कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व
बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण वन्यजन्तु संरक्षण र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहयोग पुगेको छ । निकुञ्जले ३० वटा कृत्रिम पोखरी निर्माणले चुरे तथा भावर क्षेत्रमा वर्षौंदेखि रहँदै आएको पानी अभावको समस्या समाधान हुनाका साथै मानव–वन्यजन्तु द्वन्द्व घटेको जनाएको छ ।
\निकुञ्जभित्रै बाह्रै महिना पानी उपलब्ध हुन थालेपछि पानीको खोजीमा मानव बस्तीसम्म पुग्ने वन्यजन्तुको सङ्ख्या घटेको निकुञ्जको भनाइ छ । निकुञ्जभित्र बसोबास गर्ने वन्यजन्तुको अवस्थासमेत सुधारिएको निकुञ्जका प्रमुख एवं बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताउनुभयो ।
बाघको बासस्थान विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज चुरे र भावर पारिस्थितिक प्रणालीको प्रतिनिधि क्षेत्र हो । यहाँको भौगोलिक बनावटका कारण सतहमा पानीको उपलब्धता न्यून रहने भएकाले सुक्खायाममा वन्यजन्तुले पानीको अभाव झेल्ने गरेका थिए । निकुञ्चमा प्राकृतिक रूपमा पानीको मुहान चगाई नाला र मुगुवा खोला रहेका छन् । यसबाहेक वर्षभरि पानी रहने भरपर्दो प्राकृतिक स्रोत नहुँदा वन्यजन्तु पानीको खोजीमा निकुञ्ज बाहिर निस्कने अवस्था थियो ।
यस समस्यालाई समाधान गर्न निकुञ्जले सौर्य ऊर्जामा आधारित डिप बोरिङ प्रणाली जडान गरी कृत्रिम पोखरीहरूमा पानी भर्ने व्यवस्था गरेको छ । यस प्रविधिमार्फत निकुञ्जको करिब ७२ किलोमिटर क्षेत्रमा पानीको उपलब्धता सुनिश्चित गरिएको छ ।
पानीसँगै घाँसेमैदानको व्यवस्थापनमा सुधार भएपछि वन्यजन्तुका लागि आवश्यक आहारा र बासस्थान दुवैको अवस्था सुदृढ बनेको छ । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत कँडेलका अनुसार निकुञ्जभित्र पानी र आहाराको पर्याप्त व्यवस्था भएपछि बाघको मुख्य आहारा मानिने चितल, चौका, रतुवा, नीलगाई र जरायोलगायत वन्यजन्तुको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । आहारा प्रजातिको वृद्धि भएसँगै बाघ संरक्षणमा समेत सकारात्मक प्रभाव परेको उहाँले बताउनुभयो ।
विगतमा पानी र आहाराको अभावका कारण बाँके, दाङ र सल्ल्यानका मध्यवर्ती क्षेत्रका गाउँबस्तीमा पुग्ने वन्यजन्तु अहिले निकुञ्जको कोर क्षेत्रमै केन्द्रित हुन थालेका छन् । यसले मानव–वन्यजन्तु द्वन्द्व घटाउनाका साथै स्थानीय बासिन्दामा सुरक्षा र विश्वासको भावना बढाएको उहाँले बताउनुभयो ।
“कृत्रिम पोखरी निर्माणको यो अभ्यासले वन्यजन्तु संरक्षण, पारिस्थितिक सन्तुलन र स्थानीय समुदायको सुरक्षालाई एकसाथ मजबुत बनाएको छ,” निकुञ्ज प्रमुख कँडेलले भन्नुभयो । उहाँका अनुसार निकुञ्जको यो प्रयासलाई चुरे तथा भावर क्षेत्रका अन्य संरक्षण कार्यक्रमका लागि उदाहरणीय अभ्यासका रूपमा हेरिएको छ ।
लगातार तीन महिना विश्वकै सबैभन्दा ठूलो तेल निर्यातकर्ता बन्यो अमेरिका
माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु
नेपाली ब्रो प्रकरणमा नयाँ मोड: मृतक ईश्वरी भुजेलको परिवारद्वारा थप व्यक्तिमाथि…
एकतीस सय सुकुमवासी परिवार सरकारी रेकर्डबाटै गायब, छ प्रतिशत मात्रै होल्डिङ स…
काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
प्रतिक्रिया