किन दिए सर्वाेच्चका रजिष्ट्रार पन्थीले राजीनामा ?

काठमाण्डौं, बैशाख १५: इमान्दार तर सेवाग्राहीप्रति पूर्वाग्रही र सन्की व्यक्तिको रुपमा परिचित सर्वाेच्च अदालतका रजिष्ट्रार नारायण प्रसाद पन्थीले दिएको राजीनामा नेपाल सरकारले स्वीकृत गरिसकेको छ ।

उच्च अदालतको न्यायाधीश अफर गर्दा समेत अस्वीकार गरेका पन्थीले आफू चाकडी चाप्लुसीको पदमा बसेर काम गर्दिन भन्दै राजीनामा दिएको न्यायवृत्तमा चर्चाको विषय बनेको छ ।इमान्दार हो भने किन पन्थीलाई थप सेवा गर्ने अवसर दिइएन र किन ५५ बर्षकै उमेरमा राजीनामा गर्ने वातावरण तयार गरियो ? के न्यायालयमा इमान्दारहरुको भविष्य सकिएको हो भन्ने चर्चा चलिरहेको छ । न्यायालय बद्नाम भइरहेको सन्दर्भमा इमान्दार व्यक्तिलाई पाखा लगाइएको चर्चा पनि उत्तिकै छ ।

न्यायिक नेतृत्वसंग विमति राखेर २०५९ सालमा तत्कालिन रजिष्ट्रार श्रीप्रसाद पण्डितले राजीनामा गरेका थिए भने त्यसपछिका प्रायः सबै रजिष्ट्रारहरु न्यायाधीशको पदमा नियुक्ति भएका छन् । पन्थी न्यायाधीश बनेका भए, अरु दश बर्ष सेवा गर्न पाउथे ।

जानकारहरुका अनुसार पन्थीको दुईसातापछि सर्वाेच्च अदालतको रजिष्ट्रारको अवधि अनिवार्य रुपमा समाप्त हुनै लागेको थियो । तर, दुई साता अघि मात्रै राजीनामा गर्दा पेन्सनमा केही हजार थपिने लोभले उनले राजीनामा गरेको शुत्रहरुको दावी छ । नेपाल सरकारको सचिव स्तरको विशिष्ट श्रेष्ठको पदमा नियुक्तिको मितिले पांचबर्ष मात्रै सेवा गर्न पाउने भएकाले पन्थीले दुईसातापछि अनिवार्य अवकाश पाउदैथिए । 

पन्थीलाई सेवाग्राीहरु र कानुन व्यवसायीहरुले अनुदार व्यक्तिको रुपमा लिने गरेको पनि जानकारहरु बताउंछन् । उनी पंचायतकालका अंचलाधीश जस्तो न्यायका उपभोक्ताहरुलाई तल्लो स्तरको व्यवहार गर्ने जड मानसिकता राख्ने व्यक्तिका रुपमा धेरैले चिनेको, सर्वाेच्च अदालतका न्यायाधीश र धेरै कर्मचारीहरुले समेत उनलाई मन नपराउने, धेरैसंग खुलेर नबोल्ने र न्यायिक पदसोपान (जुडिसियल डेकोरम) लाई समेत नमान्ने व्यक्तिको रुपमा उनलाई धेरैले लिने गरेको पनि उनलाई नजिकबाट चिन्नेहरुले बताउंने गरेका छन् । 

लोकतन्त्रमा अदालतबाट न्यायको न्याय प्राप्त गर्ने जनताको हकलाई उनले पुरातनपन्थी झगडियाको नजरबाट हेर्ने गरेको, मुद्दामा आउने कुनैपनि व्यक्तिलाई उनले हेयको दृष्टिले हेर्ने गरेको र आफू मात्रै न्यायालयको एकमात्र इमान्दार व्यक्तिको रुपमा स्थापित हुने दम्भ पाल्ने व्यक्तिको रुपमा उनलाई धेरैले चिन्ने गरेका थिए ।

घुस नखाने एउटा गुण भएको तर राम्रो व्यक्तिका अन्य सबै अवगुण भएको व्यक्तिका रुपमा पनि रजिष्ट्रार पन्थीलाई लिने गरेको पनि धेरैको अनुभव छ । उनले प्रधान न्यायाधीश र न्यायाधीशलाई समेत नगन्ने, उचित मर्यादाको भाषा समेत प्रयोग गर्न नसक्ने धेरैको गुनासो पाइन्छ ।

एकपटक अख्तियारले सर्वाेच्चको भवनको विषयमा पत्र काट्दा उनले तत्कालिन कामु प्रधान न्यायाधीश दीपक कुमार कार्कीलाई समेत सोध्दै नसोधी प्रधान न्यायाधीशको समेत अहित हुनेगरी र निलम्बनमा परेका प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई फाइदा पुग्नेगरी जवाफ पठाएको, रिट निवेदन दरपीठ गरेर धेरै सेवाग्राहीलाई हैरानी दिएको, दरपीठको आदेश उपर इजलासबाट भएका आदेश तथा आदेश गर्ने न्यायाधीश र कानुन व्यवसायीलाई होच्याएर जवाफ दिने गरेको आरोप उनीमाथि लाग्दैआएको थियो ।

उनका विषयमा कतिसम्म चर्चा चल्ने गरेको छ भने एउटा रिट दर्ता गर्ने वा नगर्ने भन्ने विषयका सन्दर्भमा एकजना बरिष्ठ अधिवक्तासंग उनको ठाकठुक चलेछ । उनले दर्ता गर्न नमानेपछि दरपीठ गर्नुस् हामी दरपीठ बदरमा इजलासमा जान्छौ भनी ती बरिष्ठ अधिवक्ताले अनुरोध गर्दा उनले अनुरोध गर्ने बरिष्ठ अधिवक्तालाई जवाफ दिएको विषय संवैधानिक इजलासा चर्चाको विषय बनेको जानकारहरु बताउंछन् । 

पन्थीले भनेछन्, “के थाहा छ नेपालका न्यायाधीशलाई रिटको विषयमा, जानुस् जानुस व्याख्या गराउनुस्” । पन्थीले यसो भने भनेर ती बरिष्ठ अधिवक्ताले संवैधानिक इजलासमा राख्दा कामु प्रधान न्यायाधीश दीपक कुमार कार्कीको जवाफ सार्र्वजनिक रुपमा चर्चा गर्ने गरिन्छ, “अरुले भए भन्न सकिन्न, पन्थीले त्यसो भनेकोमा हामीलाई आश्चर्य लाग्दैन ।”