नेपाल–भारत सीमामा पर्खाल वा काँडेतार लगाइयोस् : आशिका तामाङ

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले आवश्यक परे नेपाल भारत सीमामा आवश्यक परे पर्खाल वा काँडेतार लगाउन सरकारलाई आग्रह गरेकी छन् ।

‘आवश्यक परे दुई देशको सहमतिमा सीमावर्ती क्षेत्रमा वाल लगाउनुपरे वाल नत्र भने काँडेतार भने पनि लगाइयोस्’ उनले आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भनेकी छन् ।


कुनै पनि राष्ट्रको सार्वभौमिताको आधार भनेकै आफ्नो भूभागको संरक्षण र सीमाको सुरक्षाको सुनिश्चितता भएको उल्लेख गर्दै उनले भनिन्, ‘यदि राज्यले आफ्नो भूमिको रक्षा गर्न सकेन भने  त्यसले देशको सार्वभौमिकतामै प्रश्न उठाउँछ ।’

यसकारण पनि नेपाल सरकारले सीमासम्बन्धी सबै सत्यतथ्य छानबिन गरी आवश्यक कुटनीतिक पहल गरी सीमा विवाद समाधानको काम अगाडि बढाउनुपर्ने उनको आग्रह रहेको छ । ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी जस्ता क्षेत्रहरू नेपालका क्षेत्रहरू नेपालको नेपालको राष्ट्रिय स्वाधिनता र मौलिक अखण्डतासँग जोडिएको संवेदनशील विषय हुन्’, उनले भनेकी छन् ।

यस्ता समस्या केवल यी क्षेत्रमा मात्रै सीमित नरहेर अन्य क्षेत्रमा समेत रहेको भनेर सरकारको ध्यानाकर्षण गरिन् ।

सुस्ताको समस्या धेरै समयदेखि अल्झिएको विषय भएको भन्दै उनले भनेकी छन्, ‘पछिल्लो समय त्यहाँ भारतीय सशस्त्र सीम बल एसएसबीका गतिविधि तथा स्थनीय नागरिकलाई धम्क्याइएको भन्ने समाचार सार्वजनिक भएका छन् । यस घटनाको वास्तविकता के हो ? सरकारले यसबारे के कस्ता कदम चालेको छ ? आगामी रणनीति के छ भन्ने विषयमा जानकारी दिन आवश्यक छ ।’

यी लगायतका सीमा क्षेत्रमा समस्याबारे सरकारको ध्यानाकर्षण गर्दै सांसद तामाङले आवश्यक परे पर्खाल नभए काँडेतार भए पनि लगाउन माग गरेकी हुन् ।