झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले विभिन्न राजनीतिक आन्दोलनमा सहभागी युवाहरूमाथि लगाइएका मुद्दा तत्काल खारेज गर्न सरकारसँग माग गरेकी छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जनआन्दोलनमा सहभागी युवाहरूलाई कानुनी सास्ती दिने काम भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

खतिवडाले जनआन्दोलनका शहीद र घाइतेहरूको त्याग र बलिदानकै जगमा वर्तमान सरकार बनेको उल्लेख गर्दै अहिले तिनै आन्दोलनमा सहभागी युवाहरूलाई पक्राउ पुर्जी जारी गर्ने र विभिन्न मुद्दामा फसाउने काम भइरहेको बताइन् ।

‘सरकारले झुट्टा मुद्दा खारेज गर्ने प्रतिबद्धता व्यक्त गरे पनि अहिलेसम्म त्यसको कार्यान्वयन किन हुन सकेन ?’ उनले भनिन्, ‘युवाहरूको त्याग, संघर्ष र समर्थनविना यो सरकार अघि बढ्न सक्दैन । त्यसैले जनआन्दोलनका क्रममा लगाइएका झुट्टा मुद्दाहरू यथाशीघ्र खारेज गरियोस् ।’

उनले काभ्रेको पनौती क्षेत्रमा नयाँ प्रहरी उपरीक्षक (एसपी) को आगमनपछि प्रहरीले अनावश्यक धरपकड बढाएको दाबी गरिन् । जनआन्दोलनमा सहभागी भएकै आधारमा युवाहरूलाई लक्षित गरी घरघरमा पुगेर त्रास सिर्जना गर्ने काम भइरहेको भन्दै उनले यस्तो गतिविधि रोक्न सरकारसँग माग गरिन् ।

राजनीतिक परिवर्तनमा योगदान पुर्‍याएका युवाहरूलाई न्याय दिनुको सट्टा प्रहरी प्रशासनमार्फत त्रसित बनाउने काम भइरहेको उल्लेख गर्दै खतिवडाले नागरिकलाई शान्तिपूर्ण वातावरणमा बस्न पाउने अधिकार सुनिश्चित गर्न पनि सरकारसँग आग्रह गरिन् ।