धवलशमशेर र दुर्गा प्रसाईंको नयाँ पार्टी: लिङ्देनमाथि राजनीतिक गद्दारीको गम्भीर आरोप!

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका प्रभावशाली नेता डा. धवलशमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डालाई सही रूपमा स्थापित गराउन आफूहरूले नयाँ राष्ट्रवादी पार्टी निर्माण गर्न लागेको घोषणा गरेका छन्। आइतबार काठमाडौँमा आयोजित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले यस्तो नयाँ राजनीतिक समीकरणको खुलासा गरेका हुन्।

नेता राणाले नयाँ बन्ने पार्टीको नेतृत्व विवादित मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले गर्ने स्पष्ट पारेका छन्। राजा र हिन्दु राष्ट्रको मुद्दा बोकेर प्रसाईं देशव्यापी रूपमा निमुखा जनताको नेता र एउटा स्थापित 'ब्राण्ड' बनिसकेकाले उनकै नेतृत्वमा पार्टी अघि बढ्ने राणाको भनाइ छ। नयाँ पार्टीले राजासहितको प्रजातन्त्रको वकालत गर्ने र देशमा हिन्दु राष्ट्र कायम गरिछाड्ने सङ्कल्प लिएको उनले बताए।

राजसंस्था र हिन्दु राज्यको एजेण्डालाई 'रेस्क्यू' (उद्धार) गर्नुपर्ने बेला आएको भन्दै नेता राणाले सबै राष्ट्रवादी र राजावादीहरूलाई एकै ठाउँमा ल्याउने क्रममा पहिलो दृष्टि दुर्गा प्रसाईंमाथि गएको उल्लेख गरे। प्रसाईंसँग सल्लाह मिलिसकेको जानकारी दिँदै उनले प्रसाईं पार्टीको मुख्य नेता तथा ब्राण्ड हुने र आफूहरूले पार्टी सङ्गठन चलाउने रणनीति बनाएको बताए।

देशले खोजेको मजबुत राष्ट्रवादी शक्ति निर्माण गर्न लागिएको र देशभरीबाट आएका सङ्केतहरूले आगामी दुई-तीन महिनाभित्रै यो पार्टी नेपाली जनताको माझमा एउटा शक्तिशाली शक्तिका रूपमा स्थापित हुने दाबी उनले गरे।

यसैबीच नेता राणाले राप्रपाका वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनमाथि गम्भीर राजनीतिक आरोप समेत लगाएका छन्। अध्यक्ष लिङ्देनले राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र कायम गर्ने पार्टीको मूल एजेण्डालाई इमानदारिताका साथ अघि नबढाएको र सम्झौतावादी नीति लिएकाले आफूहरूले बाध्य भएर राप्रपा छाडी नयाँ पार्टी स्थापना गर्नुपर्ने अवस्था आएको जिकिर उनले गरे। राप्रपाभित्रै विद्रोह गरेर बाहिरिएका राणा र सडक आन्दोलनमा सक्रिय प्रसाईंको यो नयाँ गठबन्धनले दक्षिणपन्थी राजनीतिमा नयाँ तरङ्ग पैदा गरिदिएको छ।