सांसद रञ्जु दर्शनाले नवनिर्वाचित सांसदलाई तालिम दिनका लागि बजेट छुट्याउन माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रञ्जु दर्शनाले नवनिर्वाचित सांसदलाई तालिम दिनका लागि बजेट छुट्याउन माग गरेकी छन्। 

बिहीबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसद दर्शनाले अहिले आएका धेरै सांसद नयाँ भएकाले संसदीय गतिविधिका लागि तालिम दिनुपर्ने औँल्याइन्।

‘यस गरिमामय संसद्मा जनताबाट अनुमोदित भएर आएका तर पहिलो पटक संसदीय व्यवस्थामा रहेकाले अनुभव अलि पुगेको छैन। त्यसैले हामीलाई ट्रेनिङका लागि पनि बजेट छुट्याइयोस् भन्ने जोडदार अपील गर्न चाहन्छु,’ दर्शनाले भनिन्। 

उनले सुत्केरी बिदा बढाउन पनि आग्रह गरिन्। यससँगै कार्यस्थलमा शिशु केन्द्र बनाउन पनि सरकारले बजेट छुट्याउनुपर्नेमा जोड दिइन्। 

संसद्मा बोल्दै दर्शनाले भनिन्, ‘तलबी सुत्केरी बिदा बढाउनेदेखि लिएर हरेक कार्यस्थलमा दिवा शिशु केन्द्रका लागि बजेटले प्राथमिकता दिइयोस्।’

उनले बालबालिकामा लगानी बढाउनुपर्ने बताइन्। त्यसका लागि बजेट छुट्याउन सरकारलाई आग्रह गरिन्।