिक्षाको विषयमा जानकारी दिइनुले नेपाली परामर्शदातृ संस्था र विद्यार्थीसँग कोरियाका विश्वविद्यालयसँग सहकार्य गर्ने अवसर बढेको बताउनुभयो । नेपालबाट प्रत्येक वर्ष करिब तीन हजार विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि कोरिया जाने गरेका छन् ।