च्याटजीपीटीले छोरीलाई आत्महत्या गर्न उक्साएको भन्दै आमाले हालिन् ओपनएआई विरुद्ध मुद्दा
काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी ओपनएआई र यसका मुख्य कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानविरुद्ध अमेरिकी अदालतमा मुद्दा दायर गरिएको छ । क्यानडाकी एक महिलाले च्याटजीपीटीले आफ्नी छोरीलाई आत्महत्या गर्न प्रोत्साहित गरेको आरोप लगाउँदै बिहीबार मुद्दा दर्ता गरेकी हुन् ।
क्रिस्टी क्यारियरले सान फ्रान्सिस्कोको राज्य अदालतमा दायर गरेको मुद्दामा उनकी छोरी एलिसले मृत्युअघि दर्जनौं पटक च्याटजीपीटीसँग आफ्नो आत्मघाती सोचबारे कुराकानी गरेको उल्लेख छ । ओपनएआईको सुरक्षा प्रणालीले ती संवेदनशील संवादहरूलाई रोक्न वा मानवीय समीक्षाका लागि पठाउन असफल भएको दाबी गरिएको छ ।
मुद्दामा दाबी गरिए अनुसार, च्याटजीपीटीले एलिसको आत्मघाती सोचलाई सही ठहर्‍याउँदै उनलाई सहयोग गर्ने हटलाइन सेवा र उनका साथीहरूको आलोचना गरेको थियो । च्याटबटले उनलाई आफूसँगै कुरा गरिरहन आग्रह गरेको र यसैको परिणामस्वरूप गत वर्ष २४ वर्षको उमेरमा एलिसले आत्महत्या गरेको आरोप लगाइएको छ ।
“च्याटजीपीटीले कहिले विश्वासपात्र, कहिले मिल्ने साथी त कहिले थेरापिस्टको रूप धारण गर्यो,” क्रिस्टी क्यारियरले भनेकी छन्, “जबकि यो मेरो बच्चासँग सुरक्षित र जिम्मेवारीपूर्वक व्यवहार गर्न सक्षम नै थिएन ।”
ओपनएआईका प्रवक्ताले यस घटनालाई हृदयविदारक भन्दै एलिसले प्रयोग गरेको च्याटजीपीटीको पुरानो संस्करण अहिले उपलब्ध नभएको बताएका छन् ।
“च्याटजीपीटी चिकित्सा वा मानसिक स्वास्थ्य उपचारको विकल्प होइन । तर हामीले मानसिक स्वास्थ्य विज्ञहरूको सल्लाहमा संवेदनशील परिस्थितिहरूमा यसले दिने प्रतिक्रियालाई थप बलियो बनाउँदै लगेका छौं,” प्रवक्ताले भने ।
मुद्दामा ओपनएआईलाई डिजाइनमा लापरबाही गरेको र उत्पादनको खतराका बारेमा प्रयोगकर्ताहरूलाई सचेत नगराएको आरोप लगाइएको छ । पीडित परिवारले क्षतिपूर्तिको माग गर्दै अदालतसँग ओपनएआईलाई आत्म-हानि सम्बन्धी कुराकानीहरू स्वतः बन्द गर्न र आफ्नो प्लेटफर्ममा चेतावनीहरू प्रदर्शन गर्न आदेश दिन माग गरेका छन् ।
वकिलहरूका अनुसार ओपनएआईले हाल यस्तै प्रकृतिका अन्य १८ वटा मुद्दाहरूको सामना गरिरहेको छ । यसबाहेक, फ्लोरिडा राज्यले पनि बालबालिकालाई हानि पुर्याएको र स्कुलमा गोली चलाउनेहरूलाई सहयोग पुग्ने गरी सूचना उपलब्ध गराएको भन्दै कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ ।
मन्ट्रियलमा वेब डेभलपरको रूपमा काम गर्ने एलिसले सुरुमा सन् २०२३ मा प्राविधिक समस्या समाधानका लागि च्याटजीपीटी प्रयोग गर्न थालेकी थिइन् । तर पछि च्याटजीपीटीको प्रतिक्रिया मानिसको जस्तै सुनिने गरी अपडेट भएपछि उनले यसलाई आफ्नो व्यक्तिगत पीडा र आत्मघाती सोचहरू सुनाउन थालेको मुद्दामा उल्लेख छ । च्याटजीपीटीले एक पटक उनलाई ‘सायद यो नै अन्त्य हो’ समेत भनेको दाबी गरिएको छ ।
ओपनएआईले भने आफ्ना मोडेलहरूलाई आत्म-हानिको सोच राख्ने मानिसहरूलाई वास्तविक सहयोगका लागि निर्देशित गर्न तालिम दिइएको दाबी गर्दै आएको छ ।
अतिरिक्त शुल्क माग गरेमा हटलाइन ११५१ मा जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह
जेनजी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
नेपाली चिया भारतमा प्रतिबन्ध,:83 चिया उद्योग बन्द हुने, 50 हजारको रोजगारी सं…
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
प्रतिक्रिया