बिहान ७ बजेबाट सुरु भएको मतदानमा मतदाताहरुको उत्साह देखिएएन : उपनिर्वाचन

तीन घण्टामा २ सय मत खस्यो

 इलाम क्षेत्र नं २ को प्रतिनिधि सभाको उपनिर्वाचनको मतदान जारी रहेको छ। मतदान सुरु भएको तीन घण्टाको अवधिमा करिब २ सय मत खसेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए। 

‘हालसम्म २ सय हाराहारीमा मात्रै मत खसेको हामीसँग तथ्यांक छ,’ उनले भने।  तीन घण्टाको अवधिमा थोरै मात्रै मत खसे पनि खाना खाएपछि मतदाताहरुको संख्या बढ्ने उनको अपेक्षा रहेको उनले बताए। ‘अहिले मतदानमा थोरै मात्र मतदाताको उपस्थिती रहे पनि खानापछि मतदाताहरुको संख्या बढ्ने अपेक्षा रहेको छ,’ घिमिरेले भने।  आफू केही मतदान केन्द्रमा घुमेको र अहिलेसम्म शान्तिपूर्ण ढंगबाट मतदान भइरहेको उनले बताए। 

इलाम–२ मा १ लाख १५ हजार ८ सय ८९ जनाले मतदान गर्दैछन्।  सो निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ जना चुनावी प्रतिस्पर्धामा रहेका छन्। साँझ ५ बजेसम्म चल्ने मतदान प्रक्रिया सकिएपछि आजैबाट मतगणना सुरु हुने उनले बताए।