प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा विपक्षी नेता राहुल गान्धीकाे आलोचना

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावी अभियानमा अाफ्नाे विपक्षी कंग्रेसका नेता राहुल गान्धीलाइ अम्बानी, गौतम अदानीलगायतका व्यापारी पोसेको आरोप  लगाएका छन्।

‘गत पाँच वर्षमा कंग्रेसका शाहजादा रातदिन एउटै माला जप्थे। पाँच उद्योगपति, अम्बानी र अदानी भन्थे। तर, जब चुनाव घोषणा भयो, उनले अम्बानी, अदानीको नाम लिन किन बन्द गरे?’ मोदीको प्रश्न छ।

‘म कंग्रेसका शाहजादासँग सोध्न चाहन्छु कि उनले अदानी र अम्बानीसँग कति माल उठाए? कालो धनको बोराका बोरा रुपियाँ लिएको हो? कंग्रेस पार्टीलाई चुनावका लागि ती उद्योगपतिले कति माल दिए? टेम्पोभरि माल पुगेको हो?’ मोदीले बुधबार तेलंगनाको करिमनगरमा भने।

यसलाई लिएर विपक्षीले मोदीको आलोचना गरेका छन्।

‘समय बदलिँदै छ। साथी अब साथी रहेन। तेस्रो चरणको मतदानपछि आज प्रधानमन्त्री आफ्नै मित्रमाथि हमला गर्न थाले। यसबाट थाहा हुन्छ, मोदीको कुर्सी हल्लिन थालेको छ। नतिजाको असली रुझान यही हो,’ कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले भनेका छन्।