सुदूरपश्चिममा देउवाविरुद्ध किन नारा लागिरहेका छन् ?
काठमाडौँ । सुदूरपश्चिमको नजरमा शेरबहादुर देउवाले अहिलेसम्म आश्वासनको राजनीति मात्र गरे । सुदूरलाई सधैँ सुदूर नै राख्न चाहे । अहिलेसम्म सुदूरपश्चिमका निम्ति कुनै रुपान्तरणकारी योजना उनले सुरु गरेका छैनन् ।
पश्चिम सेती जलाशययुक्त जलविद्युत आयोजनाको झुटो आश्वासन दिन थालेको नै ३० वर्ष भइसक्यो । सुदूरका जनताले पत्याइरहे । हालैको स्थानीय तह निर्वाचनमा समेत उनले डडेल्धुरा पुगेर उही पश्चिम सेतीको बासी आश्वासन नै सुनाए । यसपालि पनि उनको कुरा पत्याए । तर देउवाले भने आफ्नो पार्टीलाई मत दिने तिनै डडेल्धुरावासीलाई भोलिपल्टै लोप्पा खुवाइदिए ।
देउवाले भनेका थिए– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका बेला पश्चिम सेती निर्माणसम्बन्धी सम्झौता हुँदै छ । मोदी लुम्बनी आए । अरुण नदीमै अर्को जलविद्युत आयोजना बनाउने गरी बेग्लै सम्झौतापत्रमा हस्ताक्षर गरे । पश्चिम सेतीबारे कुनै कुरै भएन । देउवाले पनि त्यो विषय नै उठाएनन् । सुदूरपश्चिमवासी फेरि ठगिए ।
देउवाले आश्वासन दिएर सुदूरपश्चिमलाई ठगेको अर्को योजना हो– गेटा मेडिकल कलेज । अहिलेसम्म एउटा पनि मेडिकल कलेज नभएको प्रदेश सुदूरपश्चिम मात्र हो । निकै ठूलो प्रयास र संघर्षपछि कैलालीको गेटामा मेडिकल कलेजका पूर्वाधार बनाइयो । तर ती पूर्वाधार उपयोगविहीन छन् । गेटामा मेडिकल कलेज तत्काल सञ्चालन गर्नुपर्ने माग सुनेको नसुन्यै गरिएको छ ।
खासमा मेडिकल माफियाहरु सरकारीस्तरमा अब देशको कुनै पनि कुनामा मेडिकल कलेज खुल्न र चल्न दिने पक्षमा छैनन् । तिनै माफियाको घेराबाट धेरै टाढा हाम्रो बालुवाटार छैन । यही कुरा बुझेर गेटाको पूर्वाधार अलपत्र पारी प्रधानमन्त्रीको गृहजिल्ला डडेल्धुरामा अर्को मेडिकल कलेज सञ्चालनको घोषणा गरिएको छ । यसले सुदूरपश्चिमवासी थप सशंकित मात्रै भएका छन्, प्रधानमन्त्री देउवा र उनकी पत्नी आरजु राणाका विरुद्धमा चर्का नाराबाजी एवं दैनिक प्रदर्शन भइरहेका छन् ।
आफ्नै क्षेत्रको व्यक्ति पाँचौं पटक प्रधानमन्त्री हुँदा धनगढीमा निर्माण भइसकेको मेडिकल कलेज चाँडै सञ्चालन हुने आशामा हौसिएका थिए, सुदूरपश्चिमबासी । तर, डेढ वर्षअघि नै आधारभूत संरचना निर्माण भइसकेको मेडिकल कलेज सञ्चालन हुने कुनै छेकछन्द छैन ।
देउवाले गत स्थानीय चुनावमा सस्तो आश्वासन बाँड्ने क्रममा डडेल्धुरामै पुगेर प्रदेश राजधानी डडेल्धुरा सार्नेदेखि डडेल्धुरामा मेडिकल कलेज बनाउनेसम्मका आश्वासन दिएका थिए । पश्चिम सेती निर्माणको आश्वासन झुटो सावित भइसकेको छ । राजधानी सार्ने कुरा असम्भव हो भन्ने सुदूरपश्चिवासीले बुझेकै कुरा हो । अब मेडिकल कलेज डडेल्धुरामै खोलिदिने कुरा संसदको रोस्ट्रमबाटै घोषणा गरेपछि केही दिन डडेल्धुरावासीको मुख थुन्न सकिन्छ कि भनेर देउवाले हचुवामा यो घोषणा गरेको देखिन्छ । जुन कार्यान्वयन हुने आधार एक रत्ति पनि देखिँदैन ।
हुन पनि बल्लतल्ल गेटामा निर्माण भएको मेडिकल कलेज नै सञ्चालन हुन नसकिरहेका बेला अर्को खोल्छु भन्ने प्रधानमन्त्रीको भनाइ पत्याउनु पनि कसरी ? ठूलो दबाबपछि र संघर्षपछि गेटामा ढिलै भए पनि भौतिक पूर्वाधारका काम सकिएका छन् । तर, दुई वर्षअघि नै सञ्चालन गर्ने भनिएको मेडिकल कलेज अहिलेसम्म सञ्चालन आउन सकेको छैन । स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य विज्ञान विश्वविद्यालय वा मेडिकल कलेज कुन मोडलमा लैजाने भन्ने नै अन्योल कायम छ ।
मंगलबार सरकारले घोषणा गरेको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेज सञ्चालनबारे केही उल्लेख नगरिएको र डडेल्धुरामा अर्को मेडिकल कलेज सञ्चालन गर्ने विषयले सुदूरपश्चिमबासीलाई झनै सशंकित बनाएको छ । र, अहिले धनगढी, अत्तरिया, महेन्द्रनगर लगायत सुदूरपश्चिमका प्रमुख सहर र बजार अशान्त छन् ।
भौतिक पूर्वाधार सम्पन्न भइसकेको गेटा मेडिकल कलेज तत्काल सञ्चालन गर्नुपर्ने विषय थाती राखेर डडेल्धुरामा थप मेडिकल कलेज निर्माण गर्ने प्रधानमन्त्रीको आवश्सनलाई धेरैले शंकाको नजरले हेरेका छन् । अझ प्रधानमन्त्री पत्नी आरजु राणाले फेसबुकबाट धनगढीमा आन्दोलन गरेर भ्रम छर्न खोजेको आरोप लगाएपछि जनमत झनै भड्किएको छ । आरजुको निर्वाचन क्षेत्रमै भइरहेको यो आन्दोलनले अर्को चुनावमा उनलाई पाइला टेक्नै मुस्किल पर्ने देखिएको छ ।
उनका हितैषी नृप वडको धनगढीको मेयरमा लज्जाजनक पराजय र पुष्कर ओझादेखि कर्ण मल्लसम्मको बहिर्गमनले आरजुको राजनीति यसै पनि धरापमा परिसकेको हो । त्यसमाथि मेडिकल कलेज र राजधानी सार्ने, पश्चिम सेतीमा झुटा आश्वासन बाँड्ने र चिसापानी–साँफेबगर सडक निर्माणमा बेवास्ताले देउवा दम्पतीकै राजनीतिक धरातलमा भ्वाङ पर्दै छ ।
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
गर्मीबढेसँगै सर्प दंशका बिरामी बढे
मध्यपूर्वमा तनाव कम हुने सङ्केतसँगै विश्व ऊर्जा बजारमा सुधार, कच्चा तेलको मूल्य…
अमेरिका–इरानबीच '१४ बुँदे ऐतिहासिक सम्झौता' को दाबी: युद्धविरामदेखि ३00 अर्…
खाना खुवाउने टोली हिँडेपछि पैसा उठाएर चिउरा दालमोठ खाए सुकुम्बासीले
प्रतिक्रिया