विश्वकप फुटबल २०२६ आजदेखि : इतिहासकै सबैभन्दा ठूलो संस्करण, १०४ खेल हुने

काठमाडौं । विश्व फुटबलको महाकुम्भ मानिने फिफा विश्वकप फुटबलको २३औं संस्करण नेपाली समयअनुसार शुक्रबार बिहानदेखि सुरु हुँदैछ।

फुटबल इतिहासमै पहिलोपटक तीन देश अमेरिका, मेक्सिको र क्यानडा आयोजक रहेको विश्वकप फुटबल आज राति १२ः४५ बजे उद्घाटन हुनेछ ।

पहिलो उद्घाटन समारोह मेक्सिको सिटी स्टेडियम, दोस्रो क्यानाडाको टोरन्टो र तेस्रो उद्घाटन अमेरिकाको लस एन्जलसमा हुनेछ ।

 

जहाँ क्याटी पेरी, फुचुरे, अनित्ता, लिसा, रेमा र टाइलाले प्रस्तुत दिनेछन्। ९० मिनेटको उद्घाटन समारोहले विश्वकपको असाधारण स्तरलाई प्रदर्शन गर्ने फिफाले जनाएको छ।

मेक्सिकोले घरेलु मैदानमा दक्षिण अफ्रिकासँग उद्घाटन खेल खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । विश्वकपमा पहिलोपटक ४८ राष्ट्रले सहभागिता जनाउँदै छन् । यसपटक फाइनलसहित १०४ खेल हुनेछन् ।

यस पटक फिफा विश्वकपको कुल पुरस्कार राशि ६५ करोड ५० लाख अमेरिकी डलर पुर्‍याइएको छ, जसमा विजेताले ५ करोड डलर प्राप्त गर्नेछ ।

विश्वकपमा ब्राजिल लगातार २३औँपटक सहभागी हुँदै छ । पाँचपटकको विश्व च्याम्पियन ब्राजिलसँगै साबिक विजेता अर्जेन्टिना, फ्रान्स, पोर्चुगल, स्पेन र नेदरल्यान्ड्सलाई उपाधि दाबेदारका रूपमा हेरिएको छ ।

जसमा ब्राजिलले सर्वाधिक ५ पटक (सन् १९५८, १९६२, १९७०, १९९४ २००२) विश्वकप जित्दा युरोपियन राष्ट्र इटलीले ४ (१९३४, १९३८, १९८२ र २००६) र जर्मनीले ४ (१९५४, १९७४, १९९० र २०१४) पटक उपाधि जितेको छ ।

यस्तै अर्जेन्टिनाले ३ (१९७८, १९८६ र २०२२), उरुग्वेले २ (१९३०, १९५०) र फ्रान्सले २ (१९९८, २०१८) तथा इंग्ल्याण्डले १९६६ र स्पेनले २०१० मा उपाधि जितेका छन् ।