अमेरिकामा ‘बर्थ टुरिजम’ सञ्जाल, निगरानी बढाउदै ट्रम्प सरकार

काठमाडौं । अमेरिकाले विदेशी नागरिकहरूद्वारा जन्मका आधारमा अमेरिकी नागरिकता हासिल गर्ने प्रयासविरुद्ध ‘बर्थ टुरिजम’ सञ्जालहरूको निगरानी बढाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले युरोप र अफ्रिकामा सक्रिय कैयौँ संगठित नेटवर्कहरू ध्वस्त पारिएको र सयौँ भिसा रद्द गरिएको जनाएको छ ।


अमेरिकी अधिकारीहरूका अनुसार यी नेटवर्कहरू विदेशी नागरिकलाई पर्यटक भिसामा अमेरिका ल्याउने, त्यहाँ बसोबासको व्यवस्था मिलाउने तथा सुत्केरी गराएर नवजात शिशुलाई अमेरिकी नागरिकता दिलाउने योजनामा संलग्न थिए । अधिकारीहरूका अनुसार ती सबै नेटवर्क बन्द गरिएका छन् । संलग्न व्यक्ति तथा संस्थाविरुद्ध थप कानुनी कारबाही अघि बढाइएको छ ।


विदेश मन्त्रालयका अनुसार युरोपमा मात्रै सन् २०२४ यता ४०० भन्दा बढी शंकास्पद ‘बर्थ टुरिजम’ सम्बन्धी मामिलाहरू पहिचान गरिएको छ । तीमध्ये कम्तीमा ६ वटा कम्पनी संलग्न रहेको पाइएको छ, जसले भिसा अन्तर्वार्ताको तयारी गराउनेदेखि अमेरिकामा बसोबास र प्रसवसम्मको सम्पूर्ण व्यवस्था मिलाउने गर्थे ।

अमेरिकी अधिकारीहरूले पश्चिमी र उत्तरी अफ्रिकामा पनि यस्तै प्रकृतिका सञ्जालहरू सक्रिय रहेको बताएका छन् । एक अफ्रिकी देशमा १०० भन्दा बढी विदेशी नागरिकले नक्कली कागजात र एजेन्टहरूको सहयोगमा भिसा प्राप्त गरेको घटना फेला परेको थियो । त्यसपछि सम्बन्धित नेटवर्क ध्वस्त पारिएको र स्थानीय निकायहरूसँगको सहकार्यमा थप अनुसन्धान सुरु गरिएको जनाइएको छ ।

उत्तरी अफ्रिकास्थित अमेरिकी दूतावासले १०० भन्दा बढी व्यक्तिको भिसा रद्द गरेको छ । उनीहरू मुख्यतः अमेरिकामा बच्चा जन्माएर नागरिकता प्राप्त गर्ने उद्देश्यले यात्रा गर्न लागेको पाइएको थियो ।

विदेश मन्त्रालयले केवल बच्चा जन्माएर अमेरिकी नागरिकता दिलाउने उद्देश्यले अमेरिका जान खोज्ने विदेशी नागरिकलाई भिसा नदिइने स्पष्ट पारेको छ ।

अमेरिकी विदेश मन्त्रालयले कडा सन्देश दिँदै भिसा कुनै अधिकार नभई विशेषाधिकार भएको बताएको छ । मन्त्रालयका अनुसार अमेरिकी नागरिकता प्रणालीको दुरुपयोग रोक्न सरकार निरन्तर सक्रिय रूपमा कारबाही गरिरहेको छ ।

मन्त्रालयले आधुनिक डाटा विश्लेषण प्रणाली तथा कानुन कार्यान्वयन निकायहरूको सहयोगमा यस्ता नेटवर्कहरूको पहिचान गरी तिनलाई नष्ट गर्ने अभियान जारी रहेको जनाएको छ ।

ट्रम्प प्रशासनले लामो समयदेखि अवैध आप्रवासन र नागरिकतासम्बन्धी नियमहरूलाई कडा बनाउने नीति अवलम्बन गर्दै आएको छ । सोही नीतिअन्तर्गत ‘बर्थ टुरिजम’ रोक्न यो कारबाही गरिएको हो ।